नुवाकोटमा हेलिप्याडसहितको गंगटे पार्क निर्माण
नुवाकोट : नुवाकोटको विदुर नगरपालिका-५ निवुवाडाँडामा हेलिप्याडसहितको गंगटे पार्कले आन्तरिक तथा वाहय पर्यटक आगमन बढेको छ। बागमति प्रदेश सरकारको सहयोगमा नुवाकोटमै पहिलो हेलिप्याडसहितको गंगटे पार्क निर्माण गरिएको हो।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पार्कको शुभारम्भ गरेका हुन्। पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्ने गरेको र निर्माण कार्य अन्योल हुने गरेकोमा गंगटे पार्कले समयमा नै उचित नतिजा देखाएको दाबी गरे। पार्कलाई सधै नगरपालिका र प्रदेश सरकारले संरक्षण गर्न नसक्ने भन्दै अब यसै पार्कलाई आम्दानीमुखी बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा बागमती सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मैनालीले गंगटे पार्क नुवाकोट जिल्लाको पहिचान बन्ने बताए। जिल्लामा रहेका अन्य संरचनाहरु जस्तै यस पार्क पनि एक महत्वपूर्ण रहेको उनले बताए।
विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले यस पार्क विदुर नगरकै पहिचान भएको बताए। हरेक उमेर समूहका व्यक्तिहरुको रोजाईमा यस पार्क पर्दै गएकोले यसले समग्र नगरको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गरेको बताए। पछिल्लो समय स्थानीयहरुको मनोरञ्जनको मुख्य केन्द्र बनेको पार्क आकर्षणको केन्द्र बिन्दु भएको छ।
बालबालिका खेल्नेदेखि सबै उमेर समूहका मानिस त्यहाँ पुगेर सुन्दर वातावरणमा आराम महसुस गर्दै दिनहरु बिताउने माध्यम बनेको छ। बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको समपुरक अनुदानमा सो पार्क निर्माण गरिएको वडाध्यक्ष शिवकुमार चित्रकारले बताए।
विदुर नगरपालिकाको एक वडा एक पार्क अवधारणअनुसार विदुर ५ निवुवाडाँडामा निर्माण गरिएको गंगटे बाल उद्यान तथा शान्ति पार्कको औपचारिक रुपमा शुभारम्भ गरिएको छ। पार्कको उद्घाटनसँगै वनजंगलमा भौतिक संरचनाहरु निर्माण गर्न सकेमा पर्यटकलाई भुलाउने गतिलो गन्तव्य स्थल बनाउन सकिने विदुर नगरपालिकाले जनाएको छ।
यस पार्कबाट विदुर नगरपालिकाका सबै स्थान देख्न सकिन्छ। नुवाकोटको पनि अधिकांश स्थान देखिन्छ। पर्यटन प्रवर्धन गर्ने उद्धेस्यले नुवाकोटकै ककनी, चिम्टेश्वर लगायतको स्थानमा भ्यू टावर निर्माण गरिएका छन्।
बाल उद्यान तथा शान्ति पार्कमा भ्यू टावर निर्माण गर्न सकेमा थप आकर्षक बन्नेमा बागमती प्रदेश सरकार विश्वस्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेको भनाई छ। पार्कको संरक्षण गर्ने जिम्मेवारी वडा, नगरपालिका या प्रदेश सरकार भनेर तोक्दा समस्या निम्तन सक्ने भन्दै मन्त्री पाण्डेले पार्कबाटै आम्दानी हुने श्रोत जुटाउन सकेमा संरक्षण गर्न र थप संरचना निर्माण गर्न सहज हुने बताए।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले खाली रहेको सार्वजनिक जमिनको सदुपयोग गरेर आर्थिक पक्षलाई सबल बनाउने सम्भावना प्रचुर रहेकोले प्रदेश सरकार त्यसमा केन्द्रित रहेको जनाए। उत्पादनको क्षेत्रमा लगानी गरे मात्र समृद्ध नेपाल सुखि नेपालीको नारालाई सार्थकता दिन सकिने उनको भनाई छ।
बाल उद्यान तथा शान्ति पार्क जस्तै विदुर नगरपालिकाको १३ वटै वडामा एकएक वटा पार्क निर्माण गर्ने योजना भएता पनि विदुर-५ नगरपालिकाको केन्द्रविन्दुको रुपमा रहेकोले विशेष प्राथमिकतामा गगटे बाल उद्यान तथा शान्ति पार्क परेको विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले बताए। पार्कलाई मिनि चिडियाखानाको रुपमा विकसित गर्ने नगरपालिकाको लक्ष्य रहेको उनको भनाई छ।
नगरपालिकामा धेरै नीतिगत योजनाहरु सम्पन्न गरेपनि नगरपालिकालाई पहिचान गराउने पार्कको रुपमा गगटे बाल उद्यान तथा शान्ति पार्क निर्माणले थप सन्तुष्टि मिलेको विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहालअर्यालले भविष्यलाई सोचेर नगरपालिकाले योजना बनाइरहेको पनि बताइन्। संघ र प्रदेशसँग हातेपालो गर्दै नगरपालिकाको पहिचान झल्काउने संरचनाहरु निर्माण गरिरहेको भन्दै उनले आर्थिक सामाजिक र पुर्वाधारको क्षेत्रमा नगरपालिकाले फड्को मारेको बताइन्।
विदुर नगरपालिका र वागमती प्रदेश सरकारको आर्थिक सहकार्यमा निर्माण भएको गंगटे पार्कमा हेलिप्याड, पानीको फोहोरा, खुल्ला व्यायाम शाला, बालबालिकाको लागि खेल्ने पिङ, विश्राम स्थल लगायतको संरचना निर्माण गरिएको छ। पार्कलाई अझै आकर्षित बनाउन भ्यू टावर, स्वीमिङ पुल, विभिन्न खेल स्थलको व्यवस्था गर्नलाई नगरपालिका र प्रदेश सरकारलाई वडा अध्यक्ष चित्रकारले ध्यानाकर्षण गराएका छन्।
वनभोज स्थलको रुपमा समेत विकसित हुदै गइरहेको गगटे बाल उद्यान तथा शान्ति पार्कको संरक्षण र थप व्यवस्थित बनाउन सम्बन्धित निकायले चासो दिनु आवश्यक रहेको सरोकारवालाले बताएका छन्। पार्क घुम्न विदुर नगरपालिकाका साथै जिल्लाभरीकै सर्वसाधारण पुग्ने गरेका छन्।