रेबिजलाई खेलाँची नठानौं
कुकुर घरपालुवा जनावर हो। तर, आजभोलि घरभन्दा बाहिर यसको संख्या बढी देखिन्छ। गल्ली, चोक र सडकमा जताततै हुलै भेटिन्छन्। मान्छेले हेला गरेर सडकमा पुर्याइदिँदा आज्ञाकारी/बफादारी यो जनावर हिंस्रक बन्दै गएको छ। सवारी दुर्घटनाको मुख्य कारण बन्दै छ। जथाभावी सवारी चलाएर चोट पुर्याउने, उसलाई असुरक्षित महसुस गराउने, देख्नेबित्तिकै जिस्क्याउने गरेका कारण कुकुर आक्रामक बनेको हुन्छ। रातको समयमा मोटरसाइकल वा पैदलयात्री देख्नेबित्तिकै आक्रमणमा उत्रन्छ। कतिपय यात्री कुकुरको टोकाइमा पर्ने गरेका छन् । कतिपय मोटरसाइकल चालक दुर्घटनामा पर्ने गरेका छन्। काठमाडौंका मुख्य र भित्री सडक कुकुरकै कारण साँझ/रात यात्रा गर्न असुरक्षित बन्दै छन्। प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाको मुख्य कारण यही हो।
कुकुरको टोकाइ असह्य हुन्छ नै, उपचारमा हेलचेक्र्याइँ गर्दा अनाहकमा ज्यान गुमाउनुपर्छ। कुकुरबाट प्राणघातक रेबिज रोग सर्छ। कुकुरले टोकेपछि डिटोल पानीले धुने र टिटानस सुई लगाउने गरिन्छ। यसले हाम्रो ज्यान जोगिन सक्दैन। सामान्य उपचार गरेर निको पार्ने गरिएका कारण रेबिजबाट बर्सेनि ठूलो संख्यामा मान्छेको ज्यान गइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ। कुकुरले टोकिसकेपछि रेबिजसँग डराउनु हुँदैन। यो सत्य हो, यसलाई भोग्नुपर्छ। रेबिजको खोप लगाउन तत्कालै अस्पताल जानै पर्छ। खेलाँची सम्झे ज्यान जान सक्छ। सडकमा कुकुरको संख्या बढ्दै गए पनि काठमाडौं उपत्यकाका नगर र महानगरपालिकासहित सरोकारवाला चुप छन्। छाडा कुकुरलाई रेबिजविरुद्धको सुई लगाइदिने, निश्चित ठाउँमा व्यवस्थापन गर्ने, सडकमा कुकुरको संख्या घटाउन बन्ध्याकरण गर्ने लगायतका उपाय अवलम्बन गर्ने र सडक दुर्घटना कम गराउनेतिर महानगरपालिका र सम्बन्धित स्थानीय सरकारको ध्यान जान जरुरी छ।
काठमाडौं महानगरपालिका अनुसार काठमाडौंका सडकमा २२ हजार कुकुर छन्। तीमध्ये केहीलाई रेबिजविरुद्धको सुई दिइएको छ। तर समूहमा मिसिएका कारण कसलाई यस्तो सुई दिइएको हो र कुन छुटेको छ भन्ने अनुमान लगाउन गाह्रो छ। सडक/गल्लीमा कुकुरको जुलुस निस्कने, बटुवा असुरक्षित महसुस गर्ने अवस्थाले राजधानीकै सौन्दर्य बिग्रिन जान्छ। देशविदेशबाट आउने पर्यटकले कुकुरबाटै असुरक्षित महसुस गर्नु पक्कै युग सुहाउँदो होइन। यसतर्फ महानगरपालिका, ट्राफिक प्रहरी, सामाजिक संघसंस्था र पशुपक्षी संरक्षणकर्मीको ध्यान जान जरुरी छ। हिन्दू धर्मावलम्बीहरू कुकुरलाई भगवान्को दूतको रूपमा मान्छन्। तिहारमा यसको पूजा नै गरिन्छ। तर आजभोलि हामीले कुकुरलाई सडकको ‘छाडा’ पशु बनाएका छौँ। हेलाको पात्र बनाएका छौं। उसको संरक्षण र सम्वद्र्धनभन्दा पनि बेवास्ताको शिकार बनाइरहेका छौं। आज्ञाकारी जनावरको महŒवलाई बिर्संदै गएका छौँ।
सभ्यताको विकासदेखि नै कुकुर र मान्छेबीच अन्योन्याश्रित सम्बन्ध छ। मान्छेसँग सजिलै घुलमिल हुने, भावनात्मक सहयात्री हुनेदेखि अपराध अनुसन्धानको अभिन्न अंगका रूपमा कुकुर जोडिन्छ। तर सडकमा छोडेर यसलाई अलपत्र पार्दा एकातिर यसको महŒव बुझ्न छोडेका छौं भने अर्कोतर्फ ‘काल’ निम्त्याइरहेका छौं। कुकुरले कुकुरलाई टोक्दा पनि रेबिज सर्छ। त्यस्ता कुकुरले मान्छेलाई टोक्यो भने त्यसमा पनि रेबिज सर्छ। पशु स्वास्थ्य संगठनका अनुसार रेबिजबाट विश्वमा प्रत्येक ९ मिनेटमा एक जनाको ज्यान जान्छ। प्रत्येक वर्ष ६० हजारको मृत्यु हुन्छ। नेपालमा ६ वर्षयता मात्र रेबिजबाट ८७ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ। कुकुरले टोके पनि अस्पताल आउने बानी नभएका कारण मृतकको संख्या बढी हुने अनुमान छ। सरकारले नागरिकले अनाहक रूपमा दुःख पाउने र ज्यानै गुमाउने अवस्था आउन नदिने प्रयासमा अब ढिला नगरोस्।