अस्पतालमा एक कप चियाको ३७० रुपैयाँ
जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरमा एक कप चियाको मुल्य ३७० रुपैयाँ भुक्तानी दिईएको पाईएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक कप चियाकाे ३७० रुपैयाँ खर्च गरेको पाइएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ।
अस्पतालले करारमा नियुक्त गरेको चिकित्सक, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेर एक कप चिया खाए वापत सो रकम खर्चिएको हो। करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्सलगायतका कर्मचारी होटल तथा बैंकेटमा बसेको चिकित्सकको सिफारिसको आधारमा ठेक्का दरअनुसार प्रति व्यक्ति आवासको १ हजार १ सय र चियाको ३७० का दरले ३८ लाख ९५ हजार खर्च गरेको पाईएको छ।
आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (८) मा भुक्तानी पूर्व रीत पुगे÷नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था रहेपनि अस्पतालले सो रकम मनोमानी खर्च गरेको देखिएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हो। होटलमा बस्नुपर्दा खर्च गर्न पाउने मापदण्ड वा निर्देशीका बेगर भुक्तानी भएकोले यकिन गर्न नसकिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
प्रादेशिक अस्पताल जनकपुरले बिरामीको लागि खाना खुवाउने व्यवस्था गर्दा सम्झौता गर्नुपर्नेमा नगरी एक होटललाई प्रति बिरामी प्रति छाक ५० रुपैयाँका दरले आर्थिक वर्ष २०७६/७७ मा १३ लाख ४८ हजार भुक्तानी दिएको छ। जबकी बिरामीले खाना खान नपाएको गुनासो पटक-पटक सञ्चार माध्यममा आएपछि घरबाटै खाना खुवाउने व्यवस्था मिलाईएको थियो।
प्रत्येक दिन बिरामी र खाना खुवाएको संख्या खुलाउनुपर्नेमा सो नगरी होटलले पेस गरेको निवेदन र बिलको आधारमा मात्र भुक्तानी दिएबाट वास्तविक खर्च यकिन गर्न नसकिएको महालेखाको ठहर छ। अस्पतालको बिरामी अभिलेखसँग भिडान गरेर मात्र भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।