कर्मचारी : राम्रो कि हाम्रो ?

कर्मचारी : राम्रो कि हाम्रो ?

पहुँच नभएका जनतालाई सुन्न र सहयोग गर्न हृदयमा ‘हरि’ जाग्नुपर्छ। समस्याको चुरो यही हो।


सेवा शब्दको अर्थ बृहत् छ। मातृभूमिको सेवा, राष्ट्रसेवा, समाज सेवा, सर्वसाधारण नागरिकको सेवा, दीनदुःखीको सेवा आदि मानव सभ्यताको आरम्भसँगै हुँदै आएका छन्। ‘सेवाही परमो धर्म’ भनेर शास्त्रहरूले पनि मानव समुदायलाई सेवामा लाग्न अभिप्रेरित गरिरहेका छन्। नागरिकतहमा प्रवाह हुने सेवाको ठूलो हिस्सा राज्यका सरकारी संयन्त्रबाट प्रदान हुने गर्छ। सरकारी संयन्त्रबाट प्रवाह हुने सेवाको प्रक्रियागत सरलता, समयको शीघ्रता, शुल्कमा सुलभता र सेवाको गुणस्तरीयताले समस्त सेवाप्रवाह प्रणाली (सर्भिस डेलिभरी सिस्टम)लाई अगुवाइ गर्छ। सेवाप्रवाह प्रणाली स्वचालित र प्रशंसनीय होस् भन्ने सबैको चाहना हुन्छ। यस्तो भएको खण्डमा पारदर्शिता, निष्पक्षता, शीघ्रता, सुलभता र गुणस्तरीयताको महसुस हुने अवस्था सिर्जना हुन्छ।

सेवा प्रवाहको समग्र प्रक्रियामा मानवीय भूमिका प्रधान पक्ष हो। सेवा प्राप्तिको उद्देश्यले सेवाग्राही नागरिक जब सम्बन्धित कार्यालयमा पुग्छन्। प्रवेश विन्दुमा खटिएका कर्मचारीसँग भेट हुन्छ तब सो प्रवेश विन्दुका कर्मचारीले प्रकट गर्नेव्यवहारले नै सेवाग्राहीको बाँकी काम कसरी अघि बढ्छ भन्ने कुराको लक्षण थाहा हुन्छ। अर्थात् सेवाग्राहीले सबैभन्दा पहिला भेट्ने कर्मचारीको ‘डिलिङ’ र सेवाग्राहीको ‘फिलिङ’ बाट नै सेवा दिने र लिनेबीचको समझदारी र विश्वासको आधार निर्धारण हुन्छ। उप्रान्तका प्रक्रियाहरू सजिलो वा झन्झटिलो हुने कुराको संकेत मिल्छ। सेवा प्रवाहमा कर्मचारीको भूमिका प्रमुख रहने सन्दर्भमा समग्र कर्मचारीलाई व्यवस्थापन र उत्पादनगरी दुई तहमा विभाजन गरेर उनीहरूको सेवाभावको विश्लेषण गर्न उपयुक्त हुन्छ। व्यवस्थापन तहमा माथिल्लो वर्गका अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीहरू समावेश हुन्छन्। उत्पादन तहमा नायब सुब्वा र सोभन्दा तलका कार्यालय सहयोगीसम्मका कर्मचारीहरू पर्छन्। सर्वसाधारण सेवाग्राहीको पहिलो भेट उत्पादन तहसँग हुन्छ।

सरकारी कर्मचारी योग्यताले योग्य छन्। किनकि उनीहरू लोक सेवा आयोगको निकै कडा प्रतिस्पर्धा जितेर सरकारी सेवामा प्रवेश गरेका हुन्छन्। त्यसैले उनीहरू सिपालु (स्किलपुल) छन्। तर सेवा प्रवाहका निमित्त यत्तिले मात्र पुग्दैन। उनीहरू हसमुख (चियरफुल) हुनु पर्छ। दयालु (मर्सिफुल) हुनु पर्छ। कार्यकक्षमा भेटिने (ड्युटिफुल) हुनु पर्छ। र उनीहरू सहयोगी (हेल्फपुल) हुनु पर्छ। यसरी सिपालु कर्मचारीमा उल्लेखित सबै आधारभूत गुणहरू वेष्ठित भयो भने मात्र उनीहरू साँचो अर्थमा सुन्दर (ब्युटिफुल) हुन्छन्। यस्ता गुण भएका कर्मचारीको मात्र ‘डिलिङ’ सधैं ‘हिलिङ’ हुन्छ।

नेपालको सन्दर्भमा अनुभवले के बताउँछ भने प्रवेश विन्दुमा रहने कर्मचारीहरूमा एउटा साझा मनोविज्ञान बलियो गरी स्थापित छ। नवनियुक्त कर्मचारी पनि तुरुन्त सो मनोविज्ञानले प्रभावित हुन्छन्। सो मनोविज्ञान कस्तो छ भने जब उनीहरूकोमा सेवाग्राही आउँछन् तव उनीहरू नत सेवाग्राहीको मुखमा हेर्छन् नत सबैकुरा सुन्न रुचाउँछन्। सेवाग्राहीले ल्याएको निवेदन वा मागलाई सकेसम्म नहुने आशयको प्रतिक्रिया दिन्छन्। सेवाग्राहीले अलि बल गरेपछि हाकिमसाबलाई भेट्नुस् भन्ने सल्लाह दिन्छन्। हाकिमसाबलाई भेटेर काम हुने आशाले फेरि उनै पहिले भेटेका कर्मचारीसामु आउँदा भोलि आउनुस् भन्ने जवाफ दिन्छन्। यसरी सुरुमा ‘हुन्न’ भन्ने भाव कर्मचारीले दर्शाउँछन््।

व्यवस्थापन तहका कर्मचारीहरूसँग सर्वसाधारण सेवाग्राहीको सामान्यतः भेट हुँदैन। तर यो तहमा पनि स्वतस्फुर्त रूपमा काम गर्ने रहर कम छ। तल्लो तहका कर्मचारीले गरेको कामको सुपरिवेक्षण गर्ने, उनीहरूलाई उत्प्रेरित गर्ने र उनीहरूमा सेवाभाव प्रबल बनाउनेमा खासै चासो रहँदैन। बरु उनीहरूमा विभिन्न प्रभावका आधारमा काम गर्ने आदत बसेको देखिन्छ। ती प्रभाव पार्ने तत्त्वलाई चार प्रकारले परिभाषित गर्न सकिन्छ। पहिलोप्रभाव पार्ने तत्त्व (फ्याक्टर) राजनीति हो। राजनीतिक नेताको आदेश वा अनुरोधलाई ध्यानपूर्वक सुन्ने र सो आधारमा सेवाग्राहीको काम गर्ने कर्मचारीहरूको बानी बसेको छ। यस्तो अभ्यासलाई राजनीतिक नेताले पनि रुचाउँछन्। कर्मचारी पनि नेताले भनेको काम गरिदिँदा आफूलाई राम्रो ठाउँमा सरुवा हुन नेताको सहयोग पाइने भनेर नेताले भनेको काम गर्न अग्रसर हुन्छन्। यसरी राजनीतिक नेताबाट प्रभावित भएर काम गर्ने प्रवृत्ति बलियो गरी स्थापित भएको छ।

सेवाभाव जागृत गराउने काम कठिन तर, सम्भव छ। कर्मचारीलाई प्रेरणा, प्रोत्साहन र प्रशिक्षणले उत्प्रेरित, मेहनति र सकारात्मक सोच भएको बनाउन सकिन्छ।

कर्मचारीलाई प्रभाव पार्ने दोस्रो तत्त्व पदको प्रभाव हो। कुनै पदमा रहेका व्यक्तिले कुनै प्रकारको सेवाका निमित्त सम्बन्धित कार्यालयका कर्मचारीलाई आग्रह गर्दा उनीहरूमा पदको प्रभाव पर्छ र तत्काल कर्मचारी सजिला हुन्छन्। यसरी पदको प्रभावका आधारमा काम गराउने प्रवृत्ति पनि व्यापक छ। प्रभाव पार्ने तेस्रो तत्त्व नाता सम्बन्धको हो। सेवाग्राहीले कुनै न कुनै नाता जोडेर कर्मचारीसँग परिचय स्थापित गर्ने र अपेक्षित सेवाको बेलीविस्तार लगाउने हो भने पनि सेवा प्राप्ति छिटो हुन्छ। यसरी काम पट्याउने पंक्ति पनि ठूलै छ। चौथो प्रभाव पार्ने तत्त्व नगद वा जिन्सी उपहार दिएर काम गराउने हो। यस्लाई सोझो अर्थमा भन्न पर्दा घुस ख्वाएर काम गराउने भनिन्छ। भ्रष्टाचारका समाचार दिनहँु आउने गरेको तथ्यले चौथो प्रकारको प्रभाव पार्ने तत्त्वले कर्मचारीलाई ग्रसित बनाउँदैछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।

उल्लेखित चार प्रकारका प्रभावलाई फोर–पी (पोलिटिकल पावर, पोजिसनल इन्फुलुयन्स, पर्सनल रिलेसन र पेमेन्ट) को सूत्रको रूपमा बुझ्न सकिन्छ। यसरी कर्मचारीहरू खास प्रभावका आधारमा मात्र सेवा गर्न तत्पर हुने बानी बस्दै जाँदा ‘पी’ को प्रयोग गर्न नसक्ने सेवाग्राहीको काम कसरी होला ? यथार्थमा यस्ता निरीह वर्ग दिनहँु कार्यालयमा भौतारिन्छन्। तर काम भइरहेको हुँदैन। यहीनेर छ समस्या। यो समस्या चिन्ने र चिर्ने कसले ? यसको उत्तर हुन्छ सत्ताहाँक्ने राजनीतिक नेतृत्वले। नेतासँग पहुँच नभएका वा फोर–पीको प्रभावमा पारेर काम गराउन नसक्ने जनताको संख्या धेरै छ। तर उनीहरूका बारेमा नेतृत्वको ध्यान जाँदैन। पहुँच नभएका जनतालाई सुन्न र सहयोग गर्न हृदयमा हरि जाग्नु पर्छ। समस्याको चुरो यही हो। अब प्रश्न उठ्छ सेवाभावलाई कसरी प्रबल बनाउने ?

कर्मचारीमा सेवाभाव प्रबल गराउन सर्वप्रथम उनीहरूमा तीन प्रकारका गुण विद्यमान हुनु पर्छ। ती तीन गुण भनेका उत्पे्ररणा, मेहनत र क्षमता हुन्। उत्प्रेरणा भनेको नदेखिने गुण हो। जसरी तामाको तारमा विद्युत् प्रवाह भएको देखिँदैन तर बटन दबाएपछि बत्ती बल्छ वा पंखा चल्छ त्यसरी नै कर्मचारीको अनुहारमा उत्प्रेरणा देखिँदैन। तर कार्यसम्पादनको जिम्मेवारी पाएपछि निजले रहरका साथ काम गर्छ र हाँसिहाँसी सेवा गर्छ। यसरी गरेको काम प्रशंसनीय हुन्छ। यदि कर्मचारीमा उत्प्रेरणाको स्तर सेलाउँदै वा सुस्ताउँदै गएमा नकारात्मक व्यवहार प्रकट हुन थाल्दछ र काम पन्छाउने प्रवृत्ति बढ्छ।

कर्मचारीमा हुनै पर्ने दोस्रो गुण मेहनत हो। विकास र समृद्धिको लक्ष्य हासिल गर्न कर्मचारीे मेहनती हुनै पर्छ। जब कर्मचारी काम पन्छाउन पट्टि लाग्छन् तव उनीहरू अल्छी वा कप्टी भएको प्रमाणित हुन्छ। उत्प्रेरणाको अभावमा अल्छी वा कप्टी हुने स्वभाव विकास हुन्छ। कर्मचारीमा हुनै पर्ने तेस्रो गुण क्षमता हो। ज्ञान, सीप र सकारात्मक सोचको समष्टि क्षमता हो। ज्ञानले विषयको सैद्धान्तिक जानकारी दिन्छ। सो ज्ञानको प्रयोगले सीपको विकास गराउँछ। ज्ञान र सीपको प्रयोग गर्न सकारात्मक सोचको आवश्यकता पर्छ। सकारात्मक सोचले मानिसलाई उत्पादनशील र सिर्जनशील बनाउँछ। नेपालको कर्मचारीतन्त्रमा विद्यमान क्षमताको कुरा गर्दा ज्ञान र सीपमा खोट लगाउन मिल्दैन। तर उत्प्रेरणा र मेहनतको कसी लगाउँदा स्वयं उत्प्रेरित भएर मेहनत गर्ने कर्मचारीको संख्या १०-२० प्रतिशत हाराहारीमा भएको अनुमान गर्न सकिन्छ। हाम्रो देशमा सिस्टमले काम गर्दैन भन्ने कुरा जहाँ पनि जस्ले पनि भन्ने गर्छन्। तर पनि काम भएकै छ। कसरी भएको छ भन्दा अघि भने जस्तै फोर–पी को प्रभावमा काम भएको छ।

प्रश्न उठ्छ कर्मचारीतन्त्रमा सेलाएको सेवाभावलाई तताउन वा जागृत गराउन कस्ले अग्रसरता लिने ? अग्रसरता लिने काम सत्तामा पुग्ने राजनीतिक नेतृत्वको हो। जुनसुकै राजनीतिक दल सत्तामा पुग्दा पनि कर्मचारीको सरुवामै रमाउने प्रवृत्ति सदाबहार रूपमा प्रदर्शन हुँदै आएको छ। शीर्ष तहदेखि तल्लो तहसम्मका कर्मचारीलाई सकभर आफ्नै प्रभावमा राख्न रमाउने राजनीतिक दलहरूको नीतिले गर्दा प्रणाली बसाउने भन्दा पनि कर्मचारीहरूमा दलगत पक्षधरता कायम राख्नमै केन्द्रित हुने गरेको पाइन्छ। राम्रो कर्मचारीभन्दा पनि हाम्रो कर्मचारीको पक्षपाती रहँदै आएको देखिन्छ। यसै कारण सिस्टम बसाउने अवसर पटकपटक गुम्दै गएको छ।

सेवाभाव जागृत गराउने काम कठिन छ तर सम्भव छ। कर्मचारीलाई प्रेरणा, प्रोत्साहन र प्रशिक्षणले उत्प्रेरित, मेहनती र सकारात्मक सोच भएको बनाउन सकिन्छ। उनीहरूमा सुषुप्त भएको सेवाभावलाई जागृत गराउन सकिन्छ। यसो भन्नुको पछाडि तथ्यपूर्ण आधार छ। निर्वाचनको समयमा निर्वाचनमा खटिने कर्मचारीले उत्प्रेरित भएर, मेहनत गरेर र क्षमताको भरपुर प्रयोग गरेर उत्कृष्ट काम गरेको दृष्टान्त हाम्रो सामु छ। सो कसरी सम्भव भएको छ भन्दा प्रेरणा, प्रोत्साहन र प्रशिक्षणबाट नै भएको हो। यस्ले के कुरा पनि पुष्टि गर्छ भने कर्मचारीमा सेवाभाव सेलाएको मात्र हो मुलै सुकेको अवस्था होइन। अतः सेवाभाव जगाउन र राष्ट्रसेवकहरू साँचो अर्थमा राष्ट्रको सेवामा समर्पित हुन प्रेरणा, प्रशिक्षण र प्रोत्साहन नै उत्तम उपाय हो। यसैबाट उनीहरूमा सेवाभाव जागृत गराउन सकिन्छ।जन्मभूमिलाई सम्झेर संकल्प गर्ने र कर्म गर्ने हो भने असम्भव केही छैन। यसकालागि स्वयं उत्प्रेरणाद्वारा कर्मचारीभित्रै सेवाभावको दियो बल्नु पर्छ। सिंगो कर्मचारीतन्त्रले मनसा, वाचा कर्मणा इतिहास रच्ने समय यही हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.