‘विमानमा समस्या थिएन’
काठमाडौं : बुद्ध एयरको जहाज एटीआर–७२मा समस्या नआएको आन्तरिक छानबिन समितिले निष्कर्ष निकालेको छ। ल्यान्डिङ गियरमा समस्या आएपछि त्यस दिन विराटनगरबाट फर्केको विमानले काठमाडौंको आकाशमा पाँच फन्का मारेर मात्र अवतरण गरेको थियो।
तर, सो समयमा जहाजमा कुनै पनि समस्या नदेखिएको बुद्ध एयर स्रोतले जानकारी दिएको छ। बुद्ध एयरले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको आन्तरिक जाँचबुझको रिपोर्टमा सो विषय उल्लेख गरिएको छ।
बुद्ध एयरले प्राधिकरणलाई बुझाएको रिपोर्टमा भनिएको छ, ‘ककपिटमा भएको पर्याप्त स्रोत तथा साधनलाई प्रयोग गरी परिस्थितिलाई सामान्य बनाउनुभन्दा पनि बाहिरी सूचनालाई विश्वास गरिएको देखिएको छ।’ कम्पनीले यो घटनाबाट अचम्मित भएको भन्दै यसमा हुन सक्ने मानवीय त्रुटिलाई नजिकबाट केलाइने पनि जनाएको छ।
उक्त जहाज गत मंगलबारबाटै नियमित उडानमा छ। कम्पनीका प्राविधिज्ञ र प्राधिकरणका प्राविधिज्ञहरूको विस्तृत चेक जाँचपछि जहाज नियमित उडानमा पठाइएको प्राधिकरणले जानकारी दिएको छ। उक्त घटनापछि वरिष्ठ क्याप्टेन आङ्गेलु शेर्पालगायतका चालक दलका सदस्यहरू प्राधिकरणको निर्णयअनुसार नियमित उडानमा फर्किएका छैनन्।
प्राधिकरणले हवाई सुरक्षा विभागअन्तर्गतको नियमित प्रक्रियाका आधारमा चालक दललाई ग्राउन्डेड गराएको जानकारी दिएको छ। कम्पनीले बुझाएको रिपोर्टलाई पुनः छानबिनपछि मात्र के गर्ने भन्ने निष्कर्ष निकालिने प्राधिकरणका निमित्त महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
जहाजमा समस्याका कारण फर्काइएको विराटनगर विमानस्थलको दाबी विराटनगर विमानस्थलले भने त्यसदिन बुद्ध एयरको जहाजको पछाडिको चक्का ल्यान्डिङ गर्ने क्रममा नखुलेको दाबी गरेको छ। एयर ट्राफिक कन्ट्रोलर नारायण श्रेष्ठले कन्ट्रोल रुमबाट ५० मिटरको दूरीबाट नै जहाजलाई अवलोकन गरिएको बताएका छन्। उनले भने, ‘म र दुर्गामणि चौधरी थियौं। कन्ट्रोल रुमबाट बढीमा ५० मिटरको दूरीसम्म जहाजलाई होल्ड गराउँदा छर्लंग रूपमा नै पछाडिको चक्का नझरेको देखिएको थियो ।’
ल्यान्ड गर्ने क्रममा पाइलटले इन्डिकेटरमा समस्या आएको विराटनगरस्थित कन्ट्रोल रूममा रिपोर्ट गरेका थिए। ल्यान्डिङ गियरमा समस्या देखिएकोले तल उडेर आउँछौ र हाम्रो चक्का झर्यो कि झरेन हेर्दिनुहोस् भनेको श्रेष्ठ बताउँछन्। त्यसपछि हामीले हेर्दा दुई वटा चक्का मज्जाले झरेको र पछाडिको चक्का एकदम नै गाह्रोसँग झरेको देखेको उनले बताए। त्यसपछि उक्त जहाज काठमाडौं डाइभर्ट भएको थियो। काठमाडौं आएपछि पनि करिब १० पटकको प्रयासमा पछाडिको चक्का झरेपछि जहाज नर्मल ल्यान्डिङ भएको थियो।
‘विराटनगरमा अवतरणको क्रममा समस्या देखिएको नै हो। प्राविधिक कुरा भएकोले पछि कसरी समस्या समाधान भयो त्यो भन्न सकिन्न’ श्रेष्ठले जानकारी दिए। जहाज ल्यान्ड गर्ने सम्बन्धमा एयर ट्राफिक कन्ट्रोलरको निर्देशन नै महत्वपूर्ण मानिन्छ। विराटनगर विमानस्थल पनि उक्त समयमा पाइटलले सही निर्णय गरेको बताउँछ।
विराटनगर विमानस्थलको रनवे १५ सय मिटर हुनु, फायर फाइटर क्याटगोरी पनि २ मात्र हुनु, बुद्ध एयरका प्राविधिज्ञ पनि काठमाडौंमा हुनुजस्ता कारणले गर्दा पनि जहाज फर्काउने निर्णय सही भएको बताइन्छ। विराटनगरको तुलनामा काठमाडौं विमानस्थलको रनवे तीन हजार मिटर र फायरफाइटर क्याटेगोरी पनि प्लस ९ रहेको छ। आकस्मिक ल्यान्डिङ गर्दा आवश्यक प्राविधिक पूर्वाधार काठमाडौं विमानस्थलमा बढी रहेको छ।
बुद्ध एयरको अपिल
बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टीकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो। बुद्ध एयरका प्रबन्धनिर्देशक वीरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरूको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरूले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ। सूचनामा भनिएको छ, ‘सो जहाजबारे अध्ययन गरिएको प्रारम्भिक रिपोर्ट नागरिक उड्डयन प्राधिकरणमा सोही दिन बुझाएका थियौं। त्यसबेला सो जहाजमा प्राविधिक समस्या नभएको भनिएको थियो।’ बुद्धले आफ्ना जहाजहरू ठीक अवस्थामा रहेको दाबी गरेको छ।