जति वृद्ध , उति सक्रिय
जेष्ठ नागरिक वृद्धवृद्धा मात्र होइनन्, विशिष्ट नागरिक हुन्। उनीहरू भार होइनन् भाग्य हुन्। आशिर्वाद बुबाआमाको प्रगति छोराछोरीको। पारिवारिक खुसीबारे पुस्तक लेखिरहेका डा. राजु अधिकारीले यस्तै विषयमा धारणा अघि सारेका छन्। ‘वृद्ध व्यक्ति घरका गहना हुन् । उनीहरू समाजका वैभव हुन्। वृद्ध पुस्ता संस्कार र संस्कृतिका संवाहक हुन्’, उनी भन्छन्, ‘जुन घरमा आमाबुबा अनि त्यसभन्दा माथि हजुरबुबा हजुरआमाको छत्रछायाँ रहन्छ त्यो खुसीयाली र खानदानी संस्कारले भरिपूर्ण घर हो। जुन घरमा हजुरबुबा र हजुरआमाको पुस्ता सुखी र सम्मानित देखिन्छन् त्यो घर धर्तीको स्वर्ग हो ।’ यस आलेखभित्र केही यस्ता व्यक्ति छन्, जो वृद्ध भएर विशिष्ट मात्र बनेका छैनन् बरु सबैका उदाहरणीय बनेका छन्।
सय पुस्तक एकैचोटी
९१ वर्षीया भद्रकुमारी घलेले हालै एक सय पुस्तक लेखिसकिन्। पुस्तक धमाधम प्रकाशन भइरहेका छन्। ‘आफूले लेखेका १०० वटा किताब ५० पुरुष ५० महिलाबाट एकैपटक विमोचन गराउँदैछु।’ अब उनी १४१ कृतिकी धनी हुनेछिन्। ‘जब पुग्यो असी, अनि खाने बसी’ भन्ने नेपाली उखान उनका हकमा लागू भएको छैन। यो उमेरमा पनि उनी चित्रहरू बनाउँछिन्। ‘रोज दुईवटा निबन्ध, एउटा भजन र एउटा कविता लेख्छु’, उनले अन्नपूर्णसँग भनिन्, ‘केही वर्ष अघिसम्म त्योभन्दा बढी लेख्थें। धेरै काम गर्थें।’
कक्षाहरू सुरु भए। कक्षाहरू सकिए। कक्षा सकिएपछि तनाव सुरु भयो। आजको दिन सबैभन्दा बोरिङ भयो। मानौं आँधी बेहेरी आउनेवाला छ।
‘सूर्य डुबेपछि सम्साँझै सुत्छु। रातको १२/१ बजे उठ्छु। सामान्य योग गर्छु। पूजापाठमा भगवान्को नाम जप्छु र लेख्न बस्छु।’ भद्रकुमारी भन्छिन्। गुरुङको वेद र इतिहास लेखेको बताउने उनी सक्रिय भए मात्र जीवन सार्थक हुने बताउँछिन्। ‘एक रूपैयाँमा १० पाथी अन्न किनेर खाने मान्छे हुँ। एक सुकामा एक माना घिउ, एक रूपैयाँको एउटा भाले र एक पैसामा एउटा अण्डा पाइन्थ्यो उसबेला’, आमाले दिने एक पैसाले टन्न खाजा खाएको स्मरण गर्दै उनी थप्छिन्। वृद्ध उमेरमा कापीकलम समात्दा कथा, कविताका ठाउँमा भगवान् र बुढेसकालका कुरा मात्र आउने उनको अनुभव छ।
‘जति वृद्ध भयो उति खुसी र आनन्द पाउने गरेकी छु। जोगी सन्यासी देख्थें किन भनेको त लोभलालच छोडेपछि खुसी र आनन्द आउँदोरहेछ’, अनामनगरको आश्रम छोडेर मैतीदेवी–डिल्लीबजारस्थित घले टोलमा घर बनाएर बसेकी उनी सुनाउँछिन्। जेष्ठ नागरिक रिसर्च सेन्टर बनाउन १५ वर्षदेखि उनी लागिपरेकी छन्।
माया र प्रोत्साहनले लेखन
सय पुग्न ६ वर्ष बाँकी हुँदा पनि सधैं खुसी र सक्रिय देखिने व्यक्तित्व हो, भैरव रिसाल। ‘काम नगर्नु भनेको बाँच्नु नै होइन, हरदम खुसीका लागि मेरो उमेरका मान्छे परिवार र समाजमैत्री भइदिनु पर्छ’, उनी भन्छन्, ‘जेष्ठनागरिकलाई सम्मान त सरकारले पनि गर्नुपर्छ। सय वर्ष नाघेका मान्छे वा सम्पदा राज्यका सम्पत्ति हुन्।’ भैरव साप्ताहिक रूपमा एउटा पत्रिकालाई लेख लेख्ने र रेडियोमा दस मिनेट बोल्ने गर्छन्। ‘डा. द्धारिका ढुंगेलको किताबमाथि लेख लेख्दैछु। तपाईहरूले फोन गर्नुहुन्छ, जोशजाँगर बढ्छ। केही गर्छु कि जस्तो लाग्छ। छापिएपछि धेरैले पढ्छन्, बजेपछि सुन्छन् र प्रतिक्रिया दिन्छन्’, उनी खुसी व्यक्त गर्दै भन्छन्, ‘माया र प्रोत्साहन ठुलो कुरो रहेछ, सक्रिय हुन। दंग पर्छु।’
सेवा निवृत्त भनेको जागीर खानेका लागि मात्र भएको रिसालको बुझाइ छ। ‘सकुञ्जेल काम गर्ने नै हो। बोल्न र लेख्न अखबार पढ्ने र सबैका कुरा सुन्ने नै हो।’ राज्य राज्य भएन त्यसैले राज्यले राज्य गर्न सकेन भन्ने रिसाल यतिबेला बुढाबुढी (आफ्नै) को सुखदुःखको कृति लेख्दैछन्, सुशिला–भैरव शीर्षकमा। ‘जेल डायरी साधुलाई सुली नामको पुस्तक लेख्दैछु। हात्तीको सामाजिक सांस्कृतिक पक्षमा लेख्दैछु। त्यतिबेलाको पत्रकारिता शीर्षकमा पूर्वसञ्चारसचिव घननाथ ओझासँग मिलेर अर्को कृति पनि लेख्दैछु’, उनी सक्रियता सुनाउँछन्। उनी नेपाली वाङ्मयका तीन तारा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण शर्मा र लेखनाथ पौड्यालका बारेमा पनि कृति तयार पार्दैछन्।
प्रसंशा गर्नुमा छ सुख
‘काम नगरी बस्नु भनेको ज्यूँदो लास हुनु हो। आफ्नो खाएर अरूको कुरा काटी बस्नु पटक्कै राम्रो होइन। परनिन्दा हो। यस्तो कसैले गर्नु हुँदैन’, ८७ वर्षमा पनि उत्तिकै सक्रिय तेजेश्वरबाबु ग्वंगः भन्छन्। केही काम नभए बरु राम्रा काममा अरूको प्रसंशा गरिबस्नु उत्तम हो। प्रसंसाले आफैंमा उर्जा थप्छ। उनी यसरी अरूलाई उर्जा भरिदिन्छन्। सूर्यविनायक भक्तपुर बस्ने उनी दिनभर पत्रपत्रिका पढ्ने र लेख्नेमै आफूलाई व्यस्त बनाउँछन्। उनका अनुसार आफू सक्रिय हुनुका पछाडि प्रेरणा नै हो।
खासगरि सञ्चारकर्मी र साहित्यकर्मी मित्रहरूसँगको कुराकानी र कहिलेकाँही घरै आएर भेटघाट गरिदिँदा आफ्नो जोशजाँगर बढ्ने इतिहास एवं संस्कृतिविद् ग्वंगःको बुझाइ छ। ‘यसले उर्जा बढ्छ। लेख रचना पढ्दा पनि उर्जा बढ्छ। सेवा निवृत्त भएँ भनेर कसैले पनि निस्क्रिय जीवन बिताउन हुँदैन भन्ने मेरो मान्यता हो’, उनी भन्छन्। आग्रह गर्दा लेख लेखिरहेकै छन् उनी। निबन्ध, कविता, चाडपर्वहरूका बारेमा लेख्छन् उनी। निबन्धमा सांस्कृतिक निबन्ध र अर्को आयामिक निबन्ध लेख्नु उनको पृथक पहिचान हो। धेरैले लेख पढ्छन् तर लेख पढेपछि लेखकहरूलाई विषयमाथि टिप्पणी गर्ने ग्वंगको प्रसंशनीय गुण छ। ‘किताबहरू बेस्सरी पढ्छु। लेखेर पनि २५–३० हजार आम्दानी गरिरहेको छु’, जेष्ठ नागरिक भएर पनि आम्दानीमा गर्व गर्न पाएको उनको भनाइ छ, ‘आफ्नो काममा रमाइरहँदा पाइने खुसी त छँदैछ।’
जहाँ सन्तुष्ट त्यहाँ जाँगर
वर्षले ७२ पुगिन् उषा ठाकुर। प्रज्ञा प्रतिष्ठानमा उनी पुनः अनुवाद विभागमै दोस्रो कार्यकालमा कार्यरत छिन्। ३६ वर्ष त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको हिन्दी विभागमा प्रमुख समेत भएकी ठाकुरले फ्रान्सस्थित डफिन युनिभर्सिटीमा चार वर्ष भिजिटिङ प्रोफेसर भएर सेवा गरिन्। ‘आत्मबल छ। इच्छा भएर पनि हो। सन्तुष्ट हुने काम गरेर पनि होला जाँगर चलेको छ’, उनी भन्छिन्। बिहान बेलुकी र विदामा दिउँसो घरेलु जिम्मेवारी छँदैछ उनको। पर्सा वीरगञ्जकी उनी अहिले घट्टेकुलो काठमाडौंकी बासिन्दा हुन्। जहाँ ९७ वर्षकी सासुको सेवा गर्छिन् उषा। ‘काम अनुसार राति २/३ बजेसम्म किताब र लेख लेख्छु। अनुवादका लागि योजना बनाउँछु। आजका दिनसम्म रातभर काम गर्न सक्छु’, उनी भन्छिन्। जति बजे सुते पनि बिहान साढे ४ बजे निद्रा खुल्छ उनको।
डा. ठाकुरका श्रीमान् पूर्वराजदूत भएकाले घरमा भेटघाट खानपिन भइरहन्छ, त्यो सबैमा आफैं संलग्न हुन्छिन्। जीवनमा जे छ त्यसमा सन्तोष मानेपछि समस्या नहुने उनको बुझाइ छ। ‘जीवन सहज र सक्रिय हुनुमा भगवान्कै देन मान्छु’, उनी थप्छिन्। ‘नेपाली साहित्य ः समीक्षा र सर्वेक्षण’ अनुसन्धानमूलक किताब ठाकुरले तयार पारेकी हुन्। नेपाली भाषासाहित्य विश्व रंगमञ्चमा जम्न सकोस् भनेर लागि परेको उनी बताउँछिन्। विदेशी साहित्यमा के कस्तो प्रचलन आएको छ कस्तो प्रवृत्ति देखिएको छ त्यो अनुवाद गरेर नेपाली पनि सँगै अघि बढौं भनेर अनुवादहरूको काम गरेको उनको भनाइ छ। ‘प्रज्ञा प्रतिष्ठानबाट मातृभाषाहरूको पनि अनुवाद गर्ने काममा छु, अनुवाद काम गराउने विभिन्न भाषाबाट विभिन्न भाषामा भइरहेछ’, उनी भन्छिन्।
आफू उदाहरण बनेर देखाऔं
त्रिपुरेश्वरमा आफ्नै पहल र प्रयासबाट नेपालकै पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताल बनाउने डा. रामप्रसाद पोखरेल अझै उत्तिकै क्रियाशील छन्। ८५ वर्षीय उनी आफू स्वस्थ्य र खुसी भइरहनुमा सानैदेखि योग, व्यायाम र खेलकुदमा संलग्न हुनुलाई आधार मान्छन्। ‘जीवनमा मिहिनेत गर्नुपर्छ। १५ वर्षदेखि शीर्षासन गर्थें। खेलकुदमा पनि भाग लिइरहन्थें। व्यायामहरू गर्थे। आजसम्म कुनै रोग छैन’, उनी भन्छन्। एक वर्षअघिसम्म अस्पताल पुगेरै चेकअप गर्थे उनी। अहिले पनि अस्पताले बोलाए सल्लाह दिन्छन्। साँझ १० बजे सुत्छन् र बिहान चार बजे उठ्ने र नुहाउने गर्छन्। त्यसपछि प्राणायम गर्ने र अलिअलि हिँड्छन्। नेपाली, अंग्रेजी र हिन्दी भाषामा लेख्ने कविता आदि लेख्छन् उनी।
‘आँखामा चस्मा लगाउँदिनँ। टाढा पनि देख्छु, नजिक पनि समस्या छैन’, डा. पोखरेल भन्छन्, ‘राम्रो निद्रा परे आँखामा समस्या हुन्न। सुत्नुअघि चिसो पानीले राम्ररी धोएर सुत्छु। उठ्नेबित्तिकै धुन्छु।’। भिटामिन ए युक्त खानेकुरा, हरियो तरकारी र माछा खानाले आँखा स्वस्थ्य रहिरहने उनको बुझाइ छ। उनका अनुसार नियममा सुत्ने नियम (समयमै) मा उठ्ने र खाने गर्नुपर्छ। पढ्दा बत्ती आँखामा होइन किताबमा परोस्। सिधै परे असर गर्छ। ‘आफू सही हुनुपर्छ अरूलाई माया र सम्मान गर्नुपर्छ। नम्र बोल्ने र अरूलाई इज्जत गर्ने अनि कसैलाई नहेप्ने बानीले जिन्दगीमा खुसी भइन्छ’, उनी थप्छन्। आफू हरेक कुरामा उदाहरण बन्नुपर्ने उनको बुझाइ छ।