प्रदेश २ : लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनल
जनकपुरधाम : प्रदेश २ को लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोसपाको संसदीय दलको नेतामा निर्वाचनमार्फत जितेन्द्र सोनल चयन भएको हो ।
सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल नभएपछि अबेर राति निर्वाचनमार्फत दलको नेता चयन गरिएको हो । सोनल र उपेन्द्र महतोबीच चुनावी प्रतिस्पर्धा भएको थियो । लोसपाका १६ सांसदमध्ये सोनलले ९ मत पाए भने महतोले ६ मत पाएका छन् । एक मत बदर भयो ।
सोनल यसअघि साविकको राजपाको पनि प्रदेश २ संसदीय दलको नेता थिए । उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि उनलाई मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट हटाएका थिए ।
लोसपा संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल कुमार झालगायत पनि सहभागी थिए। बैठकले लोसपाको संसदीय दलको विधान पनि पारित गरेको पार्टीले जनाएको छ ।