यस्तो होस् मित्रता

यस्तो होस् मित्रता

राजनीतिक पण्डितहरूले गरेको आपसी सम्झौता र मित्रता धुमिल भएको छ। देशवासी अहिले खिन्न भएका छन्। एक जीउ दुई टाउका भई देशको विकास गर्ने आश्वासन दिएर जनतालाई भुलाउनेहरू एक जंगलका दुई शेरझैं सिँगौरी खेले। अन्ततः मित्रता क्षणिक साबित भयो। निरीह नागरिकले हिँड्ने बाटो पाएनन्, काम गर्ने माहोल भएन। राजनीतिझैं समाज पनि चिराचिरा परेको छ।

सहयोगी विचार मित्रताको गुण हो। घमण्ड, रिस, क्रोध, इष्र्या, वैमनश्यतालाई त्याग गर्नाले मित्रहरू वृद्धि हुन्छन्। संगतिबाट विचार पैदा हुन्छ। विचाररूपी जलको स्रोत भनेको संगीतरूपी कुवा हो ! मित्र त्यस्तो होस्, जसले अवनतिमा पनि साथ देओस् उन्नतिमा मात्रै होइन। अवनतिमा पनि ढाडस दिने मित्र असल मित्र हो। मित्रमा जलन नहोस्। मित्र सकेसम्म रंग, रूप मिलेको, सुन्दर होस्। तर कुरूप भए पनि विचार राम्रो भए त्यो असल मित्र हुन सक्छ। मित्र त्यस्तो होस्, जसको बोलीमा स्पष्टता, मधुरता, क्षमाशील, इष्र्यारहित होस्। स्मरण शक्ति तीव्र, तीखो बुद्धिको, सोच सकारात्मक होस्, शान्त, धीर र वीर पनि ! कर्मशील, धर्मानुरागी, मानमा नमात्तिने, अपमानमा नआत्तिने होस्, धैर्य नगुमाओेस्।

मित्र दयालु होस्, साथमा कुशलता होस्। हृदयमा प्रबलता होस्। मनमा पवित्रता होस्। कामनाले रहित होस्, निष्काम भावको होस्, बदला लिने भावले काम गरेको नहोस्। भय, सन्त्रास, लोभ र क्रोधरहित होस्। धर्मलाई रत्तिभर विचलित नगराओस्। कार्यमा त्रुटि हुन नदेओस्, धैर्य र साहसी होस्, सभ्य, परिवेश अनुसार कुराकानी गर्न सक्ने होस्, परिस्थितिलाई बुझ्ने, समयको महŒवलाई बुझ्न सक्ने होस्। परिवेशलाई आत्मसात् गर्ने, कर्तव्य र अकर्तव्यको बोध गर्ने होस्।

मित्र त्यस्तो होस् जसले आफन्तको अपमानलाई आफ्नै अपमान सम्झोस्। मित्र त्यस्ता हुन् जसले उदासीन र कायर भावलाई मनमा आउनै नदेओस्। स्फूर्ति, जाँगर, उत्साह र धैर्यलाई आत्मबलको रूपमा आत्मसात् गरोस्। समयमा खानपान गर्ने होस्, सात्विक आहार गर्ने होस्। हिंसामा विश्वास नगरोस्। हरेक कार्यलाई कुशलता र दक्षतापूर्वक सम्पन्न गर्न सकोस्। कार्यमा अग्रसर होस्। नैतिक र शिक्षाप्रद ज्ञान दिन सक्ने र लिन सक्ने होस्। ध्यानपूर्वक अरूको कुरा सुनोस्। प्रमाण, तर्क र युक्तिसंगत वार्तालाप गर्ने साहसिलो होस्। शालीनताको व्यवहार होस्, नियमित व्यायाम गर्ने होस्। मित्र धेरै हुन्छन् तर परममित्र कम हुन्छन्। सामान्यतया सम्झौता गर्न लायक मित्रहरू पाँच प्रकारका हुन्छन्। कृत्रिम, सहयोगी, पुख्र्यौली, सहज र धार्मिक ! असल मित्रको पहिचान गर्ने केही आधारहरू छन् जस्तै ईश्वरमा विश्वास कति राख्छ, धनको मोहमा कति लाग्छ। अभाव, दुःख, कष्टमा कति साथ दिन्छ, संकटको घडीमा कति नजिक हुन्छ। मित्रको उदय, उन्नतिमा कत्तिको खुसी व्यक्त गर्छ, दुःखमा कत्तिको साथ दिन्छ।

कुरूप भए पनि विचार राम्रो भए त्यो असल मित्र हुन सक्छ। मित्र त्यस्तो होस्, जसको बोलीमा स्पष्टता, मधुरता, क्षमाशील, इर्ष्याहित होस्।

लोभको कारण अरूको धन र तनको मोह हुन्छ। काम इन्द्रियहरू तीव्र हुन थाल्छन्। जिब्रोले रसको खोजी बढी गर्छ। मिथ्या बोलीबाट आफू ठूलो हुने प्रयास व्यक्तिले गर्छ। अरूप्रति द्वेष, घृणा, दुर्गुण बढ्दै जान्छ। स्नेह, भातृत्व, क्षमा र दया स्वतः हटेर, घटेर जान थाल्छन्। लोभको स्वरूप अचम्मको हुन्छ। मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ। उसको स्वभाव जवानी हुँदै जान्छ। सम्पूर्ण खहरेहरू, नदीहरू, वर्षाकालीन भेलहरू समुद्रमा पुग्छन्। ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर बर्सन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन। वर्षाकालीन नदीनालाहरू सोहोरिएर समुद्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रूप, प्रतिष्ठा, धन सम्पत्ति एवं सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन।

लोभको वास्तविक स्वरूप कोही जान्दैन। मनुष्यपिच्छे लोभको स्वरूप आवरणअनुसार फरकफरक हुन्छ। परिवेशअनुसार लोभको रूप पनि अलग हुन्छ। लोभको स्वरूप बुझ्न चाहिँ सजिलो छ। यसको स्वरूप दम्भ हो, द्रोहीपना हो, निन्दा हो, चुक्ली हो, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुझ्नुपर्ने हुन्छ। अहिले सत्तोश्राप, हिलो छ्यापाछ्याप देखिएकै हो। मान्छे सबै कार्य आफूले गरेको भन्ने ठान्छ। कुविचार र कुप्रवृत्ति नरक हो। अरूको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतीकात्मकता हो। अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ। लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो। लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ। लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन्।

लोभका निराकरणका केही सजिला उपाय पनि छन्। इन्द्रिय संयम गरेर, शुभ कर्ममा अग्रसर भएर, खराब कार्यलाई तिरस्कार गरेर, सकारात्मक सोचको वृद्धि गर्न सकिन्छ। सकारात्मक सोचले दीर्घजीवी बनाउँछ। रागबाट टाढा हुनेले रोगबाट पनि टाढा रहन सक्छ। मनमा शान्ति स्थापना गरेर, स्वाध्यायबाट र आनन्द लिएर, क्रोधलाई चेहरामा आउन नदिएर, प्रफुल्ल रहेर, हाँसेर, हँसाएर यो रोग घटाउन सकिन्छ। संयमीको लक्षण क्षमा, धीरता, अहिंसा, समता, सत्यता, सरलता, दक्षता, कोमलता, स्थिरता, उदारता, शान्त स्वभाव र सन्तोष हो। दोष नदेख्ने बानीले प्राणीप्रति दया भाव पैदा हुन्छ। अरूलाई अपमान नगर्ने, निन्दा नगर्ने बानीले संयमीको लक्षण उजागर हुन्छ। मुक्त व्यक्ति त्यही हो जसले सदैव कसैको निन्दा गर्दैन, अरूको प्रशंसाबाट पनि बच्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.