भारतको सहयोगमा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण
काभ्रे : भारत सरकारको सहयोगमा भुकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेर हस्तान्तरण गरिएको छ। बुधबार, बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौरी देउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितीमार्फत समुदायलाई हस्तान्तरण गरिएको हो।
पूर्व, सञ्चार तथा सूचना प्रविधी मन्त्रि एंव काभ्रे निर्वाचन क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँस्कोटा र भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रुपमा विद्यालय समुदायलाई हस्तान्तरण गरेका हुन्। सो कार्यक्रममा काभ्रे निर्वाचन क्षेत्र नं १ का संघीय सांसद गंगाबहादुर दोङ, बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं वादेको उपस्थितीमा समुदायलाई हस्तान्तरण गरिएको हो।
भारत सरकारले सहयोगममा काभ्रेमा ६ वटा विद्यालयलाई आवश्यक रहेको भवनसँगै शौचालय, कम्पाउण्ड, फर्निचरको लागि २५ करोड भन्दा धेरै लगानी गरेको छ।
विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै काभ्रेमा पूर्व मन्त्रि गोकुल बाँस्कोटाले प्रजातन्त्र स्थापना गर्नुभन्दा पहिला नै स्थापना भएको विद्यालयको भारत सरकारको सहयोगमा पुनःनिर्माण भएर हस्तान्तरण हुनु खुसीको कुरा भएको बताए।
अप्ठारोमा परेको समयमा भारत सरकारले ऐतिहासिक विद्यालयको पुनःनिर्माण गरेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। यी विद्यालयहरु पनि यसै योजनाअन्तर्गत निर्माण भएका हुन्। यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन्। हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ।
भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तवले भारत सरकारले सहयोग गरेर बनेको विद्यालय भवन सांसद बाँस्कोटाको उपस्थितीमा हस्तान्तरण गर्न पाउनु खुसीको बिषय रहेको बताए। नेपाल र भारतको सम्बन्ध पुरानो मात्रै नभएर अटुट तथा बहुआयमिक भएको समेत बताए।
भारत जहिले पनि आफ्नो मित्र नेपालसँगको विकासमा साझोदारी गरेर अघि बढ्ने बताउँदै श्रीवास्तवले भारत सरकारले सदैव नेपाल र नेपालीसँग काँधमाकाँध मिलाएर अघि बढ्ने स्पष्ट पारे।
नेपालमा सन् २०१५ मा भुकम्प आएपछि एक अर्ब डलर रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता अनुसार शिक्षा, समुदाय, आवास, स्वास्थ्य पूर्वाधार, साँस्कृतिक सम्पदाको विकास गराउने लक्ष्यअनुसार सहयोग गरेको बताए।