बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन, तालिबानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानमा आतंकवादी हमला बढ्यो

बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन, तालिबानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानमा आतंकवादी हमला बढ्यो

तालिबानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानमा आतंकवादी हमलामा वृद्धि भएको एक अध्ययनले देखाएको खबर प्रमुखताका साथ प्रस्तुत भएको छ। बेलायतमा पछिल्लो समय पेट्रोलियम पदार्थको चरम अभाव सिर्जना भएको बताइएको छ। योभन्दा अझ अभाव बढ्न नदिन त्यहाँको सरकारले सेना परिचालन गरेको खबर प्रमुखताका साथ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका छन्। यसैगरी उत्तर कोरियाका दूतले राष्ट्र संघ महासभामा प्रस्तुत गरेको अभिव्यक्तिसँगै उसले मंगलबार पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको खबरले पनि विशेष चर्चा पायो। प्रस्तुत छ, विश्वका केही प्रमुख खबरहरू :


बेलायतमा पेट्रोल संकट कम गर्न सेना परिचालन

लण्डन : बेलायतमा जारी चरम पेट्रोल संकट कम गर्न सेनाले सहयोग गर्ने भएको छ। चार दिनदेखि जारी पेट्रोल संकट कम गर्न सेना परिचालन गरेर उसले सहयोग गर्ने भएको हो। 

तत्कालिन आपूर्तिको लागि सेनाले करिब १५० सैन्य ट्यांकर चालक उपलब्ध गराउने बीबीसीले जनाएको छ। 

बेलायतमा पछिल्लो समय करिब १ लाखभन्दा बढी लरी (ट्रक) चालक अभाव भएको छ। ट्रक चालकको अभावमा बेलायतमा चरम पेट्रोल संकट निम्तिएको बताइएको छ। पेट्रोल पम्पमा मानिसहरुको लाम लागेको छ भने कतिपय पेट्रोल पम्प बन्द गरिएका छन्। 

मानिसले पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराएको बताइएको छ। बेलायतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि पनि आठ वर्ष यताकै उच्च मानिएको छ।
०००

चीनकै ठुलो सैन्य ड्रोन प्रदर्शनीमा 
बेइजिङ : चीनले देशकै ठुलो सैन्य युद्धक ड्रोन सिरिज प्रदर्शन गरेको छ। चीनले गोन्जोङ प्रान्तमा मंगलबारदेखि सिएच–६ ड्रोन सिरिज प्रदर्शन गरेको हो। 

सो ड्रोन सिरिज मंगलबारदेखि आगामी आइतबारसम्म प्रदर्शनीमा राखिने बताइएको छ। सिएच–६ का प्रमुख इन्जिनियरका अनुसार सो ड्रोनसँग उच्च कार्यक्षमता, द्रुत, सर्वसुलभ, भरपर्दो र सहजै प्रयोग गर्न सकिन्छ। सो ड्रोन चीनकै ठुलो सैन्य ड्रोन भएको र अत्याधुनिक प्रविधि जडान गरिएको छ। 

सम्भावित युद्धका लागि आवश्यक पर्ने हुँदा सरकारको माग बमोजिम सीएचयुएभी कम्पनीले सो ड्रोन निर्माण गरेको ग्लोबल टाइम्सले जनाएको छ।
०००

तालिबानको अफगानिस्तान कब्जापछि पाकिस्तानमा आतंकवादी हमला बढ्यो 
इस्लामावाद
: तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पाकिस्तानमा आतंकवादी हमला बढेको तथ्य बाहिरिएको छ। साउथ एसिया टेरोरिज्म पोर्टलले तालिबानको कब्जापछि पाकिस्तानमा आतंकवादी हमला बढेको तथ्य सार्वजनिक गरेको हो। 

पोर्टलको नयाँ रिपोर्टअनुसार पछिल्लो एक महिनामा पाकिस्तानमा आतंककारी हमला चार वर्षयताकै उच्च रहेको छ। 

ब्लुमवर्ग न्यूज एजेन्सीले गरेको पछिल्लो समीक्षाअनुसार तालिबानले काबुल कब्जा गरेपछि अर्थात् अगष्टमा मात्र पाकिस्तानमा कम्तिमा ३५ आतंककारी हमला भएका छन्। सो हमलामा ५२ सर्वसाधारणले ज्यान गुमाएका छन्। जुन सन् २०१७ फेब्रुअरीभन्दा यताकै उच्च हो। 

सबै हमलाको जिम्मा पाकिस्तानी तालिबान भनेर चिनिने टिटीपीले लिएको थियो। 
०००

उत्तर कोरियाले युएनलाई भन्यो, ‘परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन’
प्योङयाङ
: उत्तर कोरियाले आफुहरुको परमाणु हतियार परीक्षणमा कसैले रोक लगाउन नसक्ने बताएको छ। आत्मारक्षाका लागि परमाणु हतियार परीक्षणमा आफुहरुको हक रहेको भन्दै त्यसमा कसैले रोक लगाउन नसक्ने बताएको हो। 

उत्तर कोरियाली दूत किम सोङले संयुक्त राष्ट्रसंघको ७६ औं वार्षिक महासभामा बोल्दै परमाणु हतियार उत्पादन गर्ने मुलुकसँग हतियार परीक्षण हक हुने बताएका छन्। ‘हामीले ढुक्कसँग आफ्नो मुलुकको रक्षा र शान्तिको लागि भर्खर मात्रै परमाणु र सैन्य हातहतियारहरु निर्माण गरिरहेका छौँ। आफूले उत्पादन गरेका परमाणु हतियार परीक्षण गर्ने हक हामीसँग छ’, उनले भनेका छन्। 

किम न्यूयोर्कस्थित जारी सो महासभामा छोटो समयका लागि उपस्थित थिए। दक्षिण कोरियाली सैनिकले उत्तर कोरियाले जथाभावी परमाणु र क्षेप्यास्त्र परीक्षण गरेको भनेपछि दूत किमले जवाफ फर्काएका थिए। 

उत्तर कोरियाले मंगलबार बिहानै पूर्वी सामुद्रिक तटीय क्षेत्रमा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो। 
०००

इजिप्टमा संसारकै ठूलो फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा 
कायरो
: इजिप्टका राष्ट्रपति अब्देल फताहा एल सिसीले संसारकै ठूलो फोहोर पानी प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) को उद्घाटन गरेका छन्। ‘बहर एल बाकर’ नामक सो प्रशोधन केन्द्रको राष्ट्रपतिले मंगलबार उद्घाटन गरेका हुन्। 

करिब १.२७ बिलियन अमेरिकी डलर लागतमा निर्माण भएको सो प्लान्टसँग दैनिक ५.६ मिलियन क्युविक मिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता रहेको बताइएको छ। 

प्रशोधित पानी कृषि र सिचाईँको लागि प्रयोग गर्न सकिने बताइएको छ।
००० 

भारतमा कोभिड मृत्युदर घट्यो 
नयाँ दिल्ली
: भारतमा कोभिड १९ को डेल्टा भेरियन्टका कारण हुने दैनिक मृत्युदरमा कमी आएको छ। मंगलबार सार्वजनिक एक रिपोर्टअनुसार पछिल्लो ६ महिनायता भारतमा कोभिड १९ का कारण हुने दैनिक मृत्युदरमा कमी आएको हो। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण १७९ को मृत्यु भएको छ। जुन संख्या मार्च महिनायताकै न्यून हो। 

भारतमा मध्य मार्चसम्ममा मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ३७३ पुगेको थियो। भारतमा पछिल्लो समय दैनिक संक्रमणदर समेत उल्लेखनिय रुपमा घटेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा २०१ दिनपछि दैनिक संक्रमितको संख्या २० हजारमुनि छ। जुन हालसम्मकै कम हो। मार्चसम्म कोरोना संक्रमितको संख्या ३ करोड ३७ लाख रहेको छ। 

यसअघि भारतमा दैनिक संक्रमण ४ लाखभन्दा बढी हुने गरेको र कोभिडका कारण ४ हजार ५ सयको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ।
०००

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोभिडविरुद्धको खोप
वासिङटन
: अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडविरुद्धको खोप लगाएका छन्। अमेरिकामा गत हप्ता वृद्धवृद्धाहरुले खोप लगाउने अनुमति पाएसँगै ७८ वर्षीय बाइडेनले सोमबार कोभिडविरुद्धको खोप लगाएका हुन्। 

अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम विभागले गत शुक्रबार ६५ वर्षभन्दा माथिका र विभिन्न स्वास्थ्य समस्या भएका मानिसलाई कोभिड १९ विरुद्ध फाइजरको बुस्टर (तेस्रो) डोज दिन पाउने अनुमति दिएको थियो। दोस्रो डोज लगाएको ६ महिनापछि बुस्टर लगाउन स्वीकृति दिएको थियो। 

सो स्वीकृति पाएसँगै बाइडेनले पनि फाइजरको तेस्रो डोज लगाएका हुन्। 

विभागका अनुसार ५० देखि ६४ उमेर वा सोभन्दा माथिका मानिसमा क्यान्सर, मधुमेहजस्ता समस्या भएमा तेस्रो डोज खतरा मानिएको थियो। 
०००

चीनबाट अमेरिकी दिदीभाइ तीन वर्षपछि रिहा
वासिङटन
: दुई अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा भएका छन्। हुवावेई कम्पनीकी वित्त प्रमुख मेङ वान्जुलाई क्यानडाले रिहा गरेको केही दिनपछि चीनले अमेरिकी दिदीभाइलाई पनि रिहा गरेको हो। 

सिन्थिया र भिक्टोर लिउलाई चीनले रिहा गरेको अमेरिकी अधिकारीले बताएका छन्। 

सन् २०१८ मा चीन भ्रमणमा रहेका दुई अमेरिकी दिदीभाइ चीन सरकारले पक्राउ गरेको थियो। उनीहरुको बुवालाई चीन सरकारले ठगीको आरोपमा फरार अपराधीको रुपमा राखेको थियो। आमा र बुवा दुवै मिलेर ठगी अपराध गरेको भन्दै दुई दिदीभाइलाई चीनले थुनामा राखेको थियो।  

यसअघि चीनले दुई क्यानडेली नागरिकलाई समेत १ हजार दिनपछि रिहा गरेको थियो। 
०००

नाइजेरिया हमलामा दर्जनौको मृत्यु
काडुना
: उत्तर पश्चिमी नाइजेरियामा भएको छुट्टाछुट्टै आक्रमणमा परी दर्जनौ मानिसको मृत्यु भएको छ। काडुना राज्यमा भएको तीन वटा छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ३४ मानिसको मृत्यु भएको हो। 

बन्दुकधारीले काडुमा राज्यस्थित माडामाई गाउँमा आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। आक्रमणमा परी ३४ स्थानियको मृत्यु भएको र ७ भन्दा बढी घाइते भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.