मोक्षभूमिलाई पद्मश्री, साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई

मोक्षभूमिलाई पद्मश्री, साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई

काठमाडौं : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई प्रदान गर्ने भएको छ। ‘मोक्षभूमि’ उपन्यासमा लेखकले झन्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्। जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, संघर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ। 

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसंगीत तथा भजन गायनमा महत्वपूर्ण  योगदान पुर्‍याएका गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ। २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा सांघातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लागेको थियो। १६ वर्षको छोटो संगीत साधनाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्। 

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशि तीन लाख रुपैयाँ रहेको छ। २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। यस्तै २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम् परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.