सम्पदा संरक्षणमा हराएको चेत

सम्पदा संरक्षणमा हराएको चेत

२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा उठ्यो। पुनर्निर्माणमा सरकारको सक्रियता र नेपालीको महत्त्वपूर्ण साथ रह्यो। यसै समयमा भूकम्पले धेरै ऐतिहासिक धरोहर ढले। कैयौं चर्किए। थिलथिलो बनेका केही धार्मिक स्थलका संरचना टेकोले अडिएका छन्। चर्किएकाको मर्मत हुन सकेको छैन। मर्किएकाले सोझिन पाएनन्। परापूर्वकालमा निर्माण भएका मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद आदि खण्डहर छन्। यसभित्रका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हराउँदैछन्। चोरिएका छन् र मासिँदैछन्। जोगाउनु पर्ने शताब्दीऔं पुराना वस्तु संरक्षण अभावमा लोप हुने अवस्था छ।

पुर्खाले सिर्जना गरेका धार्मिक र सांस्कृतिक प्रतिविम्बका रूपमा सम्पदाहरू ठडिएका हुन्। यस्ता सम्पदाको प्रांगणमा केही क्षण सुस्ताउँदा मात्रै पनि शारीरिक तथा मानसिक थकान मेटिन्छ, मन शान्त र आनन्दित हुन्छ। इतिहासको कला र संस्कृतिको सम्झना गराउँछ। सांसारिक तृष्णा मेटाउने चाहना र लोककल्याणकारी भावनाले सिर्जना गरिएका यी सम्पदालाई जताबाट केलाए पनि महत्त्व कम छैन। यसले तत्कालीन सभ्यताको उच्चतम सिर्जना र शैलीलाई बोधार्थ गराउँछ। सम्पदाले सभ्यताको जीवन्त दस्तावेजको प्रमाण दिन्छ। आजसम्म पनि बाँचिरहेका सम्पदाहरू पुरातात्त्विक प्रमाण हुन्। देशका सम्पत्ति हुन्। 

लामो समयसम्म वातावरण र पर्यावरणको चर्को प्रभावमा सम्पदामा परे। पटकपटक आउने महाभूकम्प र अन्य प्राकृतिक प्रकोपले रत्तिभर प्रभाव पार्न सकेन। तर यसरी इतिहास बोके पनि अब थाम्न सक्ने अवस्थामा छैनन्। जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेका पुराना सम्पदा देशभर सबै छन्। तर, ध्यान यता केन्द्रित गर्ने फुर्सद सरकारलाई छैन। जब ढल्छ, विपत् आउँछ, चोरी हुन्छ अनि मात्रै झस्कने बानी छ। संरक्षण र विकास गर्न बनेका समितिहरू राजनीतिक कार्यकर्ता भर्ती गर्ने स्थान बनेका छन्। उनीहरूको ज्ञान र सीपमा दक्षता नहुँदा विकासको साटो विनाश हुने क्रम तीव्र छ। ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको आम्दानी यसै क्षेत्रमा खर्च नगर्दा पहिले जे थियो, त्यसमै सीमित बन्नुपर्ने अवस्था छ।

तत्कालीन परिस्थितिमा उपलब्ध सामग्रीहरूको प्रयोग गरिएका सम्पदाहरू वातावरण र पर्यावरणमैत्री थिए र अझै पनि छन्। विश्वका अन्य मुलुकमा भएका यस्ता ऐतिहासिक सम्पदाले माया पाउँदा ढल्नु परेको छैन। सानु ठाउँ भत्कियो वा चोइटियो भने पनि निर्माणमा सरकारको चासो पुग्छ। अमेरिका, चीन र भारतले त भएकालाई संरक्षण गर्दै नयाँ स्थानको विकास पनि गरेका छन्। प्राचीन समयमा बनेका त्यस्ता सम्पदाको इतिहास मेटिन पाएका छैनन्। तर, नेपालमा अवस्था त्यस्तो छैन। संरचना ढल्दा र पुराना वस्तु हराउँदा पनि यसको विषयको महत्त्व सरकारले बुझेको देखिँदैन।

उपल्लो डोल्पा, ताप्लेजुङ, मुस्ताङलगायत माथिल्लो क्षेत्रमा भएका गुम्बाले संरक्षण खोज्दैछ। यसभित्र भएका महत्त्वपूर्ण वस्तुले सुरक्षा माग्दैछ। सहरभित्र भएका मठ–मन्दिरले आफ्नो स्थान गुमाउँदैछन्, खुम्चँदैछन्। केही स्थान सरकारको आँखामा परे पनि ओझेलमा धेरै छन्। मन्दिर, गुम्बा, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गर्न विकास समिति सरकार माहतहतमा नै बनेका पनि छन्। यस्ता समितिले विकासका लागि गुरुयोजना बनाए पनि कमिसनको चक्करमा पदाधिकारी फस्दा विकास भएका छैनन्। पुरातात्त्विक सम्पदा संरक्षण गर्न ऐन, नियम र कानुन पनि बनेका छन्। विश्वमा चिनाउने यस्ता कुराको विकास सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ। कार्यकर्ता नियुक्ति गर्ने स्थान अर्थात् भर्तीकेन्द्र बन्नु हुँदैन। पिता–पुर्खाले बचाई ल्याएको सम्पदालाई नजोगाए इतिहास समाप्त हुने डर पनि त्यत्तिकै छ। त्यसैले अब सबै सचेत हुनुपर्ने बेला आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.