इक्वेडोरको जेलमा भएको दंगामा २४ कैदीको मृत्यु, हवाई क्षेत्रमा ड्रोन नचलाउन अमेरिकालाई तालिबानको चेतावनी

इक्वेडोरको जेलमा भएको दंगामा २४ कैदीको मृत्यु, हवाई क्षेत्रमा ड्रोन नचलाउन अमेरिकालाई तालिबानको चेतावनी

तालिबानले अमेरिकालाई अफगानिस्तानको हवाई क्षेत्रमा ड्रोन नचलाउन चेतावनी दिएको छ। निरन्तरको आग्रहलाई बेवास्ता गर्दै ड्रोन चलाइरहे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएको हो। बुधबार ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री भएको खबरले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पायो। थाइल्यान्डमा ७० हजार घर डुबेको, विश्व स्वास्थ्य संगठनका २० कर्मचारीमाथि यौन शोषणको आरोप लागेको लगायतका खबर आज दिनभर चर्चामा रहे। 

०००

ट्युनिसियाले पायो देशको पहिलो महिला प्रधानमन्त्री 

ट्युनिसिया : ट्युनिसियाले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ। विश्व बैंकमा समेत काम गरेकी एवम् विश्वविद्यालयकी इन्जिनियरसमेत रहेकी नज्ला बौडेन रोमधाने ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। 

ट्युनिसियामा करिब दुई महिना लामो ‘कू’ अन्त्य गरी राष्ट्रपति केइस साइदले बुधबार रोमधानेलाई ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्रीको पदमा नियुक्त गरेका हुन्। 

नवनियुक्त प्रधानमन्त्री रोमधानेले राष्ट्रिय संकटका बिच पदारोहण गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रपतिले गत जुलाईमा तत्कालिन प्रधानमन्त्रीलाई पदच्युत गर्दै आफूले सत्ता कब्जामा लिएका थिए।
०००

अमेरिकी ड्रोनलाई अफगानिस्तान प्रवेशमा रोक लगाउने तालिबानको चेतावनी 
काबुल : तालिबानले अमेरिकी ड्रोनलाई अफगानिस्तान प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ। यदि अमेरिकाले अफगानिस्तानको हवाई क्षेत्रमा ड्रोन उडाउन नछोडेमा परिणाम नराम्रो हुने भन्दै तालिबानले बुधबार चेतावनी हो। 

‘अमेरिकाले कतारमा तालिबानसँग अफगानिस्तानमा कुनैपनि ड्रोन परिचालन नगर्ने प्रतिबद्धता जनाएको थियो। अमेरिकाले आफ्नो प्रतिबद्धतासँगै अन्तर्राष्ट्रिय कानुन र अधिकारको उल्लंघन गरिरहेको छ’, तालिबानले ट्वीटरमार्फत भनेको छ, ‘यदि अमेरिकाले अबदेखि यस्तोखाले गतिविधि रोकेन भने परिणाम नराम्रो हुनेछ।’

तलिबानले जारी गरेको वक्तव्यप्रति अमेरिकाले भने हाल कुनै प्रतिक्रिया जनाएको छैन। 
०००

जापानमा फुमियोले सत्तारुढ पार्टीको चुनाव जिते, नयाँ प्रधानमन्त्री बन्ने पक्का
टोकियो
: जापानका पूर्व मन्त्री फुमिओ किशिदाले बुधबार सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको चुनाव जितेका छन्। सो जित हासिल गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने पक्का भएको छ। 

बुधबार भएको चुनावमा किशिदाले २५७ भोटले जितेका थिए। उनले जापानमा लोकप्रिय मानिएका भ्याक्सिन मन्त्री तारो कोनोलाई हराएका थिए। 

६४ वर्षीय किशिदाले प्रधानमन्त्री योशिहिडे सुगाको पद सम्हाल्नेछन्। यसअघि सुगाले सेप्टेम्बर २९ मा पार्टी प्रमुख चुनिएसँगै आफुले पद छोड्ने घोषणा गरेका थिए।
००० 

खोप अस्वीकार गर्ने ६ सय कर्मचारी बर्खास्त
वासिङन
: अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले कोरोनाविरुद्धको खोप अस्वीकार गर्ने करिब ६ सयभन्दा बढी आफ्ना कर्मचारीलाई बर्खास्त गरेको छ। विमान कम्पनीको नीतिअनुसार खोप लगाउन असमर्थ भएको भन्दै सो कम्पनीले ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको हो। 

सबैभन्दा बढी कर्मचारी भएको विमान कम्पनी युनाइटेड एयरलाइन्समा हाल ६७ हजार कर्मचारी कार्यरत छन्। सबै कर्मचारीहरुले सोमबारसम्म खोप लगाइसकेको प्रमाण कम्पनीसमक्ष पेश गर्ने गरी समय तोकिएको थियो। 

खोपका लागि र खोप लगाइसकेपछि प्रमाण पेश गर्न असफल रहेका करिब ६ सय कर्मचारीलाई कम्पनीले बर्खास्त गरेको बीबीसीमा समाचार छ। 

आफुहरुको नीतिनियम विपरीत जाने जुनसुकै कर्मचारीलाई बर्खास्त गर्ने अधिकार आफूहरुसँग भएको कम्पनीले जनाएको छ। 
०००

बेलायतमा घरमा जडित ‘ग्यास बोइलर’ले दोब्बर कार्बन उत्सर्जन गर्छ : अध्ययन 
लन्डन
: बेलायतमा लाखाँैको संख्यामा प्रयोग हुने घरमा जडित होम ग्यास बोइलर (वातानुकुलित)ले दोब्बर कार्बन उत्सर्जन गर्ने एक अध्ययनले देखाएको छ। देशभर सञ्चालित अन्य पावर स्टेशनको तुलनामा घरमा प्रयोग हुने ग्यास बोइलरले दोब्बर मात्रामा कार्बन उत्सर्जन गर्ने सीबीआईको अध्ययनले देखाएको हो। 

अध्ययनकर्ताहरुका अनुसार अन्य पावर स्टेशनको तुलनामा होम ग्यास वोइलरबाट ८ गुणा बढी नाइट्रोजन अक्साइड ग्यास उत्सर्जन हुन्छ। यति मात्र नभई दोब्बर मात्रामा कार्बन उत्सर्जन गराउँछ। कार्बन र नाइट्रोजन ग्यासले वायु प्रदुषण र पृथ्वीको तापक्रम वृद्धिमा ठूलो योगदान पुर्‍याउँछ। 
०००

इक्वेडोरको जेलमा दंगा, कम्तिमा २४ कैदीको मृत्यु
ग्वायाकिल
: इक्वेडोरको एक जेलभित्र दंगा हुँदा कम्तिमा २४ कैदीको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन्। जेलभित्र बन्दुक बोकेका र अन्य समूहबीच दंगा हुँदा सो घटना भएको इक्वेडोरको नेसनल ब्युरो अफ प्रिजनले जनाएको छ। 

सो दंगामा बन्दुक, चक्कु, विस्फोटक पदार्थ आदि प्रयोग भएको अधिकारीहरुले जनाएका छन्। 

ग्वायस राज्य प्रमुख पाब्लो एरोसेमेनाले मंगलबार राति भएको सो घटनाप्रति खेद व्यक्त गर्दै भनेका छन्, ‘राज्य र कानुनको उपस्थिति छ भन्ने उनीहरुले बुझ्नुपथ्र्यो। सो घटनापछि त्यहाँको सुरक्षा कडाई गरिएको छ।’
०००

डब्ल्यूएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप
कङ्गो : हालै सार्वजनिक एक रिपोर्टले संयुक्त राष्ट्रसंघ (युएन) सँग जोडिएका यौन दुव्र्यहारको पर्दाफास गरेको छ। युएनअन्र्तगतको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा गठित अनुसन्धान आयोग इन्डिपेन्डेन्ट इन्भेष्टिगेसन कमिसनले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युएनको यौन दुव्र्यहारको पर्दाफास गरेको हो। 

अनुसन्धान आयोगको रिपोर्ट अनुसार डब्ल्यूएचओका कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ। कङ्गोमा कार्यरत डब्ल्यूएचओका २० कर्मचारीमाथि सो आरोप लागेको हो। 

अनुसन्धान आयोगले विश्व स्वास्थ्य संस्थाको प्रतिक्रिया दिँदै मंगलबार करिब ३५ पेज लामो एक रिपोर्ट सार्वजनिक गरेको थियो। सन् २०१८ देखि २०२० सम्ममा ईबोला प्रकोपको क्रममा कङ्गोमा खटिएका डब्ल्यूएचओसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गरेको थियो। 
कङ्गोमा ईबोला प्रकोपको समयमा करिब ८३ भन्दा बढी यौन शोषणका घटना भएको र सो घटनामा संलग्न २० जनाको नाम डब्ल्यूएचओका कर्मचारीहरुसँग जोडिएको रिपोर्टमा उल्लेख  छ। यद्यपि, ती कर्मचारीको नाम भने गोप्य राखिएको छ। 

करिब ८३ वटा घटनाका  पिडितहरुको बयानको आधारमा अनुसन्धान अगाडि बढाइएको थियो। जसअनुसार ईबोला प्रकोपको क्रममा खटिएका डब्ल्यूएचओका कर्मचारीहरुले कङ्गोका युवतीहरुलाई विभिन्न प्रलोभन देखाई यौन शोषण र बलात्कार गर्ने गरेको सो अनुसन्धानले पत्ता लगाएको छ। जसमध्ये ९ वटा बलात्कारका घटना छन् भने बाँकी यौन शोषणका घटना रहेको अनुसन्धानको रिपोर्टमा उल्लेख गरिएको अलजजिरामा समाचार छ। 

डब्ल्यूएचओका कार्यकारी निर्देशक डा. टेड्रोस आधनमले हालै सार्वजनिक सो तथ्यांक डरलाग्दो रहेको बताएका छन्। उनले ईबोलाको समयमा कङ्गोमा खटिएका सबै कर्मचारीको विवरण अनुसन्धानका लागि उपलब्ध गराउने र दोषीलाई कडा कारबाही गर्ने प्रतिज्ञासमेत गरेका छन्। 
०००

थाइल्याण्डमा ७० हजार घर डुबानमा 
बैंकक : तुफानपछि आएको बाढीका कारण उत्तरी र मध्य थाइल्याण्डमा करिब ७० हजार घरहरु डुबानमा परेका छन् भने ६ जनाको मृत्यु भएको छ। तुफानका कारण थाइल्याण्डको उत्तरी र मध्य प्रान्तमा पर्ने क्षेत्रमा सो क्षति पुगेको हो।

थाइल्याण्डको विपद् नियन्त्रण तथा रोकथाम विभागका अनुसार मंगलबार आएको बाढीका कारण ७० हजारभन्दा बढी घरहरु डुबानमा परेका छन् भने ६ जनाको मृत्यु भएको छ। तीब्र तुफानका कारण थाइल्याण्डको राजधानीसहित करिब ३० प्रान्तहरु सबैभन्दा बढी प्रभावित भएका छन्। 

तुफानपछिको बाढीका कारण चाओ फ्राया नदीको सतह बढेको थियो भने ४०० किलोमिटर हावाको वेगमा नदीको पानी बैंकक हुँदै अन्य क्षेत्रतर्फ फैलिएको थियो। 

यसअघि सन् २०११ मा तुफानपछि आएको विनाशकारी बाढीका कारण थाइल्याण्डमा ५ सय मानिसको मृत्यु भएको थियो। 

सो तुफान अझै केही दिनसम्म जारी रहने भन्दै सरकारले स्थानियलाई सतर्क रहन आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.