प्रदेशसभा छल्दै मुख्यमन्त्री राउत : विश्वासको मत कहिले ?
जनकपुरधाम : प्रदेश २ सरकार प्रदेशसभालाई प्रभावकारी बनाउनुपर्नेमा सदन छल्दै आफ्नो आयु लम्ब्याउने प्रयासमा लागेको छ। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको दुई महिना बितिसक्दा पनि विश्वासको मत नलिइ बैठक छल्दै आइरहेका हो। २९ अषाढमा अर्को सूचना जारी नभएसम्म स्थगित भएको बैठक मुख्यमन्त्री लालबाबु राउत सरकारको बेवास्ताले बस्न नसकेको हो।
प्रदेश २ को छैटौं अधिवेशन १८ जेठमा सुरु भएको थियो। सुरुमा केही बैठक बसे पनि पछिल्लो दुई महिनादेखि संसद् चल्न सकेको छैन। मुख्यमन्त्री राउतले समयावधि भित्र विश्वासको मत नलिई प्रदेशसभा सञ्चालनमा तदारुकता नदेखाउँदा संसद छलिरहेको भन्दै विपक्षी दलहरुको आरोप छ। गठबन्धन सरकारका नाममा संसदलाई बेवास्ता गरिएको सत्तारुढ दलको समेत आरोप छ।
सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतसँग यस विषयमा कुराकानी भइरहेको बताए। भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भने, ‘मन्त्रिपरिषद् र प्रदेशसभाको विषयलाई लिएर पटक–पटक मुख्यमन्त्रीलाई भन्दै आएको छु। तर मुख्यमन्त्रीले आलटाल गरिरहेका छन्।’
सत्तारुढ जसपा फुटेपछि प्रदेश २ मा कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत गठबन्धनको सरकार छ। गठबन्धनकै सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री राउतले संसदलाई बेवास्ता गरेको विपक्षी दलको आरोप छ। विश्वासको मत नलिनुलाई पनि विपक्षी दलले गठबन्धनसँगै जोडेका छन्। विपक्षी दलले गठबन्धनप्रति मुख्यमन्त्रीको विश्वास नरहेकाले विश्वासको मत लिन मुख्यमन्त्री राउत डराएको आरोप छ।
०७४ मा तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी नेपालबीच गठबन्धनमा राउत नेतृत्वमा सरकार बनेको थियो। पछि दुवै दल एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो। अहिले जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ। ९ भदौमा निर्वाचन आयोगले लोसपालाई वैधानिकता प्रदान गरेको थियो।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। ३० दिन बित्दा पनि मुख्यमन्त्री राउतले विश्वासको मत लिन सकिरहेका छैनन्।
कांग्रेस संसदीय दलका नेता यादवले सरकारसँग पर्याप्त बहुमत हुँदा समेत विश्वासको मत लिन किन डराइरहेको बुझ्नै नसकिएको प्रतिक्रिया दिए। प्रदेशसभामा १०७ सदस्यीय मध्ये अहिले १०४ प्रदेश सांसद छन्। जसपाका ३९, कांग्रेस १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा (एमाले)का ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन्।