प्राण लिँदै पोखरी

प्राण लिँदै पोखरी

राजविराज : सप्तरीमा ५ दिनको अवधिमा पोखरीमा डुबेर ६ जनाको मृत्यु भएको छ। शनिबार राति शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोलका २ वर्षीय रामपुकार सरदार घरपछाडिको पोखरीमा, शुक्रबार विष्णुपुर गाउँपालिका–५ का ३ वर्षीय रहमत अली, बुधबार महदेवा गाउँपालिका–२ अकबरपुरकी ५ वर्षीया शिवानी मण्डलको नुहाउने क्रममा मृत्यु भएको छ। 

त्यस्तै, मंगलबार महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा भाँडा पखाल्न गएकी ३० वर्षीया छारे रोगकी बिरामी लक्षनकुमारी सदा, सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियास्थित पोखरीमा ३ वर्षीया एलिजाकुमारी चौधरी र तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो। 

आर्थिक वर्ष २०७८/०७९ को सुरुआतमै प्रदेश २ मा पोखरीमा डुबेर मृत्यु हुनेको संख्या ६४ पुगेको छ। तीमध्ये २३ जना बालक, १७ जना बालिका, ५ जना महिला र १९ जना पुरुषको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाईंका अनुसार सप्तरीमा १५, सिरहामा १०, धनुषामा ९, महोत्तरीमा २, सर्लाहीमा ५, रौतहटमा १०, बारामा ४, पर्सामा ९ जनाको डुबेर मृत्यु भएको छ।  जेठ २८ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अञ्जु पूर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता साह तेलीले ज्यान गुमाए। 

त्यस्तै, असोज ३ गते पर्साको वीरगन्ज महानगरपालिका–१२ स्थित मुर्ली पोखरीमा नुहाउन गएका वडा–१५ का १७ वर्षीय आशिष गुप्ता र १२ वर्षीय प्रीतम गुप्ताको डुबेर मृत्यु भयो। 

साउन १३ गते सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा स्थानीय २५ वर्षीया रितेबादेवी, उनकी २ वर्षीया छोरी रोमाकुमारी र ९ दिने छोराको शव भेटियो।

असोज ४ गते धनुषाको धनुषाधाम नगरपालिका–२ स्थित धरमपुरमा २८ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षीय कुशकुमार सिंहको पोखरीमा डुबेको अवस्थामा शव फेला प¥यो।

तराई मधेसमा नदी, खोला, पोखरी, नाला, खाल्डोमा डुबेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो छ। तर, पाँच जनासम्म बालबालिकाको एकैपटक मृत्युु हुँदासमेत राज्य गम्भीर देखिएको छैन। मृत्यु हुनेमा बालबालिकाको संख्या बढी देखिएको छ। 

गत वर्ष ३८ बालक, ३६ बालिका, २६ पुरुष र १७ महिला गरी प्रदेश २ मा १ सय १७ जनाको मृत्यु भएको थियो। सप्तरीमा १७, सिरहामा ६ धनुषामा २०, महोत्तरीमा ८, सर्लाहीमा ६, रौतहटमा २३, बारामा २१ र पर्सामा १५ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ। 

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा सप्तरीमा ६, सिरहामा ५ धनुषामा ८, महोत्तरीमा ३, सर्लाहीमा १४, रौतहटमा २६, बारामा १४ र पर्सामा १० गरी ८६ जनाको पोखरीमा डुबेर मृत्यु भएको थियो। जसमा बालका ३८ जना, बालिका २१ जना, पुरुष १७ जना र महिला १० जना छन्।

गर्मी बढेसँगै पोखरीमा नुहाउन जाने संख्यामा वृद्धि, पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ छ। विगत २ वर्षमा प्रदेश २ का आठ जिल्लामा २ सय ३ जनाको ज्यान गयो। यसरी पोखरीमा डुबेर ज्यान गुमाउनेमध्ये ६५.५१ प्रतिशत बालबालिका, २१.१८ प्रतिशत पुरुष र १३.३० प्रतिशत महिलाको संख्या छ। 

सप्तरीमा मात्र चालू आवमा १५ जनाको मृत्यु भएको बताउँदै सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले अभिभावकबाट निगरानी हुन नसक्दा घटनामा वृद्धि भएको बताए। डुबेर बालबालिकाको बढी मृत्यु हुनुमा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको भनाइ छ।

‘काममा जाँदा बालबालिका घरमा छाडेर जानुपर्ने हुन्छ। कि त बालबालिकालाई गाईवस्तु चराउन, घाँस काट्न पठाउनुपर्ने हुन्छ,’ हनुमाननगर कंकालिनी नगरपालिका–५ जोगिनियाका श्रवण सदा भन्छन्, ‘ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना भएको हो।’ 

डीएसपी काफ्ले भन्छन्, ‘पर्याप्त पोखरी हुनु तर घेराबेरा र कतिपयमा डिलसमेत नहुनाले बालबालिका डुबेर मृत्यु हुने गरेको छ। अभिभावकहरू ध्यान दिनुपर्छ।’

प्याब्सन सप्तरीका अध्यक्ष देवानन्द चौधरीले बालबालिकालाई पोखरी, नहर, कुलो जस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए।

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका हरिनारायण साहले तराई मधेसमा दैनिक जीवनसँग जोडिएको पोखरी आयस्रोतको समेत प्रमुख आधार भएको बताए। तर, यसको व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्ने उनको माग छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.