संगीको एकल चित्रकला
ललितपुर : कलाकार संगी श्रेष्ठको ‘संवेग’ एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। चाकुपाटस्थित एमथ्री ग्यालरीमा चित्रकला प्रदर्शनी सुरु भएको हो । संगीले कोरोना महामारीको समयमा बनाएका ३९ वटा चित्रकला प्रदर्शनीमा राखिएका छन्।
उनले मानिसका भावनाहरूलाई चित्रमार्फत प्रस्तुत गर्दै आएकी छन्। संगीले कोरोना कालमा देखेका मानिसहरूको भोगाइलाई चित्रमा उतारेकी छन्। जसको मुख्य उद्देश्य सबैलाई सकारात्मक सोच्न सिकाउनु हो। आशा देखाउनु हो।
कोरोना महामारीको समयमा घरभित्र बस्नुपर्दा मानिसहरू निरास देखिन्थे। त्यो समयमा अरुलाई जस्तै उनलाई पनि तनाव हुन थालेपछि चित्रकलामार्फत भावनालाई उतार्न थालेको उनले बताइन्। ‘महामारीको समयमा पनि हामीले आशा राख्नुपर्ने रहेछ। चाहे त्यो हाम्रो सामथ्र्यभन्दा बाहिरको नै किन नहोस’, श्रेष्ठले भनिन्, ‘हामीले प्रयत्न चाहिँ गर्न छाड्नु हुँदैन।’
उनका चित्रमा आँखा खुला छन्। त्यसले सकारात्मक बन्न सिकाउँछ। सूर्य देखिन्छ। जसले उज्यालोतिर लाग्न प्रेरित गर्छ। जस्तोसुकै समस्यामा परे पनि रंगीन आशाहरू हुनैपर्छ भन्ने सन्देश दिन रंगीविरंगी रंगको प्रयोग गरेकी छन्।
कोरोनाले समस्या मात्र नल्याएर परिवारलाई एकजुट बनाएको बुझाइ उनको छ । उनले कोरोनालाई पनि एउटा अवसरको रुपमा हेरेकी छन्। ‘कोरोना काल सुरु हुनु पहिले अभिभावक र बालबालिका भेटै नहुने अवस्थामा थियो। तर, कोरोनापछि सबै एकै ठाउँमा बसेर समय बिताउन पाएका छन्’, उनी भन्छिन्, ‘यसलाई सकारात्मक रुपमा लिनुपर्छ।’