कोरोना संक्रमण जोखिम कायमै

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं:कोरोना भाइरस संक्रमितको संख्या घटेपनि संक्रमणको जोखिम कायम रहेको विज्ञहरुले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नगरे संक्रमितको संख्या बढ्न गइ पुनःतेस्रो लहरको जोखिम आउन सक्ने विज्ञहरु ‌औंल्याएका छन्।

अहिले अधिकांश क्षेत्र खुलिसकेका छन् । यातायात, विद्यालय, सरकारी कार्यालय, संघ संस्थाहरु,होटेल, बार खुलिसकेका छन् । तर, ती क्षेत्रहरुमा भौतिक दूरी कायम भएको देखिदैन । जनस्वास्थ्य विज्ञहरुका अनुसार मास्कको समुचित प्रयोग र भौतिक दूरी कायम नै कोरोना संक्रमणबाट बच्ने अचुक उपाय हुन् ।

नेपालमा पहिलो पटक २०७६ माघ १० गते चीनबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म देशभर ८ लाख ९२ हजार ३०९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांकअनुसार पीसीआर परीक्षणबाट ७ लाख ९३ हजार २०१ जनामा र एन्टीजेन परीक्षणबाट ९९ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुले कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने हुन्छ । तर, कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी नहुँदा कोरोना परीक्षण गर्न आएकाहरुको मात्रै परीक्षण गर्ने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले भदौ महिनामा ४५ हजार ७२६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको थियो । तर, मन्त्रालयको प्रक्षेपणभन्दा थप १३ हजार ५२६ संक्रमित थपिएका छन् । 

भदौमा मात्रै ५९ हजार ३२० नयाँ संक्रमित थपिएका हुन् । यस्तै, असोजमा स्वास्थ्य मन्त्रालयले ३८ हजार ५९७ संक्रमित थपिने आँकलन गरेको थियो । असोज १२ सम्मको तथ्याकंअनुसार १४ हजार २२३ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा ८४२० संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । यसरी हेर्दा प्रत्येक एक घण्टामा ५० जना संक्रमित थपिने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले तत्काल भौतिक उपस्थितिसहितका क्रियाकलाप नगर्न भनेपनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिसहित गतिविधिलाई खुकुलो बनाएको थियो ।

विज्ञ के भन्छन् ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेल संक्रमण जोखिम अझै नटरेको बताउँछन् । उनले भने, ‘संक्रमण जोखिम कायम नै छ । मास्कको समूचित प्रयोग र भौतिक दूरी कायमलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्तै सरसफाइमा पनि ध्यानदिनुपर्छ । सकभर घुलमिल गर्नु्हुँदैन।’

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले लहर आउन सक्ने बताए । उनले भने,‘मलाई तेस्रो, चौथो, पाँचौं लहरसँग कुनै इन्ट्रेस्ट (रुची) छैन। मलाई भ्याक्सिनसँग इन्टरेस्ट छ । लहर आउनसक्छ । भाइरसको म्युटेसन हुन्छ त्यसले नयाँ भेरियन्ट बन्छ । हरेक भेरियन्ट खराब हुँदैनन् । तर, डेल्टाजस्तो घातक भाइरस पनि आउँदो रहेछ भन्ने कुरा हामीले सिक्नुपर्छ। आउनैपर्छ भन्ने छैन आउनसक्छ। ’

उनले अब संक्रमण बढे 'ब्रेकथ्रू’ केसमा जान सक्ने बताए । उनले भने, ‘अब दोस्रो लहरजस्तो नबनोस् भनेर भ्याक्सिनलाई महाअभियानका रुपमा लिनुपर्छ । सुरक्षित तरकाले खोप उपलब्ध गराउनुपर्छ। लहरसँग तर्सिहाल्नुपर्ने अवस्था छैन । हाम्रो उद्देश्य भ्याक्सिन बढीभन्दा बढीलाई लगाउनुपर्छ भन्ने हुनुपर्छ।’

परीक्षण घट्दा संक्रममित न्युन

सरकारले परीक्षणको दायरा बढाएको बताएपनि केहि दिनयता परीक्षण दर घटेको छ । गत बुधबारदेखि हिजो मंगलबारसम्म ९८ हजार ६६९ जनाको मात्रै कोरोना परीक्षण भएको छ। यसरी हेर्दा प्रत्येक दिन १४ हजार ९५ जनाको कोरोना परीक्षण भएको देखिन्छ । सरकारी ५८ र निजी ४१ प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । कोरोना संक्रमणदर अहिलेपनि १८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

९ जिल्ला अझै ‘रेडजोन’मा

अहिलेपनि ९ जिल्लामा ५०० बढि सक्रिय संक्रमित छन् । जसअन्तर्गत् प्रदेश १ मा मोरङ, सुनसरी र झापा, बागमति प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर  मकवानपुर, गण्डकी प्रदेशमा कास्की र लुम्बिनी प्रदेशमा रुपन्देही रहेका छन् ।

३६४ जना आइसीयूमा १२० भेन्टिलेटरमा

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका अस्पतालमा ३६४ जना आइसीयूमा उपचाररत छन् भने १२० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत भदौ २ मा आइसीयूमा ७७० जना र एक सय ८६ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

मृत्यु हुनेको संख्या घट्दै

पछिल्लो एक हप्तालाई आधार मान्दा प्रत्येक दिन ८ जना संक्रमितको मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ६२ जनाको संक्रमणबाट मृत्यु भएको छ । गत भदौमा ६७५ संक्रमितको मृत्यु भएको थियो भने असोज १२ सम्म ११३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार एक सय १५ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित १९ हजार मुनि

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार २५ हजार बढि संक्रमित भए लकडाउन गर्न सकिने व्यवस्था छ। तर, अहिले सक्रिय संक्रमितको संख्या घटेर १८ हजार ४२२ मा झरेको छ । कोरोना संक्रमण बढ्दो क्रममा रहँदा गत जेठ २५ गते सकृय संक्रमितको संख्या ८२ हजार सात सय ३६ रहेको थियो ।  

कतिले लगाए खोप ?

गम्भीर संक्रमण हुन नदिन कोरोनाविरुद्ध खोपले भूमिका खेल्छ । हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । यस्तै पहिलो मात्रा खोप लगाउने ३२ प्रतिशत पुगेको छ । 

नेपालले प्राप्त गरेको १ करोड ७८ लाख ५८ हजार ७१० डोज खोप मध्ये हालसम्म १ करोड २९ लाख ५८ हजार ५०८ डोज खोप लगाइसकिएको छ । हाल नेपालमा कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप उपयोगमा आएको छ ।

स्वास्थ्य मन्त्रालयको अद्यावधिक तथ्याकं अनुसार कोभिसिल्ड २४ लाख ४८ हजार, एस्ट्राजेनेका १९ लाख ७५ हजार ८६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० र भेरोसेल १ करोड १९ लाख मात्रा खोप आएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ६९ लाख ६० हजार ८२८ पुगेको छ । यस्तै दुवै डोज खोप लगाउनेको संख्या ६२ लाख ५ हजार ७७० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.