अपांगतामैत्री छैनन् वृद्धाश्रम
काठमाडौं : ‘जबसम्म समाजले अपांगता भएकालाई हेर्ने नजर परिवर्तन गर्दैन तबसम्म हामीमाथिको व्यवहार राम्रो हुँदैन,’ यो गुनासो र पीडासहितको आवाज हो, ६१ वर्षीय अपांगता भएका ज्येष्ठ नागरिक कृष्णहरि लामिछानेको। उनी दृष्टिविहीन (लो–भिजन) हुन्।
काठमाडौं मूलपानीको कागेश्वरी मनोहरा नगरपालिका–६ का लामिछाने ११ वर्षको उमेरमा मात्रै दृष्टिविहीन भएका हुन्। जसले गर्दा उनले अपांगता हुँदा र नहुँदाको दुवै अनुभव संगाले। ‘जबसम्म म देख्ने थिएँ तबसम्म मलाई कसैले केही भनेन। सबैले माया गर्थे,’ उनी भन्छन्, ‘अपांगता भएपछि घरपरिवार, समाज, इष्टमित्र सबैले गर्ने व्यवहार परिवर्तन हुने रहेछ। जुन शब्दमा भनेर साध्य छैन। सहनुबाहेक विकल्प छैन।’
उनलाई सानो छँदा टाइफाइड भएको थियो रे। उनले आमाले भनेको कुरा सम्झिँदै भने, ‘मलाई एक महिनासम्म ज्वरो आयो। विस्तारै आँखको ज्योति गुम्दै गयो रे। तर, अपरेसन गरेपछि अलिअलि देख्ने भएँ।’ उनी दाहिने आँखा देख्दैनन्। देब्रे आँखाले मात्रै अलिअलि देख्न सक्छन्। ‘जे होस् उज्यालो र अँध्यारो भने छुट्याउन सक्छु।’ पेसाले उनी शिक्षक हुन्। भर्खरै शिक्षण पेसाबाट रिटाएर भएका उनी बुढेसकालमा अझै के–कस्ता चुनौती सामना गर्नुपर्ने हो भन्नेमा उनी चिन्तित छन्।
उनको परिवारमा ३ जना छोरी छन्। बुढेसकालमा कतिपय सामान्य ज्येष्ठ नागरिकलाई दुःख पाएको वृद्धाश्रममा गएको देख्दा अपांगता भएका ज्येष्ठ नागरिक दुःख, पीडा कस्तो होला ? कल्पनै गर्न नसकिने बताउँछन्, राष्ट्रिय अपांगता महासंघका अध्यक्ष मित्रलाल शर्मा। उनी भन्छन्, ‘नेपालमा अपांगता भएकाहरू ज्येष्ठ नागरिकहरूको अवस्था कहाली लाग्दो छ।’ निर्माण भएका जति पनि वृद्धाश्रम छन् ती कुनै पनि अपांगमैत्री नभएको उनको भनाइ छ। उनी भन्छन्, ‘ऐन कानुनमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने भनिएको भए पनि व्यवहारमा लागू भएको देखिँदैन। यसले अपांगता भएका ज्येष्ठ नागरिकमा झनै समस्या देखिएको छ।’
त्यस्तै, अपांगता भएकै कारण स्कुले जीवनदेखि अहिलेसम्म अनेक चुनौती पार गर्दै आएका एक दृष्टिविहीन ज्येष्ठ नागरिक हुन्, सुरेन्द्र पराजुली। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका पापुङमा जन्मिएका सुरेन्द्र ६० वर्षका भए। उनी ४ वर्ष हुँदा आमाबुवा गुमाए। त्यसपछि उनी फुपूको माया पाएर हुर्के। तर, उनी ३ वर्षको उमेरमा दृष्टिविहीन भएका हुन्। ‘कोदोबारीमा जाँदा कोदोको पातले आँखामा घोचेपछि म दृष्टिविहीन भएँ रे,’ दृष्टि गुमेको पल सम्झिँदै उनले भने, ‘त्यसपछि कसैले झारफुक गरे, कसैले जडीबुटी लाइदिए रे, अनेकथरी गर्दागर्दै मेरो दुइटै आँखा बन्द भए। त्यसपछि आजसम्म यो संसार लागि अन्धकार भयो।’
आपांगता भएकै कारण समाजमा धेरैको टोकाइ सहनुपरेकोमा समाजप्रति उनको गुनासो छ। ‘धेरैले मलाई कानो कानो भन्दै हिँड्थे। त्यतिबेला नराम्रो लाग्थ्यो। कहिलेकाहीँ कक्षामा पनि साथीहरूले अपांगता भएको बेन्चमा बसेर तिमीहरू पनि अपांगत भयौं है भन्दै साथीहरूले जिस्काउँथे,’ उनी भावुक भए।
जसोतसो उनले बीएडसम्म पढाइ पूरा गरे र शिक्षक सेवामा नाम निकालेर शिक्षण पेसामा लागे। ‘यसले पढाएका विद्यार्थी कस्ता होलान् भनेर धेरैले हेप्थे। तर, मैले पढाएका विद्यार्थी अहिले विदेशमा पनि अध्ययन गरिरहेका छन्,’ उनले गौरव साथ सुनाए। उनी ३० वर्ष ४ महिना पढाएर यही भदौ १० गते रिटाएर भए। तर, अब बुढेसकालमा कस्तो समस्या आउनेको उनको चिन्ताको विषय बनेको छ। उनको परिवारमा छोरा र छोरी छन्। उनीहरूलाई शिक्षादिक्षा दिन सकेको उनी खुसी छन्।
६० वर्षीय अपांगता भएका ज्येष्ठ नागरिक नन्दलाल महर्जनको पीडा पनि उस्तै छ। पाँगा कीर्तिपुर–८ मा जन्मिएका महर्जन जन्मजातै दृष्टिविहीन हुन्। उनी एउटा आँखाले मात्रै अलिअलि देख्छन्। ‘आँखा नदेखेपछि एक्लो भइँदोरहेछ। साथीभाइ नबन्ने रहेछन्,’ उनले सुनाए। अहिलेसम्म जेजस्तो भए पनि अब बाँकी बुढेसकाल कसरी कटाउने भन्ने उनलाई ठूलो चिन्ता छ। उनी पनि पेसाले शिक्षक नै हुन्। करिब ३० वर्ष पढाएर उनी रिटाएरसमेत भइसकेका छन्। यी ३ त केवल प्रतिनिधि पात्र मात्रै हुन्। देशभरि अपांगता भएका ज्येष्ठ नागरिकहरूको संख्या निकै ठूलो छ। उनीहरूका लागि सम्बन्धित निकाय बेलैमा ध्यान दिनुपर्ने उनीहरूको माग छ।