संकटमा मिथिला चित्रकला

संकटमा मिथिला चित्रकला

जनकपुरधाम : कोरोना महामारीले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित पारिरहेका बेला यसको प्रत्यक्ष प्रभाव मिथिला चित्रकला बनाएरै घरपरिवार चलाउँदै आएका कलाकारहरूमा पनि परेको छ। 

कोरोना महामारीका कारण मिथिला चित्रकलाको ब्यापारमा निकै ह्रास आएपछि थुप्रै महिला कलाकार पेसाबाटै पलायन हुनु परेको छ भने कतिपयलाई जीविका चलाउनै हम्मेहम्मे परेको छ। यो पेसाबाट जीविकोपार्जन गर्न नसक्ने भएपछि कतिपयले अरु नै पेसा अंगाल्न बाध्य भएका छन् ।

सामान्य लेखपढ गर्न समेत नजानेकी जनकपुरधाम उपमहानगरपालिका कुवाकी मालती पासवान आफ्नै गाउँघरमा मिथिला चित्रकला कोर्न पोख्त छिन्। कोहबर, देवीदेवताका चित्र, बाँसको चित्र, माछासहितका मिथिला चित्रकलामा उनको हात राम्ररी बसेको छ। गरिब परिवारकी मालतीले दुई बालबालिका र घरपरिवारलाई आफ्नो कलाकै माध्यमबाट पालनपोषण गर्दै आएकी थिइन्। तर, पछिल्लो पटक कोरोना महामारीले गर्दा उनले चित्रकला बनाउने काम छाड्नु परेको छ।

‘म जुन संस्थाका लागि चित्र बनाउँथें, कोरोनाका कारण त्यो कार्यालय नै बन्द भयो। जसका कारण सबै महिलाहरूले काम छाड्न बाध्य हुनुपर्‍यो’, मालतीले भनिन्, ‘पढ्न नजाने पनि चित्र कोरेरै परिवार चलाइराखेका थियौं। अहिले त्यो रोजगारी पनि गुमेको छ। चित्रकला खरिद गर्न आउने ग्राहकको संख्या कम भएपछि कामदारको संख्या पनि घटाइएको छ।’

कुवाकै राजकुमारी मण्डलले पनि लकडाउनकै बेला चित्रकलाको रोजगारी गुमाउनु पर्‍यो। ‘मिथिला चित्रकला प्रायःजसो विदेशी र बाहिरबाट आउने पर्यटकहरूले किन्ने गर्छन्। यो महामारीले ग्राहक आउनै छाडे। हामी पनि पेसाबाटै पलायन हुनु परेको छ’, मण्डलले भनिन्। 

मिथिला संस्कार र सभ्यतासँग जोडिएका मिथिला चित्रकलाले यस क्षेत्रका थुप्रै महिलाहरूलाई आत्मसम्मान दिनुका साथै स्वरोजगार बनाएको थियो। तर, महामारीका कारण यो व्यवसायलाई निकै क्षति पुगेको मिथिला आर्ट ग्यालरी जनकपुरकी सञ्चालिका सुनैना ठाकुर बताउँछिन्। 

‘एक त मिथिला चित्रकला आधुनिक चित्रकलाको चेपुवामा परेर ब्यावसायिक रुपमा पछाडि परेको छ’, सुनैना भन्छिन्, ‘कोरोना महामारीले गर्दा चित्र बनाएर पनि बिक्री हुन नसकेपछि थुप्रै कलाकारहरूको दैनिक जनजीवन पनि प्रभावित बनेको छ।’ 

सामान्यतः विवाह, पूजा, पर्व र तिहारमा ग्रामीण क्षेत्रमा महिलाहरूले घरको आँगन, पर्खालहरूमा माटो, पिठो र गोबरको प्रयोग गरी मिथिला चित्रकला बनाउने गर्थे। तर, पछिल्लो समय चित्रहरूलाई कागजमा कोरेर रंगहरूले सजाउन थालेका छन्। महिलाहरूले मिथिला कलामार्फतबाट आफ्नो अभिव्यक्ति स्वतन्त्रताका आवाज पनि उठाउन थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.