युवा नायकको खोजी
हरेक आन्दोलन होस् या महामारी सबैमा युवाको खोजी गरिन्छ। किनकि यस कार्यमा युवाको भूमिका अहम् हुन्छ भन्ने कुरा शिक्षक, पत्रकार तथा बुद्धिजीवी सबैले स्वीकार गर्छन्। युवा भनेका वायु हुन्, युवासँग वायुसरह शक्ति हुन्छ। यिनले चाहे भने असम्भव काम पनि क्षणभरमा सम्भव छ भन्ने कथ्य नभएको पनि होइन। के हरेक युवामा वायुको शक्ति हुन्छ त ? यदि त्यो शक्ति युवामा हुने भए नेपालमा भइरहेका यी पटकपटकका प्रतिगमनमा युवाको शक्ति कसरी गायब भयो ? संसारलाई नै उल्का लाग्ने अपराधहरू कसरी दिन दुई गुणा र रात चार गुणा बढिरहेका छन् ? युवकले चाहेमा यी सबै दुष्कर्म छुमन्तर हुने भए किन युवाले चाहेका छैनन् त ? कस्ता युवामा परिवर्तनकारी शक्ति हुन्छ ? यो लेख यही विषयमा केन्द्रित छ।
युवा सडकमा उभिएर तमासा हेर्ने दर्शक होइन। युवाको अर्थ हो सिर्जना। युवापनले तिमी केही फरक गर भन्छ। आफ्नो अस्तित्व देखाऊ भन्छ।
मानिसको उमेरलाई मुख्यतः तीन तहमा बाँडिएको छ। पहिलो हो, कालक्रमिक उमेर। यसले मानिसको खास जन्मेको उमेरलाई बताउँछ। जन्मेको सालदेखि अहिलेसम्मको समय नै कालक्रमिक उमेर हो। दोस्रो हो, जैविक उमेर। जैविक उमेर भनेको ऊ कति वर्षको जस्तो देखिन्छ भन्ने कुरासँग सम्बन्धित छ। यो उमेर एउटै वर्षका मानिसको पनि फरकफरक देखिन सक्छ। आफ्नो स्वास्थ्य ख्याल गर्नेहरू वास्तविक उमेरभन्दा कम देखिन्छन् भने ख्याल नगर्नेहरू वास्तविक उमेरभन्दा बढीजस्ता देखिन्छन्। तेस्रो हो, मनोवैज्ञानिक उमेर। यो उमेर मानिसको परिपक्वतासँग सम्बन्धित छ। यस उमेरले कठिन परिस्थितिको सामना गर्ने क्षमता र निर्णय लिने क्षमतालाई अनुबन्धन गर्छ। तर यो उमेर सामान्यतया ६ वर्षदेखि ८ वर्षभित्रमा वृद्धि भइसक्छ। मानिसलाई कालक्रमिक उमेरका आधारमा बालक, युवा र वृद्ध भनिएता पनि युवापन मनोवैज्ञानिक उमेरसँग सम्बन्धित हुन्छ।
युवा हुनुको अर्थ
युवा भनेको मनको एउटा अवस्था हो। यो शारीरिक अवस्था होइन। शरीरलाई बूढो हुन बाध्यता छ तर मनलाई बूढो हुन बाध्यता हुँदैन। त्यस्तै बूढो हुनुको अर्थ, मन मरेको अवस्था हो। जबसम्म मन जीवितै हुन्छ तबसम्म मानिस युवा नै रहन्छ। मन मरेपछि भने पच्चिसै वर्षमा पनि बूढो हुन कसैले छेक्दैन। प्रायः हरेक युवाहरूका सपना पूरा भएका हुँदैनन्। मानिसको जीवन जस्तो हुन सक्छ, मानिसले जीवनमा जे पाउन सक्छ, जे गर्न सक्छ त्यही नै छुटिरहेको हुन्छ। सबै युवाले जीवनको रस पाउँदैनन्। कहिले काहीं कृष्ण, कहिलेकाहीं बुद्ध, कहिलेकाहीं जिजस, कहिलेकाहीं मण्डेला र गान्धीजस्ता मानिसमा जीवनको फूल फूल्दछ र वासना फैलिन्छ। तर बाँकी सबैको मानवता नफुलिकनै ओइलिन्छ र नष्ट हुन्छ। मानिसको पूरै इतिहास पल्टाएर हेर्ने हो भने औंलामा गन्न सकिने मानिस मात्र युवा हुन जन्मिन्छन्। उनीहरू कहिल्यै मर्दैनन्। बाँकी मानिसहरूको कुनै कथा हुँदैन। उनीहरू जीवनको कुनै सौन्दर्यलाई नबुझिकनै, समयको आवश्यक्तालाई नजाचिकनै मर्दछन्। के हामी यस्तै आँधो जीवनलाई जीवन भन्न सक्छौं ?
हाम्रा युवामा जीवनको जुन उत्साह, उमंग हुनुपर्ने हो त्यो छैन। आँखामा, प्राणमा, रौंरौंमा जीवन बाँच्ने जुन दुर्दनीय आकांक्षा हुनु पर्ने हो, त्यो छैन। जीवनलाई जान्नुभन्दा अगाडि नै जीवन बुझ्ने जिज्ञासाको हत्या गरिएको छ। न त यी युवाहरूका प्राणमा जीवनरूपी ती शिखरहरू चुम्ने आकांक्षा छ, न त उनीहरूको प्राणमा अज्ञात सागरको खोजी गर्ने अदम्य साहस। यी युवाहरूसँग न जीवनको प्रज्वलित प्रकाश छ, न निष्पट्ट अन्धकार। न हार न जित, न जीवनको गहिराइ, उचाइ। कुनै कुराको खोज गर्ने दुर्दनीय वेग, जुन गति, जुन ऊर्जा हुनु पर्छ त्यो फिटिक्कै देखिँदैन। युवाको जुन गति देखिएको छ, त्यसले नेपालमा युवाहरू जन्मिँदैनन्, खालि वृद्धहरू मात्र जन्मिरहेका छन् भन्दा अन्याय नहोला।
यदि युवा शारीरिक अवस्था हो भने त यहाँ सबैभन्दा बढी युवा नै छन्। तर युवा मानसिक अवस्था हो भने युवा छँदै छैनन्। यदि युवा हुँदा हुन त देशमा यत्रो घोटाला हुँदा, संवैधानिक कू हुँदा, यत्रो प्रतिगमन हुँदा सशक्त प्रतिरोध हुन्थ्यो। जीवन्त आन्दोलन हुन्थ्यो। बहुसंख्यक युवामा युवा चेत हुँदो हो त स्वेच्छाचारी तन्त्र क्षणभरमा ढल्थ्यो। त्यसैले त तैं चुप, मैं चुप। सबैजना चुप। हामीमा त्यो आँट, त्यो साहस हुँदोहो त सर्वोच्चले प्रतिगामीलाई लात हान्नुभन्दा पहिले युवाशक्तिले धुलो चटाइसकेको हुन्थ्यो। युवा हुनलाई उमेरले मात्र पुग्दैन, विद्रोहको ज्वाला हुनुपर्छ, देशलाई भड्खालोबाट निकाल्ने अदम्य साहस हुनुपर्छ। खोइ त जे भइरहेको छ, स्वाभाविक ठानिएको छ। देश भ्रष्टाचारको जालोले जकडिएको छ, खै कसले हो देश चलाइरहेका छन्। शिक्षा, स्वास्थ्य लगायत अधिकांश क्षेत्रमा निश्चित मान्छेको सिन्डिकेट छ। राज्यका हरेक अंगहरूमा निश्चित वर्गको पकड छ। यो देशमा युवा हुँदा हुन त यी सबै कसरी सहेर बस्न सक्थे ?
देशमा यति दुर्गन्ध फैलिँदा यदि युवा हुँदा हुन् त यो दुर्गन्धको डायलासिस खोजिन्थ्यो होला। किन यो दुर्गन्धमा अचेत भएर बसिन्थ्यो र ? बेरोजगारका विरुद्ध बोलिन्थ्यो। कालोबजारीका बिरुद्ध बोलिन्थ्यो। सिन्डिकेटको बिरुद्ध बोलिन्थ्यो। हत्याहिंसा, बलत्कारजस्ता कार्य निरुत्साहित हुन्थे। किन मौलाइरहेका छन् त यी दुष्कर्म ? युवा नबोल्नाले। युवामा बोल्ने सहस नहुनाले। समग्रमा युवामा युवापन नहुनाले। यो विकृतिको सशक्त विरोध हुन सकेको भए किस्ताबन्दीमा किन दोहरिन्थे यी विकृति ? देशमा युवा हुँदा हुन् त यो देशलाई तहसनहस गर्न खोज्ने अपराधीहरू, तस्कर र माफियाहरू जेलमा सडिसकेका हुन्थे। तर देशमा युवा छैनन्, त्यसैले त जस्तोसुकै मूढता पनि चल्छ यहाँ। देश अन्धकारको महायात्रामा कुदिरहेको छ। जे हुँदै छ, युवाहरू राजी हुँदै जान्छन्।
भित्र विद्रोहको ज्वाला नभएको युवा के युवा ? ऊ भित्र युवापन हुनुको के अर्थ ? गलत कुराका अगाडि निहुरिनेलाई के युवा भन्ने ? जो छिन्न भिन्न भए पनि, ननिहँुरिदो हो, त्यस्तो चेतनाको नाम पो युवा। युवा हुनुको एउटै अर्थ छ, विद्रोहको त्यस्तो आगो जो निभ्नै जान्दैन। छिन्नभिन्न हुन सक्छ हारेर फर्किंदैन। समाजलाई नयाँ दिशा र नयाँ आयामतिर लैजान आतुर हुन्छ। जिन्दगीलाई परिवर्तन गर्न चाहन्छ। विद्रोहको विकराल स्वरूपको पहिचान दिन्छ।
मानिसलाई डोरीले बाँधेर नदीमा हालिन्छ, किशोरीलाई अकल्पनीय पीडा दिएर बलात्कार गरिन्छ। युवा सडकमा रमिता हेरेर बस्छन्। यस्ता ज्यादतीका शृंखलाले पनि रगत उम्लिँदैन भने, समाजलाई न्यायको आवश्यकता भएको महसुस हुँदैन भने २५ वर्षको हुँदैमा कसैलाई युवा हुने अधिकार छैन। हाम्रो देश पूरै बूढैबूढाको देश हो। त्यसैले त देखेको नदेखेझैँ, सुनेको नसुनेझैँ भइरहेको छ। सन् १९६२ मा चीनमा ठूलो अनिकाल पर्यो। ब्रिटेनका केही परोपकारी मानिसहरूले एउटा ठूलो जहाजमा खाने कुरा पठाइदिए। चिनियाँ नागरिकले त्यसलाई स्वीकार गरेनन्। जहाजमा ठूलाठूला अक्षरले ‘हामी बरु मर्न तयार छौं तर भीख स्वीकार छैन’ लेखेर जहाज फर्काइदिए। हामी भए के गथ्यौं होला ? फूलका माला पहिराएर जय जयकार गथ्र्यौं होला। तर उनीहरूले गरेन्। युवाले यस्तै स्वाभिमानी काम गर्न सक्छ। भोकै मर्नु त्यति नराम्रो होइन जति भीख माग्नु नराम्रो हो। भित्र तातो रगत बग्छ भने पो नराम्रो लाग्छ। चोट पर्छ। अपमान हुन्छ तर हाम्रो त अपमान नै हुँदैन। हामीले शान्तिपूर्वक अपमान खप्दै आएका छौं।
युवा सडकमा उभिएर तमासा हेर्ने दर्शक होइन। युवाको अर्थ हो, सार्थक बचाइँ। युवाको अर्थ हो सिर्जना। युवापनले तिमी केही फरक गर भन्छ। आफ्नो अस्तित्व देखाऊ भन्छ। तर यहाँको युवा तमासेभन्दा माथि होइन। देशभरि मनपरी भइरहेछ। बुद्धिहीनहरूले देश चलाइरहेका छन्। युवा त केवल माटाका डल्लासरि घरी यता सारिएको छ, घरी उता सारिएको छ। कहिले घरबाट सडकमा सारिन्छ। कहिले सडकबाट घरमा। उपलब्धि खोज्दा सेल्फीका केही थान फोटा सिवाय केही छैन। जस्ले जता तान्छ त्यतै सारिन्छ। किन यता ? किन उता ? जोसँग तर्क छैन, प्रश्न छैन,
जिज्ञासा छैन बिना सर्त चुपचाप सारिन्छ । यस्तो पनि युवाको लक्षण हो र ? संघर्ष पनि छैन, पुकार पनि छैन, सोधखोज पनि छैन। त्यसैले युवा माटाका डल्लाभन्दा बढ्ता केही पनि भएन।
हामी किन यसरी भागिरहन्छौं ?
मानिसले सबैभन्दा सजिलो कुन कुरालाई ठान्दछ भने, जे भइरहेको थियो त्यस्तै भइरहोस्। त्यसै कारण पुरानै तरिकाले परिवार चल्दै जान्छ। समाज व्यवस्था चल्दै जान्छ। पुरानै तरिकाले सोच्ने तरिका चल्दै जान्छ। परम्परा तोड्ने काम कठिनजस्तो देखिन्छ। परिवर्तन गर्ने काम सजिलो अवश्य होइन। परम्पराको तोडफोड किन हुँदैन भने पहिलो त पुरानो बानीको विकास नै हो। दोस्रो, नयाँ निर्माण गर्ने कठिनाइ। त्यो पुस्ताले मात्र पुरानालाई भंग गर्न सक्छ जसले नयाँ सिर्जना गर्ने क्षमता राख्छ। जुन पुस्ता आफू पनि अघिल्ला पुस्ताका पछि दौडेका थिए। त्यसैले तथाकथित युवाको पहिलो काम पुरानो परम्परा र पुरानो पुस्ताको पछि दौड्ने नभई साँच्चैको युवा जन्माउनु हो। जसले शारीरिक यौवनलाई हेरेर तृप्ति नलेओस्। कसैले गंगालाल जन्माउन सकोस्।
कसैले बुद्ध, त कसैले मण्डेला जन्माउन सकोस्। तर विडम्बना हिट्लर, तैमुर, चंखेज खान प्रत्येक बेतमा जन्मिन्छन्। गान्धी जन्मिँदैनन्, माक्र्स जन्मिँदैनन्। यही परम्परा तोड्न आँट गरोस्।
युवाको यौवन संघर्षबाट सुरु हुन्छ। जब सत्य, न्याय, भातृत्वका लागि संघर्ष हुन्छ, त्यो स्वस्थ र सुन्दर हुन्छ। हामी जसका लागि संघर्ष गर्छौं त्यही भइदिन्छौं। जनताका लागि लड्यौं भने जनवादी हुन्छौं। सत्यका लागि लड्यौं भने सत्यवादी हुन्छौं। तर लडेनौं भने उभिँदा उभिँदै हामी त्यही सड्ने पक्का छ। जीवन संघर्ष हो, संघर्षबाटै जीवन सुरु हुन्छ। हामी जन्मिँदा गरिने संघर्षलाई सम्झिन सक्यौं भने त दुनियाँको कुनै बाधाले पनि हामीलाई छेक्न सक्दैन। एउटा युवाको जिम्मेवारी संघर्षको अवसर खोज्नु पनि हो, सत्य, सच्चाइ र इमान्दारिताका लागि। संघर्षमा जीवनरस छ। जीवन रसलाई जसले बुझ्दछ, ऊ कहिल्यै मर्दैन। त्यसैले यो देशलाई जीवन रस बुझेका नायक आवश्यक छ। जस्ले विद्यमान परिस्थितिको शल्यक्रिया गरी अलौकिक पहिचानको दिशामा समाजलाई लैजान सकोस्। के यो सम्भव छ ?