सेल्फी नखिच्न आफ्ना सैनिकलाई तालिबानको चेतावनी, रुवान्डा नरसंहारका कैदीको जेलमै निधन

सेल्फी नखिच्न आफ्ना सैनिकलाई तालिबानको चेतावनी, रुवान्डा नरसंहारका कैदीको जेलमै निधन

आज दिनभर विश्वका विभिन्न घटना चर्चामा रहे। तालिबानले आफ्ना सेनालाई सेल्फी नखिच्न दिएको निर्देशन निकै चर्चामा रह्यो। रुवान्डामा ८ लाख मानिसको नरसंहार गर्नमा भूमिका रहेको ठहर गर्दै कैदी जीवन बिताइरहेका एक कैदीको जेलमै निधन भएको खबरले पनि आज चर्चा पायो।


सेल्फी नखिच्न आफ्ना सैनिकलाई तालिबानको चेतावनी 

काबुल : तालिबानले आफ्ना सैनिकलाई सेल्फी नखिच्न चेतावनी दिएको छ। अफगानिस्तान भित्र रहेका विभिन्न आकर्षक पर्यटकीय स्थलमा सेल्फी नखिच्न तालिबानले सैनिकलाई चेतावनी दिएको हो। 

आइतबार वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार तालिबानले आफ्ना सैनिकलाई सेल्फी नखिच्न र पर्यटकीय स्थल, पार्क र अन्य सार्वजनिक स्थलको तस्बिर नखिच्न चेतावनी दिएको छ। ड्युटीमा खटिँदा, पिकनिक मनाउँदा, विभिन्न पार्कमा घुम्दा समेत कुनै तस्बिर नखिच्न तालिबानले चेतावनी दिएको हो।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि थुप्रै तालिबानी सैनिकहरुले विभिन्न क्षेत्रको सेल्फी र अन्य तस्बिर खिचेका थिए। जुन सामाजिक सञ्जालमा भाइरल बनेका थिए। 
०००

जर्मनमा एन्जेला मर्केलको उत्तराधिकारी चयन हुँदै 
बर्लिन : जर्मनीमा करिब १६ वर्षसम्म नेतृत्व लिएकी चान्स्लर एन्जेला मर्केलको उत्तराधिकारी चयन हुने भएको छ। जर्मनमा लोकप्रिय मानिएकी मर्केलको आगामी उत्तराधिकारीको चयन आइतबार हुने भएको हो।  

जर्मनको उत्तराधिकारीका लागि आइतबार ८ बजे (स्थानिय समयअनुसार) देखि  चुनाव सुरु भएको छ।  सो पदका लागि मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन र सोसल डेमोक्रेटिक पार्टीबिच तीब्र प्रतिस्पर्धा चलेको वासिङटन पोस्टले जनाएको छ।   

जर्मनका करिब ६ करोड जनताले नयाँ उत्तराधिकारी चयन गर्ने छन्। नयाँ उत्तराधिकारीले जर्मनको दिशानिर्देश गर्नेछ। जनर्मनको आगामी उत्तराधिकारी चयन भएसँगै करिब १६ वर्षसम्म पदभार सम्हालेकी एन्जेला युगको अन्त्य हुनेछ। 

यद्यपि, एन्जेलाले पाँचौ पटक चुनाव लड्न मनाही गरेकी छिन् भने उनको पार्टीको तर्फबाट ६० वर्षीय आर्मिन ल्याचेटले चुनाव लडिरहेका छन्। उनको विपक्षी पार्टीको तर्फबाट भने ओलाफ स्कल्ज भिडिरहेका छन्। 
०००

पाकिस्तानमा आक्रमण, चार सुरक्षाकर्मीको मृत्यु 
बलुचिस्तान : पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु भएको छ। अर्धसैनिक बललाई लक्षित गरी भएको आक्रमणमा आइतबार चार पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु भएको हो। 

आक्रमणमा अन्य दुई सुरक्षाकर्मी घाइते भएको अधिकारीहरुले बताएका छन्। 

प्रतिबन्धित बलुचिस्तानमा भएको सो आक्रमणको जिम्मा बलुच लिबरेसन आर्मीले लिएको छ। बलुचिस्तान केही वर्षयता अशान्त छ। 

यसअघि गत शुक्रबार भएको आक्रमणमा अन्य दुई सुरक्षाकर्मीको मृत्यु भएको थियो। 
०००

रुवान्डा नरसंहारका कैदीको जेलमै निधन
माली : रुवान्डा नरसंहार घटनाका कैदी एवम् रुवान्डा आर्मीका कोलोनियल थियोनेस्ट बागोसोराको जेलमै निधन भएको छ। उनको मालीस्थित काउलीकोरो जेलमा ८० वर्षको उमेरमा निधन भएको हो। 

सन् १९९४ मा रुवान्डामा भएको जातीय द्वन्द्वका कारण करिब ८ लाख मानिसको नरसंहार गरिएको थियो। सो नरसंहारमा संलग्न रहेको आरोपमा उनलाई संयुक्त राष्ट्र संघले जन्मकैद सजाय सुनाएको थियो। रुवान्डाको तत्कालिन रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीसमेत रहेका उनको सजाय करिब ३५ वर्षसम्म घटाइएको थियो। 

८० वर्षीय उनको जेल सजाय आगामी ८९ वर्षको उमेरमा पुरा हुने भएको थियो। 
०००

तालिबानले अपहरणको आरोपमा चार जनाको शव झुण्ड्यायो 
हेरात : तालिबानले अपहरणको आरोपमा चार जनाको शव झुण्ड्याएको छ। अफगानिस्तानको हेरात सहरस्थित सार्वजनिक स्थलमा तालिबानले चार अपहरणकारीको शव झुण्ड्याएको हो। 

तालिबानले आफुहरुले सन्दिग्ध अपराधीको शव सार्वजनिक स्थलमा झुण्डाएको र त्यसपश्चात शवलाई हेरात सहरको अन्य तीन स्थानमा प्रदर्शन गरिएको प्रतिक्रिया दिएको छ। 

तालिबानले शनिबार कुख्यात काम गर्ने अपराधीलाई कठोर दण्ड दिने भन्दै सार्वजनिक चेतावनी दिएको भोलिपल्ट सो घटना भएको बताइएको छ। 

शनिबार बिहान चार अपहरणकारी रंगेहात पक्राउ गरेको र प्रहरीले चारै जनालाई मारेको तालिबानले जनाएको छ। त्यसपश्चात आफुहरुले चारै जनालाई क्रेनमार्फत हेरात सहरमा झुण्डाएको तालिवानले बताएको छ।
०००

शान्तिका लागि विशेष वार्ता गर्न उत्तर कोरिया इच्छुक 
सिओल : दक्षिण कोरियासँग विशेष वार्ता (इन्टर कोरियन समिट) गर्न उत्तर कोरिया इच्छुक देखिएको छ। कोरियाली मुलुकमा शान्ति स्थापनाका लागि उत्तर कोरिया दक्षिण कोरियासँग अर्को विशेष वार्ता गर्न इच्छुक देखिएको हो। 

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जङले शनिबार यदि दक्षिण कोरियाले आपसी सम्मान र निश्पक्षता कायमा गर्न सके उत्तर कोरिया विशेष वार्ताको लागि तयार भएको भन्दै प्रस्ताव राखेको स्थानिय मिडिया केसीएनएमा उल्लेख छ। 

आइतबार सो प्रस्ताव दक्षिण कोरियाले स्वागत गरेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार  शान्तिका लागि दुवै मुलुक लामो समयपछि एकैसाथ वार्तामा उपस्थित हुने अपेक्षा दक्षिण कोरियाको छ। त्यसको लागि चाडै दुवै मुलुकको लागि हटलाइन स्थापना गर्न समेत दक्षिण कोरियाले निर्देशन दिएको बताइएको छ। 

शुक्रबार दक्षिण कोरियाले दुई देशबिचको युद्ध अन्त्यको घोषणा गर्ने बताए लगत्तै शनिबार किमकी बहिनीले अर्को विज्ञप्ति सार्वजनिक गरेकी थिइन्। 

सन् १९५० देखि ५३ सम्मको कोरियाली युद्ध शान्ति सम्झौताबिना समाप्त भएको थियो। त्यसयता उत्तर र दक्षिण कोरियाको सम्बन्ध अझै राम्रो बन्न सकेको छैन। 

पछिल्लो पटक सन् २०१८ सेप्टेम्बरमा उत्तर र  दक्षिण कोरिया वार्तामा बसेका थिए।
००० 

दक्षिण  एसियाकै ठुलो वायु ऊर्जा परियोजनामा मिसुबीसीले लगानी गर्ने
टोकियो
: दक्षिण एसियाकै ठुलो वायु ऊर्जा परियोजनामा जापानी कम्पनी मिसुबीसीले लगानी गर्ने भएको छ। लाओसमा निर्माण हुने सो परियोजनामा मिसुबीसीले लगानी गर्ने भएको हो। 

आइतबार एक विज्ञप्ति जारी गर्दै करिब ६ सय मेगावाटको वायु ऊर्जा पावर प्लान्टको लागि आर्थिक सहयोग गर्ने मिसुबीसीले जनाएको छ। 

दक्षिण लाओसमा वायु ऊर्जा पावर प्लान्ट निर्माण हुनेछ। निर्माता कम्पनी हङकङको एनर्जी एसिया डेभलपमेन्टले आगामी वर्षदेखि निर्माण सुरु गर्ने छ भने सो परियोजना सन् २०२५ देखि सञ्चालनमा आउने बताइएको छ। 

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.