जब गणेशमानले राणाको जेल तोडे...
गोली हान्न भचाखुसी लाने क्रममा गंगालालले ‘गणेशमान दाइ हाम्रो रगतलाई नबिर्सनु’ भनेको त्यो वाणी गणेशमानको मन मस्तिष्कमा अमिट छाप बनेर रह्यो।
बेलुकीपख विष्णुमती पश्चिमतिर अवस्थित माँ स्वाहा भगवती मन्दिरमा तीनजना दुवै हात जोडेर उभिरहेका थिए। बीचकाले भवानी माँको पाउमा ढोग गर्दै ती दुवैलाई पनि ढोग्न लगाए र भने, ‘म जे जे भन्दै जान्छु तिमीहरू त्यही दोहोर्याउँदै जाउ।’ त्यहाँ भगवतीलाई साक्षी राखेर किरिया ख्वाउने र खाने विधि चलिरहेको थियो। ‘शेरे बंगाल’ धर्मभक्त माथेमाले गंगालाल श्रेष्ठलाई आफ्नो दायाँतिर र गणेशमान सिंह श्रेष्ठलाई बायाँतिर राखेर नेपालको पहिलो राजनीतिक संगठन ‘प्रजापरिषद्’ परिवारमा सम्मिलित गराउनुपूर्व दुवैलाई किरिया खान लगाएका थिए। ‘आजदेखि हामी जीउज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं। कदाचित् त्यो प्रक्रियामा कहीँ पक्राउ परियो भने बरु मरेर जाने छौं तर, सास रहुञ्जेल कसैलाई धोखा दिने छैनौं।’दुवैले दृढताका साथ किरिया खाए।
काठमाडौंमा राणाशाहीविरुद्ध पौंठेजोरी खोल्दाका हीराकाजी भारतको कलकत्तामा अध्ययन गरी म्याट्रिकुलेसन परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएर विज्ञान संकायमा अध्ययन गर्दा उनमा वैचारिक परिपक्वता परिमार्जित भइसकेको थियो। तथापि इन्द्रचोकमा शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठले राणा शासनका खिलाफ जनचेतना जगाउन दिएको जोसिलो भाषणको प्रसंगमा २२ वर्षे गंगालालको व्यक्तित्व र उनले दिएको भाषणको बखान यत्रतत्र हुन थालेपछि गणेशमान सिंहमा ईष्र्याभाव जागृत भएको थियो। देश र जनताप्रतिको कर्तव्य र त्यसको प्राप्तिका बाटो एउटै भएकाले आज दुवैजना आफ्नो एकै राजनीतिक गुरुबाट एकै ठाउँमा एकै समयमा एउटै किरिया खाँदै थिए।
कलकत्ताको विद्यासागर कलेजको पहिलो वर्ष त गणेशमान सिंहले हडताल, जुलुस र आमसभाहरूमा जाने, गान्धी, सुभाषचन्द्र बोस, जिन्हालगायत जवाहरलाल नेहरूको सम्बोधन सुन्ने र पत्रपत्रिका पढ्नमा नै बिताए। जसका कारण परीक्षाको नतिजा एकदम निम्न आयो झन्डै कलेज निकाला हुनु परेको थियो। शास्त्रीले लेखेको ब्रम्हसूत्रको व्याख्या छपाउन कलकत्ता आएको थाहा पाएर गणेशमान सिंह आफ्ना मित्रमण्डली साथ लिएर भेट गर्न गएका थिए। भेटमा राजनीतिक, धार्मिक, नेपालको समसामयिक विषयमा छलफल भएको थियो। शास्त्रीको दृष्टिकोणमा नेपालमा राणाहरूको पारिवारिक शासन अन्त्य हुनुपर्छ, प्रजातान्त्रिक पद्धतिबिना मुलुक हामी सबैको हो भन्ने भावना आउँदैन। एक दिन ‘विश्वामित्र’ मा नेपालका शुक्रराज शास्त्रीले गान्धीलाई भेटेर नेपालको अवस्थाबारे प्रकाश पारेको खबरले गणेशमान सिंहलगायतमा उहाँप्रति असिम श्रद्धा बढेको थियो।
बिदामा काठमाडौं आएका बेला हरिकृष्ण श्रेष्ठले गणेशमान सिंहको भेट गंगालालसँग गराएका थिए। जनमानसमा आफ्नोभन्दा गंगालालको बढ्दो लोकप्रियता र ख्यातिका कारण मनमा पालिराखेको ईष्याभाव उहाँले गंगालाललाई हदैसम्म होच्याउने कुरा गरेका थिए। बिना आवेश, रिस वा द्वेषपूर्ण कटुवचन गंगालालले सुनिरहेका थिए। अन्तमा उनले गणेशमान दाइ भन्दै बडो शालिन र सभ्य भाषामा भने, ‘यदि राणाले तपाईंको स्वास्नी, दिदीबहिनी वा घरका अन्य कुनै महिलालाई तपाईंकै सामु उठाएर लगेमा तपाईं के गर्न सक्नुहुन्छ ?’ नाजवाफ बनेका गणेशमानले आफूलाई होच्याएको भन्ठान्दै फेरि भने, ‘हितका कुरा र औषधि
तीतो हुन्छ। तपार्इंलाई बिझ्यो होला तर, अन्यथा नठान्नु। तपाईंको भलाइकै लागि भनेको हुँ।’
घर पुगेपछि गणेशमान सिंहलाई गंगालालसँग भएका संवाद र उनले उठाएका प्रश्न मानसपटलमा नाच्न थाल्यो। प्रश्नको गहराइले रातिको निद्रा गायब भयो। कुखुराको पहिलो डाँकमै उठेर गंगालालको घरतर्फ लागे। रातको तेस्रो प्रहरको बेला थियो कोही उठेकै थिएनन्। ‘गंगालालजी’ भन्दै दुई/तीन पटक बोलाएपछि ‘यस्तो राति कसले बोलाएको’ भन्दै झ्यालबाट गंगालालले हेरे। ‘ओहो ! गणेशमान दाइ यतिबेला तपाईं यहाँ !’ भन्दै ढोका खोलेर घरभित्र बोलाए। उनले राणाशाही ढाल्न राजनीतिक पार्टी खोल्न सल्लाह गर्न आएको भनेपछि गंगालालले त्यो गाह्रो काम भएकाले प्रजापरिषद्को सदस्य बन्न सुझाव दिए। त्यसपछि दुवैले हप्ताको प्रत्येक शनिबार प्रजापरिषद् खोज्न जाने योजना बनाए। योजनाअनुसार काठमाडौंको गल्ली, फराकिलो ठाउँ, कुनाकाप्चा, डाँडाकाँडा, नदीनाला जताततै खोज्ने काम भयो।
गणेशमान जंगिएर भने, ‘तपाई त मांसपिण्डको भारीमात्र हुनुहुँदो रहेछ। एक नम्बरको डरपोक। त्यस्तो डर छेरुवाले हामीसँग प्रजापरिषद्का विषयमा किन जिज्ञासा राखेको होला ?’
एकदिन गणेशमान काम विशेषले ओमबहालबाट हिँड्दै गर्दा एकजना व्यक्ति व्यायाम सकेर तेल मालिस गरिरहेको देखें। त्यसपछि सरासर गएर म गणेशमान। म पनि कलकत्तामा व्यायाम गर्थें भनें। केही सामान समातेर व्यायाम गर्न थालें। तेल मालिस गरिरहेका व्यक्ति अरू कोही नभई ‘शेरे बंगाल’ विजेता धर्मभक्त माथेमा थिए। उनको सुष्ठ शरीर, विकसित मांसपेशी र व्यायामसम्बन्धी ज्ञानका कारण व्यायाममा पार पाउन नसकिने ठानेर बक्सिङ खेल्ने प्रस्ताव राखे। दुई दिनपछि बक्सिङ खेल्दा पहिला त गणेशमानले खुबै प्रहार गरे। त्यसपछि धर्मभक्तले एक पञ्च के हानेका थिए। होसमा आउँदा त धर्मभक्त आफ्नो अनुहारमा गुलाबजल छर्कंदै गरेको पाए। त्यसपछि उनले धर्मभक्तलाई गुरु मानेर नियमित व्यायाम गर्न थाले।
एकदिन धर्मभक्तले गणेशमान समक्ष गंगालालसँग भेट्ने इच्छा व्यक्त गरे। सहरमा राणाका जासुस छ्यापछ्याप्ती पैmलिएकाले ओमबहालको घरमा भेट्दा राणाको आँखा पर्न सक्ने थियो। त्यसैले अन्यत्र भेट्ने निधो भयो। अनायास कालीमाटीमा भेटेर स्वयम्भू स्तूपामा पुगेर देशको समसामयिक विषयमा कुरा गर्दै अन्तमा प्रजापरिषद्का सन्दर्भमा कुरा केन्द्रित भयो। गंगालाल र गणेशमानले धेरै दिनदेखि प्रजापरिषद् खोज्दै हिँडेको कुरा सुनाए। धर्मभक्तको हाउभाउले प्रजापरिषद् र त्यसले छर्ने गरेको पर्चाबाट आपूm त्रसित भएको देखाउँदै त्यस्तो गतिविधिबाट टाढा रहन सल्लाह दिए। उनको सुझावले गणेशमान जंगिएर भने, ‘तपाई त मांसपिण्डको भारीमात्र हुनुहुँदो रहेछ। एक नम्बरको डरपोक। त्यस्तो डर छेरुवाले हामीसँग प्रजापरिषद्का विषयमा किन जिज्ञासा राखेको होला ?’ यसरी अनेक किसिमबाट ती दुईको सुरोपन, निडरता, देश र जनताप्रति केही गरी छोडने अठोट, नडग्ने, नझुक्ने प्रवृत्तिबारे राम्रोसँग परीक्षण गरेर आश्वस्त भएपछि धर्मभक्तले उनीहरूलाई शोभा भगवतीसमक्ष किरिया खान लगाएका थिए। त्यसै दिन धर्मभक्तलाई गणेशमान र गंगालालले राजनीतिक गुरु माने।
प्रजापरिषद्को सदस्य बनेको उन्मादले आपूmलाई ठूलै क्रान्तिकारी ठान्ने गणेशमानले प्रजापरिषद्ले छरेको पर्चा डबलीमा बसेर धक्कु लगाएर आसपासका सबैले सुन्नेगरी जोडजोडले पढेका कारण धर्मभक्त रिसाएका थिए। साहसिलो कारनामा गरेको ठानी उत्साहपूर्वक ओमबहालको घरमा पुगेका गणेशमानलाई धर्मभक्तले हपार्दै अब उप्रान्त आफ्नोमा कहिले नआउनु भनेका थिए। स्याबासी देला भन्ठानेकोमा एक्कासी हपारेर कहिल्यै नआउनु भनेपछि रिसको झोंकमा गणेशमान भर्याङबाटै फनक्क फर्केर गएका थिए। केही दिनपछि धर्मभक्तले गणेशमानलाई बोलाउन पठाए। गणेशमानलाई देख्नेबित्तिकै मायाको भाषामा भने, ‘हेर्नुस् गणेशमानजी तपाई पहिलाको हेराकाजी रहनु भएन। गणेशमानमा रूपान्तरित भइसक्नु भयो। अब फेरि त्यस्तो बच्पना हरकत कहिल्यै नगर्नु। मैले तपाईंलाई पहिलो पटक देख्नासाथ तपाईंले देशका लागि केही गर्नुहुनेछ भन्ने लागेको थियो। तपाईंले देशका लागि धेरै गर्न सक्नुहुन्छ, गम्भीर बन्नु होस्।’
गंगालाल र गणेशमानले प्रजापरिषद्को सदस्यता पाएको छोटो समयमा नै एकजना कमजोर सदस्यले गर्दा संगठनमा आबद्ध सबैजसो पक्राउमा परेका थिए। सिंहदरबारमा बयान लिने क्रममा गंगालाललाई अमानवीय यातना दिइएको थियो। उनको गुप्ताङ र कञ्चटको रौं थुतेको थियो। बाँसमा बाँधेर एकातिर दुईजना अर्कोतिर दुईजना गरी चारजनाले उठाएर झुन्ड्याइएको थियो। यस्तै रातभरि पानीमा डुबाएर राखेर छालाको कोर्रा शरीरभरि वर्षाएको थियो। बुट र घुस्साको प्रहार भएकै हुन्थ्यो। भचाखुसीमा लगेर गोली हान्दासमेत क्रूरता देखाइयो। छातीमा गोली नहानी पेटमा, तीघ्रामा हानेर भयंकर यातना दिइएको थियो। प्रतादनाको चरम सीमा नाघेपछि बल्ल छातीमा गोली हानेको थियो। गोली हान्न भचाखुसी लाने क्रममा गंगालालले ‘गणेशमान दाइ हाम्रो रगतलाई नबिर्सनु’ भनेको त्यो वाणी गणेशमानको मन मस्तिष्कमा अमिट छाप बनेर रह्यो।
लौहपुरुष गणेशमान सिंहले राणाको जेल तोडे । बन्धनमुक्त बनी अनेक शारीरिक, मासिक र आर्थिक दुःखकष्ट भोगे । भारत पुगेर बीपी कोइरालासँगको भेटपछि राणाशासन अन्त्यका लागि राजनीतिक दल खोल्ने विषयमा छलफल भएको थियो। आपूm प्रजापरिषद् पृष्ठभूमिको रहेको र त्यस संगठनले राजाको वैधानिक नेतृत्वमा जनउत्तरदायी सरकारको पक्षमा चलाएको आन्दोलनाका कारणले तीनजना संस्थापक सदस्यहरू दशरथ चन्द, धर्ममक्त र गंगालाल तथा नागरिक अधिकारको प्रबल पक्षधर शुक्रराज शास्त्रीसमेत चार जनालाई राणाशाहीले मृत्युदण्ड दिइसके पनि गणेशमानले नयाँ पार्टी खोल्नुभन्दा नेपालको राजनीतिक दृश्यपटलमा आइसकेको प्रजापरिषद्लाई नै निरन्तरता दिन प्रस्ताव राखेका थिए।