मूल जोगाऔं, मूल फुटाऔं
पानीका स्रोत जनजीवनका आधार हुन्। पानीबिना प्राणीको जीवन सम्भव छैन। अहिले जीवन दिने यस्ता स्रोत सुक्दैछन्। जमिनको सतहमा वहने पानी भासिँदै छ। कुवा र इनार पनि दबिँदैछन्। मुलुकका एक करोडभन्दा बढी नागरिक मूलको पानीमा आश्रित रहेको तथ्यांक छ। तर, मूलको पानी सुकेकै कारण विभिन्न जिल्लाका नागरिक बसाइँ सरेका छन्। सुक्खा क्षेत्र बढ्दो छ। मुहान सक्दा नागरिकको दैनिकीमा परिवर्तन आएको छ। पानीका मूलमा आश्रित जीवन, सरसफाइ, स्वच्छता र जीविकोपार्जनमा नकारात्मक असर परेको छ।
मानवको दैनिकी नै सुरुआत गर्ने पानीको जोहोमा अझै पनि गाउँगाउँका नागरिक दिन काट्न बाध्य छन्। आधा दिन पानीकै लागि संघर्ष गरेका धेरै उदाहरण छन्। पानीका मुहान सुक्ने कारण धेरै छन्। ग्रामीण सडकले मुहान पुरेका छन्, भत्किएका छन्। विभिन्न प्रयोजनका भौतिक पूर्वाधारका पक्की संरचनाहरूको निर्माणले जमिनभित्र पानी नपुग्दा मुहानमा पानी रिचार्ज हुन पाएको छैन। बढ्दो वनजंगलको विनाश कारण जमिनको सतह खँदिलो भएमा वर्षायामको पानी जमिनभित्र नगई सिधै नदी र खोल्सामा पुगेका छन्। जसका कारण पानीको पुनः मूल फुट्न छाडेको छ। पहिले पानी झर्ने धारा मात्रै ठडिएका छन्। यी सबै कारणले भूमिगत जल भण्डारमा पानीको परिमाण घट्दै गएको छ। जथाभावी ग्रामीण सडक खन्नाले वातावरण बिग्रिएको छ। अन्धाधुन्ध डोजर चलाउँदा जमिनमुनिको संरचनामा असर परेका कारण पहाड सुक्खा बन्दैछ।
पुर्खाले पहाडका विभिन्न ठाउँमा पोखरीहरू निर्माण गरेका थिए। त्यस्ता पोखरीले भूमिगत जल भण्डारको पुनर्भरण गर्थे। अहिले परम्परागत रूपमा बनाइएका पोखरीहरू नास हुँदै गएका छन्। यो पनि मुख्य कारण हो। विनाश भएका पोखरीका निर्माण गर्ने फुर्सद छैन। गाउँमा मात्र नभएर सहरी क्षेत्रका पोखरीहरू पनि सम्पूर्ण रूपमा नास हुँदै गइरहेको प्रत्यक्ष देख्न सकिन्छ। विकासले विस्तारै निम्त्याएको विनासको सूचीमा पानीका स्रोत पनि पर्छन्। यसको संरक्षणमा हालसम्म उदाहरणीय योजना बनेको भेटिँदैन। विकल्पमा पानी किनेर खानेतर्फ ध्यान दिए पनि जल भण्डारको पुनर्भरणमा कसैको मन गएको छैन। पानी भन्नासाथ सरकारको ध्यान मेलम्चीमा पुग्छ। यसकै लागि राजनीति हुन्छ। रणनीति बन्छन्। यसले नेपालको एक ठाउँ अर्थात् उपत्यकाको माग सम्बोधन गर्ला। तर मुलुकभित्रैका करोडौं नागरिक मूल सुकेर बसाइँ सर्नुपर्ने पीडा सरकारले बुझेको छैन।
गाउँगाउँसम्म सडक पु¥याउने होडबाजी तीनै तहका सरकारमा छ। त्यस क्रममा मुहान संरक्षण गर्ने रणनीति भने बन्दैन। गाउँका ढुंगेधारामा झर्ने चिसो पानीले प्यास मेटाएको भुलेर फिल्टर गरिएका पानी बोतलमा गर्व गर्छौं। जसले संरक्षणमा चासो घट्दो छ। अब पनि पानीका स्रोतको संरक्षण नगरे कुनै समय संकट उत्पन्न हुन सक्छ। एक गिलास पानीका लागि पनि संघर्ष गर्ने दिन नआउला भन्न सकिँदैन। पानीलाई प्रशोधन गरेर बेच्नेभन्दा पनि मुहान जोगाउने योजना सरकारको नीति तथा कार्यक्रममा समेटिनु पर्छ। विकास निर्माण गर्दा मूललाई संरक्षण गरेर मात्रै गर्नुपर्छ। भूमिगत जल भण्डार पुनर्भरण एकल प्रयासबाट सम्भव हुँदैन। स्थानीय जलस्रोत संरक्षणप्रति लक्षित कार्यहरूमा स्थानीय निकायको सहयोग तथा स्थानीय ज्ञान र सीपलाई पनि प्रयोग गर्नुपर्छ। नत्र ‘पानी जिन्दगानी’ नारामा नै सीमित बन्नेछ।