चीनमा 'लोडसेडिङ', भारतमा किसानले गरे देशव्यापी हडताल

चीनमा 'लोडसेडिङ', भारतमा किसानले गरे देशव्यापी हडताल

आज दिनभर जर्मनीकी चान्सलर एन्जेला मर्केलको पार्टीले आम निर्वाचनमा पराजयउन्मुख भएको समाचारले चर्चा पायो। राज्यको बागडोर १६ वर्षसम्म सम्हालेकी उनले त्याग्ने भएपछि पार्टीले समेत पराजय व्यहोर्ने निश्चित प्राय: भएको बीबीसीले उल्लेख गरेको छ। त्यस्तै चीनका केही प्रान्तमा कोइलाको उपलब्धता कम भएपछि अघोषित रूपमा लोडसेडिङ हुन थालेको समाचारले पनि स्थान पायो। भारतमा किसान आन्दोलन चर्किएको र भारतभर बन्द गरेको खबर प्रमुखताका साथ भारतीय सञ्चार माध्यमले प्रस्तुत गरेका छन्।

चीनमा अघोषित लोडसेडिङ

बेइजिङ : उत्तर पूर्वी चीनमा अघोषित रुपमा विद्युत आपूर्ति कटौती (लोडसेडिङ) भएको छ। उत्तर पूर्वी चीनको लिआओनिङ, जिलिन र हेलोङजियाङ प्रान्तमा अघोषित रुपमा विद्युत आपूर्ति बन्द भएको हो।

विद्युत् आपूर्ति नहुँदा त्यहाँका कलकारखाना र दैनिक जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ। सोमबार बीबीसीमा प्रकाशित समाचारअनुसार कोइलामा भारी मूल्यवृद्धि हुँदा विद्युत कटौती भएको हो।

चीन बिजुलीका लागि कोइलामा निर्भर मानिन्छ।

केही चिनियाँ कम्पनीका अनुसार कोइला अभावका कारण सो क्षेत्रमा आगामी वर्षदेखि विद्युत कटौती हुने अपेक्षा गरिएको थियो। तर पछिल्लो हप्ता अघोषित रुपमा बिद्युत् सेवा बन्द हुँदा स्थानियले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।

बिद्युत अभावका कारण सो प्रान्तमा सञ्चालित विभिन्न कलकारखाना, उत्पादन कम्पनीहरु सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ।

तीनवटा प्रान्तको जनसंख्या करिब १० करोड रहेको छ।

०००

इरान र आइएईएबीच परमाणु निगरानीमा नयाँ विवाद

तेहरान : परमाणु निगरानी सम्बन्धमा इरान र विश्वव्यापी परमाणु निगरानी संख्या इन्टरनेसनल अटोमिक एनर्जी एजेन्सी (आइएईए)बीच नयाँ विवाद देखिएको छ। यसै महिनाको सुरुमा भएको सम्झौतामा ईरान र आइएईएबीच नयाँ विवाद देखिएको हो।

सन् २०१९ मा इरानले आफ्नो परमाणु क्षेत्र निगरानी गर्न अन्तर्राष्टिय निकायलाई अनुमति दिने सम्झौता गरेको थियो। सो सम्झौता बमोजिम इरानले आइएईएलाई निगरानीका लागि परमाणु क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गर्न दिनेमा सहमति जनाएको थियो।

सो सहमतिको एक महिना नपुग्दै इरानले परमाणु गतिविधि निगरानीका लागि सीसीटिभी क्यामेरा राख्न अस्वीकार गरेको छ।

०००

स्पेनको ज्वालामुखी समुद्रमा पुग्यो
ला पाल्मा : स्पेनको ला पाल्मा टापुमा भएको ज्वालामुखी विस्फोटबाट निस्केको लाभा समुद्री किनारमा पुगेको छ। करिब ९ दिनअघि भएको सो ज्वालामुखी विस्फोटको लाभा सोमबार बिहान समुद्री किनारसम्म पुगेको हो।

कुम्ब्रे भियजा नाम दिइएको सो ज्वालामुखीबाट निस्केको लाभा समुद्री किनारसम्म पुगेसँगै त्यहाँको आपतकालीन विभागले सोमबार बिहानैदेखि पूर्वी ला पाल्मा क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ। साथै सान बोरोन्डन, मेरिना आल्टा, बाजा र ला कोन्डेसा क्षेत्रमा समेत लकडाउन जारी गर्न निर्देशन दिइएको छ। 

करिब १२५० डिग्री सेल्सियसको सो लाभा चाँडै नै एटलान्टिक महासागरमा पुग्ने अनुमान गरिएको छ। समुद्रमा मिसिएपछि लाभाबाट निस्कने विषाक्त ग्यासले टापु वरिपरी घेर्ने चेतावनी दिइएको छ।

सो हानिकारक ग्यासबाट जोगिन आधिकारीको निर्देशन पालना गर्न र झ्याल ढोका बन्द गरेर घरभित्रै बस्न स्थानियलाई सूचित गरिएको छ। 

ज्वालामुखीका कारण करिब ८३ हजार जनसंख्या रहेको ला पाल्माको जनजीवन कष्टकर बनेको छ।

०००

अष्ट्रेलियाका प्रधानमन्त्रीको कप–२६ मा सहभागी नहुने संकेत
क्यानबेरा
: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी नोभेम्बरमा आयोजित कप–२६ मा सहभागी नहुने संकेत देखाएका छन्। जलवायु संकटसँग जुध्न अष्ट्रेलियाले प्रभावकारी कदम नचालेका कारण उनले कप–२६ मा सहभागिता नजनाउने संकेत देखाएका हुन्।

स्थानिय अखबारमा सोमबार प्रकाशित एक अन्र्तवार्तामा प्रधानमन्त्री मोरिसनले आफूले हालसम्म कप–२६ सम्मेलनमा सहभागी हुने निर्णय नलिएको बताएका छन्। अष्ट्रेलियाको अहिलेको प्राथमिकता कोभिडसँग कसरी जुध्ने र अन्र्तराष्ट्रिय सीमाहरु कसरी खोल्ने भन्ने रहेको बताउँदै उनले भनेका छन्, ‘कोभिडका कारण अहिलेसम्म बन्द रहेका सीमा नाका खोल्नु र मुलुकमा जारी आर्थिक संकटसँग जुध्नु अष्ट्रेलियाको मुख्य प्राथमिकता हो। जलवायु परिवर्तन संकटसँग जुध्न अझै समय बाँकी छ। कप २६ मा सहभागी हुनेबारे अन्तिम निर्णय लिएको छैन।’

अष्ट्रेलिया संसारको सबैभन्दा ठुलो ग्यास र कोइला निर्यातकर्ता हो। कार्बन उत्सर्जन कटौती गर्न अष्ट्रेलियासहित संसारका २ सय मुलुकले आफूले चालेको कदमबारे प्रस्तुति दिनुपर्ने छ। यसको तयारीमा अष्ट्रेलिया पछि रहेको रोयटर्समा समाचार छ।

संयुक्त राष्ट्रसंघ अन्र्तगतको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कप–२६ सबैभन्दा ठुलो र महत्वपूर्ण मानिएको छ। आगामी नोभम्बरमा ग्ल्यास्गोमा सो सम्मेलन आयोजना गरिएको छ। करिब १२ दिनसम्म सञ्चालन हुने भनिएको सो सम्मेलनमा संसारका सबै मुलुकहरु सहभागी हुने छन्। जलवायु संकटसँग संसार कसरी जुध्ने भन्नेबारे सो सम्मेलन केन्द्रित हुनेछ।

०००

पाकिस्तानमा ४० मध्ये २४ प्रतिशत शिक्षित व्यक्ति बेरोजगार
इस्लामावाद
: पाकिस्तानमा करिब २४ प्रतिशतभन्दा बढी शिक्षित व्यक्ति बेरोजगार भएका छन्। कोरोना महामारीका कारण करिब ४० प्रतिशत शिक्षित व्यक्तिमध्ये २४ प्रतिशतभन्दा बढी शिक्षित व्यक्ति बेरोजगार भएका हुन्।

पाकिस्तान इन्स्टिच्युट अफ डेभलपमेन्ट इकोनोमिक्स (पिआइडिई)ले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै देशभर हाल २४ प्रतिशत भन्दा बढी शिक्षित व्यक्तिहरु बेरोजगार छन्। सो रिपोर्टअनुसार पाकिस्तानमा बेरोजगार हुनेको संख्या १६ प्रतिशतले बढेको छ।

पाकिस्तानमा करिब ४० प्रतिशत शिक्षित महिला समेत बेरोजगार रहेको पिआइडीईको रिपोर्टमा उल्लेख छ। स्नातक र स्नात्तकोत्तर शिक्षा हासिल गरेका व्यक्तिलाई सो रिपोर्टमा शिक्षित देखाइएको डन न्यूजमा समाचार छ।

०००

ब्रिटेनले ताइवानमा गरेको युद्धपोत मिसनमा चीनको आपत्ति
बेइजिङ
: संवेदनशील ताइवान स्टेट हुँदै ब्रिटेनले आफ्नो युद्धपोत मिसन थाल्दा चीनले आपत्ति जनाएको छ। ब्रिटेनले ताइवान स्टेटमा जागरुकता फैलाएको र आफ्नो उद्देश्यमा बाधा पु¥याएको भन्दै  चीनले सोमबार आपत्ति जनाएको हो।

चिनियाँ सैन्य स्रोतका अनुसार भियतनाम हुँदै ताइवान स्ट्रिटमार्फत ब्रिटेन युद्धपोत चलेको थियो। चीनले पछिल्लो समय पूर्वी चीन सागरमा आफ्ना सेना तैनाथ गरेको थियो।

चीनले स्वायत्त ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ। सो क्षेत्र वरिपरी बाह्य गतिविधि र हस्तक्षेपको चीनले विरोध जनाउँदै आएको छ।

०००

भारतमा किसानले गरे देशव्यापी हडताल
नयाँ दिल्ली : भारतमा किसानहरुले देशव्यापी हडताल गरेका छन्। करिब एक वर्ष अघि जारी गरिएको कृषि कानुनको विरोधमा उनीहरुले सोमबार करिब १० घण्टाको लागि भारत बन्द गराएका हुन्।

करिब ४० भन्दा बढी किसान संगठनको संयुक्त किसान मोर्चाले भारत बन्द गराएको हो।  विभिन्न राजनीतिक दल र सामाजिक संगठनले समेत किसान मोर्चाको समर्थन गरेका थिए। किसानहरुले भारतभर प्रदर्शन गरेका थिए।

१० घण्टे भारत बन्दमा किसानहरुले विभिन्न राज्य र सहरहरुमा प्रदर्शन गरेका थिए। बन्दका कारण  एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाबाहेक यातायात, रेल सेवा, सरकारी कार्यालय जस्ता अन्य सार्वजनिक सेवा ठप्प बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

किसानहरुले बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म विरोध प्रदर्शन गरेका थिए।

रोयटर्सका अनुसार यस महिना मात्र करिब ५ लाख भन्दा बढी किसानहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले पारित गरेको किसान कानुनविरुद्ध उत्तर प्रदेशमा ¥याली गरेका थिए। विगत दस महिनायता १० हजारभन्दा बढी किसानले मुख्य सहरहरुमा प्रदर्शन जारी राखेका थिए।

मोदी सरकारले गत सेप्टेम्बरमा किसान कानुन पारित गरेको थियो। सो कानुन आफूहरुको हित विपरीत भएको भन्दै किसानहरुले भारतमा पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम जारी राखेका छन्।

०००

एन्जेला मर्केलको पाटीलाई पछि पार्दै वामपन्थी दल अगाडि
बर्लिन
: जर्मनीमा आइतबार भएको संसदीय चुनावमा सोसल डेमोक्रेटिक पार्टी (वामपन्थी दल) सबैभन्दा अगाडि पुगेको छ। जर्मनको शासनमा १६ वर्षसम्म सत्तामा रहेर चान्स्लर बनेकी एन्जेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टीलाई पछि पार्दै डेमोक्रेटिक पार्टी अगाडि पुगेको हो।

सोमबार बिहान प्राप्त नतिजाअनुसार डेमोक्रेटिकले हालसम्म २६.० प्रतिशत मत हासिल गरेर पहिलो नम्बरमा छ भने मर्केलको पार्टीले २४.१ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ। यस्तै १४.८ प्रतिशत भोटका साथ ग्रिन पार्टी तेस्रो स्थानमा रहेको छ।

मर्केलको पार्टीको तर्फबाट आर्मिन ल्याचेटले चुनाव लडिरहेका छन् भने वामपन्थी दलको तर्फबाट ओलाफ स्कल्ज भिडिरहेका छन्।

जर्मनमा लोकप्रिय मानिएकी एन्जेला मर्केलको उत्तराधिकारी चुन्न अझै केही समय लाग्ने बताइएको छ। जर्मनको नयाँ उत्तराधिकारी चुनिएपछि मर्केल युगको बिदाई हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

०००

ग्रिसमा शक्तिशाली भूकम्प
ग्रिस
: ग्रिसमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। सोमबार क्रिटी टापुलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको हो।

युरोपियन सिस्मोलोजिकल सेन्टरका अनुसार करिब १० किलोमिटर गहिराईबाट उत्पन्न भएको सो भूकम्पको धक्का २३ किलोमिटर क्षेत्रफलसम्म महसुस गरिएको थियो।  

भूकम्पका कारण चर्च भत्किँदा एकको मृत्यु भएको रोयटर्सले जनाएको छ। भूकम्पका कारण थुप्रै भवनहरुमा क्षति पुगेको अधिकारीहरुले बताएका छन्।

-संयोजन अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.