निपाह भाइरस : संक्रमणबाट कसरी जोगिने, उपचार र परीक्षण कसरी गर्ने ?

निपाह भाइरस : संक्रमणबाट कसरी जोगिने, उपचार र परीक्षण कसरी गर्ने ?

कोरोना महामारी रहेकै समयमा निपाह भाइरसको अर्को त्रास थपिएको छ। यो नयाँ भाइरस नभएपनि यसको निश्चित उपचार भने छैन। यो भाइरस सन् १९९९ मा मलेसियाको सुँगुर फार्मबाट पत्ता लागेको थियो। यो भाइरसविरुद्धको खोप पनि बनिसकेको छैन। संक्रमणको दृष्टिले तुलनात्मकरुपमा यो नयाँ किसिमको रोग हो। यो भाइरस हरेक वर्षजसो भारत र बंगलादेशमा देखिने गर्छ। संक्रमित १० जनामध्ये ७ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको सरुवा रोग विशेषज्ञले बताएका छन्। यस रोगबाट ४० देखि ७५ प्रतिशतसम्म मृत्यु हुनेगरेको अनुसन्धानहरुले देखाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि महामारी ल्याउन सक्ने १० प्राणघातक रोगमध्ये निपाह भाइरसलाई एक मानेको छ। यो भाइरस ‘फ्रुट ब्याट’ प्रजातिको चमेरोबाट सर्ने गर्छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि यो भाइरसले मस्तिष्कमा असर गर्ने भएकाले मृत्यु दर उच्च रहेको अनुसन्धानबाट खुल्न आएको छ। छिमेकी मुलुक भारतमा निपाह भाइरस संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला सीमाका कारण जोखिम उच्च रहेको भन्दै ७ वटै प्रदेशका अस्पताललाई निर्देशन दिइसकेको छ। नेपालमा यो भाइरस पुष्टि भएको छैन। भारतको केरेला राज्यमा फैलिएको यो भाइरसबाट मानिसले ज्यान गुमाइसकेका छन्।

नेपालमा यसको जोखिम कतिको छ ? यसबाट जोगिन के–कस्ता पूर्वसावधानी अपनाउनुपर्छ ? के आत्तिइहाल्ने बेला भइसक्यो ? कोरोनाजस्तै ह्वात्तै यो रोग व्यापक भइहाल्ने त होइन ? यस्ता संक्रमक रोगहरूलाई नजिकबाट नियालेर विज्ञता हाँसिल गरेका छन् डा.शेरबहादुर पुनले। कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा डा.पुनले अग्रपंक्तिमा रहेर काम गरे, गरिरहेका छन्। संक्रमितको उपचारको मुटु मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनी निरन्तर खटिरहेका छन्। संक्रमण रोकथाममा जनचेतना फैलाउन उनको अग्रणी भूमिका छ। प्रस्तुत छ, निपाह भाइरस, उपचार, उपचारको तयारी, जोखिम र कोरोनाको पछिल्लो अवस्था लगायतबारे टेकु अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनसँग अन्नपूर्णकर्मी मीना सिंहले गरेको कुराकानीः

निपाह भाइरस के हो ? 

एनआइभी भनिने निपाह भाइरसको संक्रमणबाट देखा परेको यो नयाँ किसिमको रोग हो। यो जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्छ। यो भाइरस खासगरी 'फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। साथै सुँगुर, बङगुर र चमेरोबाट संक्रमण हुन्छ। भाइरसले मस्तिष्क तथा श्वासप्रश्वासमा असर गर्ने भएकाले संक्रमण भएको ४८ घन्टाभित्र बिरामी अस्पतालको बेडमा पुग्नसक्छ भनिएको छ। यो अवस्थामा बिरामीलाई जोगाउन सम्भावना न्युन रहन्छ।

यसको लक्षणहरु ?
ज्वरो आउनु, घाँटी दुख्ने, वान्ता हुनु, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनु यसका मुख्य लक्षण हुन्। यी प्राथमिक चरणका लक्षण हुन्। जब यसले मस्तिष्कमा संक्रमण गर्छ। तब मस्तिष्क सुनिन जान्छ। त्यसपछि भने बिरामी बाँच्न संभावना धेरै कम रहन्छ। २४ घन्टाभित्र बिरामी अचेत हुने वा कोमा जाने संभावना रहन्छ। 

नेपालमा यसको उपचार र परीक्षण गरिन्छ गरिन्न?
नेपालमा यसको उपचार सर्वसुलभ छैन। खासमा यो भाइरसको खोप एवं कुनै औषधिसमेत छैन। लक्षण अनुसार बिरामीको उपचार गरिन्छ। सतर्कता अपनाउनु नै यसबाट बच्ने मुख्य उपाय हो। त्यस्तै संक्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गर्नु हुँदैन। सरसफाइमा विशेष ध्यान दिनुपर्‍यो। पशुपंक्षी बिरामी भएमा सम्बन्धित चिकित्सकलाई जानकारी गरानुपर्यो। लक्षण देखिनेवित्तिकै स्वास्थ्य परीक्षणमा ढिलाइ गर्नु भएन। 

भाइरससम्बन्धी जनचेतना जोगाउन के गर्ने ?
सबैभन्दा पहिलो कुरा नेपालमा भाइरसको पुष्टि भएको छैन। नेपालमा चमेरो कहाँ बस्छ, के खान्छ भन्नेबारे अध्ययन भएपनि संक्रमण परीक्षण भएको छैन। थाइल्यान्ड, म्यान्मारका साथै अन्य देशमा चमेरोमा परीक्षण गर्दा संक्रमण पत्ता लागिसकेको अवस्था छ।

हामीकहाँ परीक्षण खासै सहज छैन। जनचेतना फैलाउन आवश्यक छ। त्यसका लागि नीति तथा निर्देशिक या यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ। स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुपर्छ। निपाह भाइरसबारे बिरामीलाई जानकारी गराउनुपर्छ। चमेरोको बासस्थान नजिकै बस्ने स–साना बालबालिकालाई र स्कुलमा सचेतना जगाउने कार्यक्रम ल्याउनुपर्छ। मानिस मानिसबाट सर्ने भएकाले लक्षण देखा परे उपचारमा ध्यान दिनुपर्छ। ४ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ। निपाह भाइरस संक्रमण स्थानबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ। 

हामीकहाँ चमेरोको बासस्थान कुन कुन ठाउँमा पाइएको छ ?
नेपालको पूर्वदेखि पश्चिम ठाउँमा पाइएको अनुसन्धानले देखाएको छ। काठमाडौं र भक्तपुरमा पनि चमेरोको वासस्थान फेला परेको छ। तर भाइरस छ कि छैन भनेर परीक्षण भएको छैन।

नेपालमा जोखिम ?
उच्च जोखिम छ। हामीकहाँ चमेरोको बासस्थान र समुदाय नजिक छन्। दोस्रो कुरा सुँगुरपालन किसानको मुख्य पेशा छ। त्यसैले किसान उच्च जोखिममा रहेको भनिएको हो। उहाँहरु (किसान)ले जैविक सुरक्षा त्यति अपनाएको पनि देखिदैन। अर्को कुरा, लक्षण लिएर बिरामी अस्पताल जान्छन्। अस्पतालमा परामर्श दिने व्यक्तिहरुले समेत सुरक्षा सतर्कता अपनाएको पाइँदैन। बिरामीको दिसा, पिसाब, रगत जाँचका साथै अन्य परीक्षणमा जुटेका स्वास्थ्यकर्मीहरुले पनि खासै ख्याल गरेको देखिदैन। यस्तो अवस्थामा भाइरस फैलिने संभावना बढी रहन्छ। 

निपाह र कोभिड कसरी छुट्याउने ?

भाइरसहरुको एकअर्कासँग मिल्दोजुल्दो लक्षणहरु मिल्छन् नै। तर, लक्षण देखापरिसकेपछि परीक्षण गराउनुनै बुद्धिमानी हुन्छ। पीसीआर, दिसा, पिसाब, रगत परीक्षण गराउनुपर्छ। निपाह भाइरस तीव्र गतिमा फैलिन सक्ने भनिए पनि कोभिडसँग तुलना गर्दा त्यो गति केही सुस्त देखिएको छ। तर प्राणघातक रोग भएकाले स्वास्थ्य सजकतामा विशेष ध्यान दिनुपर्छ।

प्रसंग बदलौं, यतिबेला नेपालमा कोरोना संक्रमण घटेको हो कि परीक्षण नभएको हो ?
संक्रमण घटेकै हो। कोरोनाको पहिलो लहरको जुन निम्नतम विन्दु थियो त्यतातिर गएको अवस्था हो। र यो ’नेचुरल’ हो। लहर भन्ने कुरा सधैं उत्कर्षमा रहदैन। यो झर्छ। इन्ट्रेस्टिङ कुरा के छ भने दोस्रो लहर अट्किदै झर्दै अट्किदै झर्दै गरेको अवस्था छ। पहिलो लहर त्यस्तो थिएन। अहिले संक्रमितको संख्या घटेको हो। कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति परीक्षण गराउन आउँदैनन्। लक्षण धेरैजनामा देखिन्थ्यो। धेरैजना आउँथे। तर अहिले लक्षण कममा देखिएको छ, परीक्षण गर्ने आउने मानिस पनि कम छन्। 

खोप लगाएकाहरुमा संक्रमण कम देखिएको हो ?
तुलनात्मक रुपमा भ्याक्सिन नलगाएकामध्ये भ्याक्सिन लगाएका संक्रमितमा लक्षण कम देखिएको छ। उनीहरुमा मृत्युको संभावना पनि न्यून छ। भ्याक्सिन लगाएकामा जटिल अवस्था आएको देखिएको छैन। भ्याक्सिनले सतप्रतिशत प्रभावकारिता त हुने होइन। भ्याक्सिन लगाउनु भनेको संक्रमित नहुनु भन्ने होइन। यसले जटिल अवस्था आउनबाट मात्र जोगाउने हो। 

कोरोनाको तेस्रो लहर आउने जोखिम छ ?
मलाई तेस्रो, चौथो, पाँचौं लहरसँग कुनै इन्ट्रेस्ट (रुची) छैन। मलाई भ्याक्सिनसँग इन्टरेस्ट छ। लहर आउनसक्छ। भाइरसको म्युटेसन हुन्छ त्यसले नयाँ भेरियन्ट बन्छ। हरेक भेरियन्ट खराब हुँदैनन्। तर, डेल्टाजस्तो घातक भाइरस पनि आउँदो रहेछ भन्ने कुरा हामीले सिक्नुपर्छ। आउनैपर्छ भन्ने छैन आउनसक्छ। अब भयो भने ’ब्रेकथ्रू’ केसमा जान्छ। अब दोस्रो लहरजस्तो नबनोस् भनेर भ्याक्सिनलाई महाअभियानका रुपमा लिनुपर्छ। सुरक्षित तरकाले खोप उपलब्ध गराउनुपर्छ। लहरसँग तर्सिहाल्नुपर्ने अवस्था छैन। हाम्रो उद्देश्य भ्याक्सिन बढीभन्दा बढीलाई लगाउनुपर्छ भन्ने हुनुपर्छ।

बुस्टर डोज आवश्यक छ ?
आवश्यक पर्न सक्छ। डोज नै तीन डोज। दुईवटा फरक छ। निरन्तर तीनवटा डोज। अर्को बुस्टर डोज। अंग प्रत्यारोपण गरिएका व्यक्तिलाई अमेरिकामा तीन डोज लगाउने भनिएको छ। सबै देशले बनाएका छैनन्। अनुसन्धान भइरहेको छ। दुईवटा डोज लगाइसकेकालाई फेरि इम्युन्युटीपावर अप गराउन बुस्टर डोज लगाउने गरिन्छ। हाललाई सबै नेपालीलाई खोपको व्यवस्था जरुरी छ।

दुईवटा डोज लगाएपछि अर्को डोज किन ?
यसबारे अध्ययन भइराखेका छन्। तर, निष्कर्षमा पुग्न सकेको छैन। त्यसैले यसबारे राष्ट्रिय नीति बनिनसकेको अवस्था छ। विभिन्न मुलुकमा आ–आफ्नै तरिकाले अध्ययन भइराखेका छन्। नेपालले पनि यसबारे अध्ययन गरे हुन्थ्यो जस्तो लाग्छ।

कोभिड महामारीमा काम गर्दाको अनुभव ?

खासमा यो भाइरस हाम्रा लागि नौलो थियो। हामीलाई खासै केही पनि थाहा थिएन। पहिलो कोभिड बिरामीसँग सुरुमा खुलेरै कुरा गरेको थिएँ। तर, भाइरस पुष्टि भएको थाहा पाउँदा एक छिन त लामो सुस्केरा हालेँ। लामै श्वास तानेँ। तर पछि के होला, कस्तो होला ? भन्ने डर लागेन। ती बिरामीमा सबै लक्षण देखिएको थियो। लक्षण अनुसारको उपचार गरिएको थियो। तर, हामीले संसार थर्किराखेको अवस्थामा नेपालमा कोरोनाको सफलतापूर्वक उपचार भयो भनेर भन्न सकेनौं। नजिकबाट गफ गर्नेहरु पनि परैबाट एए, लल भनेर जान्थे। कतिपय मानिस अस्पतालको गेटमा पुग्ने वित्तिकै दगुरेर पर पुगिसकेपछि फर्केर हेर्थे। त्यो देख्दा हामी सानोमा भूत छ भनेपछि अँध्यारोमा दगुरेको याद आउँथ्यो। चाइनाबाट आएका विद्यार्थीहरुलाई ओपीडीमा लहरै राखेर धेरैबेरसम्म काउन्सिलिङ गरेको अझै याद छ। उनीहरु धेरै आत्तिएका थिए। तर हामी सबैजना 'कूल'। किनभने हामीले देख्या थिएनौं। पछि इटलीमा डरलाग्दो गरी भाइरस फैलिएपछि मान्छेहरु त्रर्सिएको याद छ। रेष्टुरेन्टमा चाइनाबाट आएका मानिस देख्यो भने उठेर भागिदिने भन्ने कुरा सुनिन्थ्यो। सुरुमा सहकर्मीहरुले निकै पीडा भोग्नुपर्‍यो। तर, मैले साथीभाइहरुले भोगेजस्तो पीडा त भोगिनँ तर, 'फिल' गरे। बिरामीको उपचारमा खटिदा कहिल्यै थकाइ लागेन। बरु काम गर्ने जाँगर बढेर आयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.