छेकेन उमेरले पढ्ने रहर
काठमाडौं : ५६ वर्षको उमेरमा किताब कापी च्यापेर विद्यालयतिर लाग्दा रामेछाप चरीकोटकी रत्नकुमारी सुनुवार छरछिमेकीको हाँसोको पात्र बन्थिन्। ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्दै उनीमाथि व्यंग्य गर्थे। छरछिमेकीका यस्ता व्यंग्यको उनले वास्ता गरिनन्। बरु, औपचारिक शिक्षा पूरा गरेरै छोड्ने अठोट गरिन्। ७८ वर्षमा नातिसँगै एसईई पास गरिन्। ‘तिमीहरू जस्तो अरूका कुरा काटेर बस्दिनँ, भोलि नै मर्ने भए पनि पढ्छु भन्ने जवाफ दिन्थेँ,’ रत्नकुमारीले भनिन्।
नातिनातिना खेलाएर बस्ने उमेर (५६ वर्ष)मा उनले औपचारिक शिक्षाको कखरा प्रारम्भ गरिन्। गत वर्ष एसईई पास गरेपछि उनमा खुसीको सीमा छैन। रामेछापबाट २०३६ मा उनी काठमाडौं झरिन्। कोटेश्वरमा बस्न थालेपछि २०५७ सालमा प्रौढ शिक्षा तालिम लिन सुरु गरिन्। त्यहीँबाट उनले औपचारिक शिक्षा सुरु गरेको बताउँछिन्।
एक छोरी र ३ छोराको जिम्मेवारी उनकै काँधमा थियो। पति अवकाश पाएपछि उनमा पढ्ने रहर जाग्यो। पढाइलाई उमेरले नछेक्ने भन्दै त्यतिबेला जसरी पनि १० कक्षा पास गर्ने इच्छा उनमा जागेको थियो। विद्यालय भर्ना गर्नुअघि तयारी गर्न कोटेश्वरको सूर्य क्लबमा भर्ना भएको उनले बताइन्। २०७४ सालमा उत्प्रेरणा महिला मावि तीनकुनेमा कक्षा ६ मा भर्ना भइन्।
उनी नाति सहन सुनवारसँगै २०७८ मा २.६५ जीपीए ल्याएर एसईई उत्तीर्णसमेत गरिन्। ‘मुटु र मधुमेह रोगको समस्या भए पनि पढाइप्रति लगाव राखें,’ उनले भनिन्। एसईईपछि बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भइसकेकी छिन । ‘वल्लो घर पल्लो घर गरेर अर्काको कुरा काटेर बस्नुभन्दा, पढ्न वेश हुन्छ,’ उनले भनिन्। उनलाई कक्षा १२ पास गर्ने धोको छ। उनको हिम्मत देखेर परिवारका सदस्य पनि खुशी छन्। ‘पहिला दुःख पाउनुभयो, अब पढ्नुहोस् भनेर छोराछोरीले भन्छन्,’ सुनुवारले भनिन्,‘पढेपछि ज्ञान, बुद्धी आउने रहेछ।’
पति रणबहादुर सुनुवारले उनलाई ‘पढेर के हुन्छ ?’ भनेर सुरुमा विद्यालय नजान दबाब दिन्थे। ‘पाकेको धानमा पानी लगाएर के फाइदा ? पढेर के गर्छौ ? किन पढ्नुपर्यो ?’ भनेको सुनाइन्। ‘अहिले त उहाँ पनि खुसी हुनुहुन्छ,’ उनले भनिन्। उमेर गयो भनेर समय खेर नफाली पढ्न उनको सुझाव छ।
त्यस्तै, ६८ वर्षीया अम्बिका थापा कैलाशकुट कलेज जयबागेश्वरीमा कक्षा ११ मा पढ्छिन्। १२ कक्षा पास गरेपछि राजनीतिशास्त्र पढ्ने उनको धोको छ। ‘पढाइसँगै राजनीति पनि गर्छु,’ उनले भनिन्।
थापा २०५८ सालमा ज्ञान ज्योति महिला विद्यालय चावहिलमा कक्षा २ मा भर्ना भइन्। ०७७ मा एसईई पास गरिन् । ‘बाबाले छोरीले दुःख नपाओस् भनेर पढाउन खोज्नुभएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला महिलाहरू कोही पनि स्कुल जाँदैनथे। म पनि जान मानिनँ।’