अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन, २३ हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला

अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन, २३ हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला

संयुक्त राष्ट्र संघको वार्षिक सभामा भाग लिन अमेरिकाको चार दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीविरुद्ध ह्वाइट हाउसअघि प्रदर्शन भएको छ। प्रदर्शनकारीले ‘ब्याक टु मोदी’लगायतका नारा लगाएका थिए। शुक्रबार ‘कोरियाली युद्ध’ अन्त्य गर्न सकिने उत्तर कोरियाको प्रतिक्रिया पनि अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय रह्यो। सर्वोच्च नेता किम जोन उनकी बहिनीले शर्तसहित युद्धको अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी हुन्। यीबाहेक विश्भर शुक्रबार विभिन्न घटना घटेका छन्। 


‘शर्तहरू पुरा भएमा ‘कोरिया युद्ध’ समाप्त गर्न उत्तर कोरिया तयार छ’ 

प्योङयाङ : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले उत्तर कोरिया ‘कोरियाली युद्ध’ अन्त्य गर्न तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै उनले शर्तहरू पुरा भएमा युद्ध अन्त्य गर्ने बताएकी हुन्। 

सन् १९५३ मा भएको युद्धमा शान्ति सम्झौताबिना युद्धविराम गर्दै प्रायद्धिप क्षेत्रको कोरिया दुई भागमा विभाजित भएको थियो। त्यसयता दुवै मुलुकबिच द्वन्द्व जारी छ भने कहिलेकाहीँ दुई देशबिच तनावपूर्ण अवस्था सिर्जना हुने गरेको छ। 

यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुवै कोरियाली राष्ट्रलाई औपचारिक रुपमा द्वन्द्व अन्त्य गरी प्रायद्धिप क्षेत्रमा शान्ति स्थापना गर्न प्रस्ताव गरेका थिए। उत्तर कोरियाली मन्त्रीले सो प्रस्ताव अपरिपक्व भएको भन्दै युद्ध समाप्तीको अस्वीकार गरेका थिए। 

तर किमले अकल्पिनीय रूपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको प्रस्ताव स्वागतयोग्य भएको बताएकी छन्। ‘यद्यपि, दक्षिण कोरिया र उत्तर कोरियाबिचको शर्तहरू पुरा भएमा मात्र कोरिया युद्ध समाप्त हुनेछ’ विज्ञप्तिमार्फत उनले भनेकी छन्, ‘शर्तबमोजिम दक्षिण कोरियाले बहुरुपी सम्झौताहरू त्याग्नुपर्नेछ, अव्यवहारिक पूर्वाग्रहहरू र खराब आचरणसमेत त्याग्नुपर्नेछ। साथै आत्मरक्षाको नाममा हुने गरेको शत्रुतापूर्ण व्यवहारहरू र गतिविधिहरू रोक्नुपर्नेछ।’
००० 

अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीको विरोध 
वासिङटन डिसी
: चार दिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भएको छ। दर्जनौँ भारतीय–अमेरिकी नागरिकहरूले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअघि विरोध जनाएका हुन्। 

विरोधकर्ताहरूले विभिन्न प्लेकार्ड र पर्चा बोक्दै ह्वाइट हाउसअघि नाराबाजी गरेका थिए। उनीहरूले बोकेको पर्चामा ‘भारतलाई फासिज्मबाट बचाउ’, ‘मुस्लिम र अन्य अल्पस्ंख्यकमाथिको अत्याचार बन्द गर’, ‘मानव अधिकार हनन बन्द गर’, ‘मोदी फिर्ता जाउ’ लगायतका नारा लेखिएका थिए। 

सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बनेदेखि उनीमाथि देशमा हिन्दूवाद बढेको र मुस्लिम र अन्य अल्पसंख्यक समूहमाथि विभेद गरेको आरोप लागिरहेको छ। 

क्वाड सम्मेलनका लागि यतिबेला मोदी अमेरिकामा छन्। मोदी शनिबार न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा समेत भाग लिनेछन्। 
०००

क्वाड समिट भारत चीनसँगको मुद्दामा केन्द्रित हुने 
वासिङटन : अमेरिकामा आयोजित क्वाड समिटमा शुक्रबार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, भारत र जापानका शीर्ष नेताबीच छुट्टाछुट्टै भेटवार्ता हुँदैछ। चारै देशका शीर्ष नेताले चीनको पछिल्लो सैन्य गतिविधि र ओकस सम्झौताबारे छलफल गर्ने बताइएको छ। 

क्वाड समिटको मुख्य मुद्धा विश्व अर्थतन्त्र, विश्व महामारी, ओकस सम्झौता र प्रशान्त महासागर क्षेत्रमा केन्द्रित हुने बताइएको छ। सो समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको प्रभाव र पछिल्लो सैन्य गतिविधिमा जोड दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योसिहिडे सुगासँग छफलफल गर्ने बताइएको छ। 

क्वाड समिट एक उच्चस्तरीय रणनैतिक सम्मेलन भएकोले यसलाई चासोको रुपमा हेरिएको बीबीसी समाचारमा उल्लेख छ।  
०००

पाकिस्तानले अमेरिकालाई भन्यो,– ‘अफगानिस्तान त्याग्नु मानवीय संकट हो’ 
काबुल : पाकिस्तानले अमेरिकालाई केन्द्रित गर्दै तालिबानको अफगानिस्तान कब्जापछि देश त्याग्दा मानवीय संकटको जोखिम बढेको बताएको छ। अमेरिकाले अफगानिस्तानबाट सेना फिर्तीसँगै अफगानिस्तान त्याग्न चाहनेहरू बढेकोले त्यहाँ मानवीय संकटको जोखिम बढेको बताएको हो। 

संयुक्त राष्ट्रसंघको साधारण सभा कार्यक्रमको अवसरमा अमेरिकी सचिवालयका एन्टोनी ब्लिङकनसँगको भेटमा पाकिस्तानी विदेश मन्त्रीले सो कुरा बताएका हुन्। दुवै नेताले अफगानिस्तानको सम्भावित मानवीय संकटविरुद्ध विश्वका शक्ति र छिमेकी राष्ट्र एकजुट हुनुपर्ने बताएका थिए। 

न्यूयोर्कमा जारी सो कार्यक्रममा उच्चस्तरीय नेताहरूसँग भेटवार्ता भएको थियो। जलवायु परिवर्तन र क्वाड भेटमा अफगानिस्तानको विषयलाई समेत केन्द्रित गरिएको थियो।
००० 

२३ हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला
वासिङटन : न्यू मेक्सिकोमा करिब २३ हजार वर्ष पुरानो मानवजातिको पदचाप फेला परेको छ। संयुक्त राज्य अमेरिका जियोलोजिकल सर्भेका वैज्ञानिक र अन्वेषकको टोलीले न्यू मेक्सिको हुँदै उत्तर अमेरिकातर्फ गइरहेका मानिसहरूको पदचाप फेला पारेका हुन्। 

सो टोलीले सन् २००९ मा ह्वाइट स्याण्ड नेसनल पार्कस्थित पहिलो पदचाप फेला पारेका थिए। सो पदचापको आधारमा हालै करिब २३ हजारदेखि २१ हजार वर्ष पुरानो मानव जातिको पदचाप फेला पारेका हुन्। 

वैज्ञानिकहरूले विभिन्न प्रमाणहरूको आधारमा सो पदचाप करिब २३ हजार वर्ष पुरानो भएको बताएका छन्। 

सो मानवजाति अफ्रिका र एसिया भन्दाअघि अमेरिका कहिले पुगे भन्नेबारे अझै रहस्यमय रहेको वैज्ञानिकको टोलीले बताएका छन्। कतिपय वैज्ञानिकले भने अफ्रिकाबाट एसिया हुँदै सो मानवजाति अमेरिकासम्म पुगेको हुन सक्ने अनुमान गरेका छन् भने करिब २३ हजार वर्षदेखि २६ हजार वर्ष पहिले मानव जाति अमेरिका पुगेको हुन सक्ने बताएका छन्। 
०००

साउदीको राष्ट्रिय दिवसमा हुथी विद्रोहीको आक्रमण 
रियाद : साउदी अरेवियाले आफ्नो ९१ औं राष्ट्रिय दिवस मनाइरहँदा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको छ। स्थानीय मिडिया अल इखबारिया टिभीका अनुसार साउदी अरबको राष्ट्रिय दिवसको असवरमा हुथी विद्रोहीले करिब पाँचवटा ड्रोन आक्रमण गरेको हो। 

विद्रोहीहरूले हतियारसहितका ड्रोनहरू साउदीको वायु रक्षा क्षेत्रमा ड्रोन आक्रमण गरेका थिए। बिहिबार राति राष्ट्रिय दिवस मनाइरहँदा उनीहरूले ड्रोन खसालेका थिए। हुथीले राष्ट्रिय दिवसको अवसरमा अवरोध खडा गर्न ड्रोन आक्रमण गरेको स्थानीय मिडियाले जनाएका छन्। 

यद्यपि, यसबारे हुथी विद्रोहीले कुनै पनि प्रतिक्रिया नजनाएको अरब न्यूजमा खबर छ। 

- संयोजन अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.