तिम्ल्याहा हुर्काउन हम्मे

तिम्ल्याहा हुर्काउन हम्मे

झापा : आँखा अगाडि तिम्ल्याहा छोराछोरी खेलिरहँदा झापाको मेचीनगर–९ धुलाबारीकी निर्मला रिजाललाई आफू संसारकै भाग्यमानी जस्तो लाग्छ। तर, तिनै सन्तानलाई आफ्नो स्तनपान गराउन नपाउँदा भने उनी खिन्न छिन्। अनेकौं चिकित्सकीय प्रयासका बाबजुद पनि निर्मलाको स्तनबाट दूध नआउँदा समस्या भएको हो। उनले जन्माएका तिम्ल्याहा कलिला सन्तान बजारबाट ल्याइएको प्याकेटको दूधमा निर्भर छन्।

‘मेरो शरीरमा पहिल्यैदेखि कुनै खराबी थियो वा तिम्ल्याहा जन्मिएर हो, दूध आउँदै आएन,’ निर्मलाले भनिन्, ‘बच्चालाई आफ्नो दूध चुसाउन नपाउँदा मन खिन्न हुँदो रहेछ।’ अनेक प्रयास गर्दा पनि दूध नआएपछि ‘फर्मुला मिल्क’ नामक प्याकेटको दूध खुवाउने गरिएको छ। दूध किन्न मात्रै रिजाल दम्पतीले दैनिक एक हजार रुपैयाँसम्म खर्चिनु पर्छ। बजारको दूध आमाको जस्तो पोषिलो हुँदैन। यसले बच्चाहरू बिरामी पर्ने समस्या धेरै देखिएको रिजालको अनुभव छ।

अनेक कष्ट सहेर तिम्ल्याहा सन्तानलाई जन्म दिइरहँदा निर्मलाले ‘अभूतपूर्व सङ्घर्ष’ को अनुभव सँगालेकी छन्। छेउमा बसेर उनीहरूलाई भुलाउँँदै गरेकी निर्मला आँखा अगाडि छुनुमुनु खेलिरहेका तिम्ल्याहा सन्तानलाई हेरेर आफ्ना सबै पीडा बिर्सिन्छिन्। उनीहरू गत असोज ४ गते एक वर्ष उमेर पार गरे। ‘बिरलै देखिने तिम्ल्याहा सन्तान प्राप्तिको सौभाग्य मैले पाएँ,’ निर्मलाले भनिन्, ‘विदेशतिर तिम्ल्याहा जन्मिएको सुनेकी थिएँ। हाम्रो सात पुस्तामा पनि यस्तो भएको कसैले सुनाएन।’

दाजुभाउजु र बुवाको सहयोगमा तीनै सन्तान हुर्काइरहेको निर्मलाका श्रीमान् सुरेन बताउँछन्। श्रीमान् श्रीमती व्यावसायिक काममा व्यस्त रहने भएकाले समय व्यवस्थापनमा समस्या परिरहेको छ। ‘सुरुमा धेरै गाह्रो भयो। विस्तारै बानी लागेको छ,’ सुरेनले भने, ‘अब त एक वर्षका भए। हुर्काउन सजिलो होला।’

२०७७ असोज ४ गते २५ वर्षीया निर्मलाले बिर्तामोडको मनमोहन अस्पतालमा साइमनजङ्ग, साइना र सियोनजङ्ग रिजाललाई जन्म दिएकी हुन्। साइना र साइमनको तौल २ किलो थियो भने सियोनजंग १ किलो ६ सय ग्रामका थिए। उमेरअनुसार उनीहरूको तौल वृद्धि सन्तोषजक छ। ३ पटकसम्म गर्भ जाँच गर्दा डा.एकराज गौतमले पेटमा जुम्ल्याहा सन्तान रहेको बताएपछि रिजाल दम्पतीमा खुशीको सीमा रहेन। चिकित्सकको सल्लाहअनुसार रिजाल परिवारले निर्मलाको खानपान र स्याहारमा विशेष ध्यान दियो। ७ महिना पुगेपछि निर्मलालाई धेरै पीडा महसुस भयो। पेट बढ्दै जाँदा बच्चा चलेको अनुभव कम हुँदै गएपछि उनले अर्काे स्वास्थ्य संस्थामा फेरि जाँच गराइन्। 

जब डाक्टरले तीनवटा बच्चा रहेको सुनाए तब रिजाल दम्पती छाँगाबाट खसे। आमा र बच्चाको स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतीले उनीहरूलाई हदैसम्म पिरोल्यो। ‘तीनवटा छन् भन्ने सुनेपछि मेरो त होसहवास उडेको थियो। केही सोच्नै सकिनँ,’ निर्मलाले भनिन्,’ ‘मरिन्छ कि भन्ने पीरले धेरै दिन रोएँ। तर, परिवारले हौसला दिए।’ चिकित्सकको सल्लाहअनुसार ३५ हप्तामा शल्यक्रियामार्फत निर्मलाले तीन सन्तानलाई जन्माइन्। अहिलेसम्म उनीहरूमा कुनै स्वास्थ्य समस्या देखिएको छैन। सामान्यतया तिम्ल्याहाको रुचि र स्वभाव एउटै हुन्छ भनिन्छ। तर, उनीहरूको रुचि र स्वभाव भिन्न छ। खाने, सुत्ने र उठ्ने समय अलग–अलग छ। एउटा हाँस्दा अरू दुई रोइरहेका हुन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.