पशु बिमामा पनौती उत्कृष्ट

पशु बिमामा पनौती उत्कृष्ट

काभ्रे : छाकमै आठ लिटर दूध दिने लैनो भैंसी मरेपछि रूपा न्यौपानेको परिवार बिखलबन्दमा पर्‍यो। पनौती नगरपालिका– ६ की न्यौपाने भैंसी मरेको थाहा दिन केही दिनपछि पशु बिमा कम्पनीमा पुगिन्।
बिमा कम्पनीबाट फर्केको भोलिपल्टै उनको गोठमा नयाँ भैंसी बाँधियो। बिमा कम्पनीले क्षतिपूर्तिस्वरूप ९० हजार रुपैयाँ उपलब्ध गराउने भएपछि उनको गोठ एक दिनभन्दा बढी खाली भएन। 

पनौती–११ का धनबहादुर श्रेष्ठको दिनमै १० लिटरभन्दा बढी दूध दिने भैंसी पनि गोठमै मर्‍यो। तुरुन्त उनले कागजात बिमा कार्यालयमा बुझाए। साता दिनमै रकम भुक्तानी गरियो। बिमाबापतको रकम पाएलगत्तै श्रेष्ठले केही रकम थपथाप गरेर अर्को भैंसी ल्याए। 

पनौतीकै सन्तोष राउतको गोठमा अघिल्लो साल मध्यरातमा सल्केको आगोले उनका ९ वटा दुहुना भैंसी खायो। तर, महिना दिन नबित्दै पुनःउनको गोठमा भैंसी बाँधिए। उनले नौ वटा भैंसीको प्रतिगोटा एक लाखका दरले क्षतिपूर्ति पाए। एक महिनामै १२ वटा भैंसी थपेर उनले फार्मलाई अझ व्यवस्थित पारे। अहिले राउतले दैनिक ९० लिटरभन्दा बढी दूध बिक्री गर्छन्। 

पशुपालनमै आश्रित किसानलाई पशुधनको क्षति भएपछि ठूलो समस्या पर्ने भएकाले बिमामार्फत किसानको समृद्धि खोजिरहेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने बताउँछन्। रोग लागेर पशु मरेमा ९० प्रतिशत बिमा रकम क्षतिपूर्तिबापत कृषकले पाउने भएपछि किसानले राहत महसुस गरेका छन्। पनौतीमा समुदायले सञ्चालन गरेको पशु बिमा कार्यक्रम, बिमा कम्पनी तथा सहकारीमार्फत किसानका पशु चौपाया तथा कुखुराको बिमा गरिएको छ। जसका कारण किसानले क्षतिको तत्कालै पूर्ति पाउँछन्।

आर्थिक वर्ष २०७७/०७८ मा पनौती नगरपालिकामा रहेका पशुमध्ये ६८ वटा मर्दा किसानले ४० लाख रुपैयाँ क्षतिपूर्ति पाएका पनौती नगरपालिका पशुपन्छी शाखा प्रमुख पशु चिकित्सक मणिप्रसाद सापकोटाले जानकारी दिए। गाई र भैंसीको एक लाखबराबरको बिमा गराउन २ हजार ५ सय लाग्नेमा नगरपालिकाले १२ सय ५० किसानलाई अनुदान दिने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले बताए। 
पछिल्लो वर्ष नगरपालिकाले बिमाबापत २७ लाख रुपैयाँ किसानलाई उपलब्ध गराएको छ। नगरको कृषि तथा पशुपन्छी शाखाको समन्वयमा किसानको बिमाबापत यो आर्थिक वर्षमा समुदायिक बिमामार्फत १५ लाख र कम्पनी मार्फतको १२ लाख अनुदान रकम भुक्तानी गरेको छ। 

असल अभ्यास 
पशु बिमा तथा भैंसी संरक्षणमा पनौती नगरपालिका मोडेल मुलुककै उत्कृष्ट भएको छ। बिमामार्पmत किसानको पशुधनको सुरक्षा गर्ने योजनाअनुसार पनौतीमा सामुदायिक बिमा सफल देखिएको छ। पाँच वर्षयता पनौतीमा बिमा गर्ने किसानको संख्यामा निक्कै वृद्धि भएको छ। हरेक वर्ष बिमा गराउने किसानको संख्यामा २० प्रतिशतले वृद्धि भएको नगरपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.