चीनले सैन्य चाप बढाए एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी, सिंगापुरमा विदेशी हस्तक्षेप रोक्न भन्दै विवादित कानुन पारित

चीनले सैन्य चाप बढाए एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी, सिंगापुरमा विदेशी हस्तक्षेप रोक्न भन्दै विवादित कानुन पारित

मंगलबार अन्तरिक्षमा पहिलो फिल्म सुटिङ, ताइवान र चीनबीच तनाव बढ्ने संकेत, फेसबुकका सीईओ मार्क जुगरवर्गले मागेको माफी लगायतका समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख स्थान पाए । त्यस्तै अफगानिस्तानमा तालिबानले हजारा जातिको हत्या गरेको एमनेस्टी इन्टरनेशनलको रिपोर्ट सार्वजनिक भएको खबर पनि चर्चामा रह्यो । प्रस्तुत छ, विश्वका केही प्रमुख खबरहरू :

०००

ताइवानमा सैन्य चाप बढाउन चीनको निर्देशन, सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी 

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैन्य चाप अझै बढाउन निर्देशन दिएका छन्। उनले मंगलबार चीनको उच्चस्तरीय सैन्य अधिकारीसँगको भेटपछि सो निर्देशन दिएका हुन्। 

चिनियाँ स्रोतका अनुसार राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय सेन्ट्रल मिलिट्रि कमिसनसँग भेट गरेका छन्। यसै महिनाको सुरुवातमा अमेरिका र जापानसहित अन्य छवटा लोकतान्त्रिक मुलुकले ताइवाननजिकै सामुद्रिक टापुमा सैन्य अभ्यास गरेको सन्दर्भमा राष्ट्रपति सीले सो भेट गरेको बताइएको छ। 

चीनले गत शुक्रबारदेखि निरन्तर ताइवानको वायु रक्षा क्षेत्रमा ठुलो संख्यामा आफनो युद्धक विमान पठाइरहेको छ। विगत तीन दिनमा चीनले करिब १५० युद्धक विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको छ। 

यता ताइवानले चीनले सूचनाबिना आफ्नो रक्षा क्षेत्रमा विभिन्न बहानामा युद्धक विमान पठाएको भन्दै आपत्ति जनाइरहेको छ। मंगलबार ताइवानका राष्ट्रपति साई इङ वेनले चीनको गतिविधिले एसिया क्षेत्रमा शान्ति खलबलिने र विनाशकारी अवस्था आउन सक्ने चेतावनी दिएकी छिन्।
०००

व्यापार सम्झौता पुरा गर्न चीनलाई अमेरिकाको दबाब 
वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले व्यापार सम्झौतामा गरेको प्रतिबद्धता पुरा गर्न चीनलाई दबाब दिएको छ। प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालनमा भएको दुई देशबिचको व्यापार सम्झौता पुरा गर्न चीनलाई दबाब दिएको हो। 

चीन–अमेरिकाबिचको व्यापार नीति सम्बन्धी प्रतिबद्धता चीनले पुरा नगरेको आरोप व्यापार प्रतिनिधि क्याथरिन ताईले लगाएकी छन्। ‘चीनले ‘पहिलो चरण’को सम्झौता पूर्ण रुपमा सम्बोधन गरेको छैन’ क्याथरिनले भनेकी छन्, ‘आफ्नो अनुचित व्यापार अभ्यासले व्यापार सम्झौतामा गरेको प्रतिबद्धतामा पनि चीन असफल बनेको छ।’ 

चीन र अमेरिकाबिच सन् २०१७ मा करिब २०० बिलियन डलरको व्यापार सम्झौता भएको थियो। जसअनुसार अमेरिकाले उत्पादन गरेको वस्तु खरिदमा वृद्धि गर्ने प्रतिबद्धता चीनले गरेको थियो। सो सम्झौताको समयावधि सन् २०२१ सम्मको लागि तोकिएको थियो। 

अमेरिकाले चीनसँग नयाँ व्यापार सम्झौताको लागि वार्ता गर्न चाहेको समेत ताईले बताएकी छन्। 
०००

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई 
स्टकहोल्म : यस वर्ष भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकले पाएका छन्। मंगलबार घोषणा गरिएको नोवेल पुरस्कार वैज्ञानिक स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले पाएका हुन्।

जटिल भौतिक प्रणाली बुझ्न र जलवायु परिवर्तनको भविष्यवाणीबारे उनीहरुले गरेको खोजको लागि दी रोयल स्विडिस एकाडेमी अफ साइन्सले २०२१ को नोवेल पुरस्कारले सम्मान गरेको हो। 

वैज्ञानिक मानाबे र हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र यसको भविष्यवाणाीमाथि संयुक्त खोज गरेका थिए भने जर्जियोले परमाणुदेखि ग्रहसम्मको अन्तरक्रिया र उतारचढावबारे खोज गरेका थिए। 

मानाबे सन् १९३१ मा जापानमा जन्मिएका थिए भने हसलम्यान सन् १९३१ म जर्मनीमा जन्मिएका थिए। पेरिसी सन् १९४८ मा इटालीमा जन्मिएका थिए। 
०००

सिंगापुरमा विदेशी हस्तक्षेप रोक्न भन्दै विवादित कानुन पारित 
सिंगापुर : सिंगापुरको संसदले मंगलबार एक विवादित कानुन पारित गरेको छ। विदेशी हस्तक्षेप रोक्न र नियन्त्रणका लागि भन्दै संसदले विवादित कानुन पारित गरेको हो। 

सो कानुनले देशको हितमा नभएका इन्टरनेट प्रदायक सेवा र अन्य सामाजिक सञ्जालमार्फत दिइने सूचनामा प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिएको छ। देशको सुरक्षाका लागि कतिपय बाह्य सूचना खतरनाक हुुने भन्दै गम्भीर खतराको लागि सो कानुन आवश्यक रहेको सिंगापुर सरकारले जनाएको छ। 

करिब १० घण्टा लामो बहसपछि सोमबार मध्य राति सो कानुन पारित गरिएको थियो। 

सो कानुनले देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप रोक्ने अपेक्षा सिंगापुर सरकारले गरेको छ। यद्यपि, विज्ञहरुले सिंगापुरको सो कानुन विवादित बन्ने अनुमान गरेका छन्। 
०००

अन्तरिक्षमा फिल्म छायांकन गर्ने रुस संसारको पहिलो मुलुक 
मोस्को : रुसले मंगलरबार अन्तरिक्षमा फिल्म छायांकन सुरु गरेको छ। अन्तरिक्षमा फिल्म छायांकन गर्ने रुस संसारकै पहिलो मुलुक बनेको छ। 

पृथ्वीदेखि ३५४ किलोमिटर दुरीमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रुसले पहिलो फिल्म छायांकन सुरु गरेको हो।

छायांकनको लागि फिल्म निर्देशक, क्रु सदस्यको टोली एलन मस्कको कम्पनीले निर्माण गरेको रकेटमार्फत अन्तरिक्षमा पुगेको छ। सो फिल्मको छायांकन १२ दिनसम्म चल्ने बताइएको छ। 

अन्तरिक्षमा छायांकन थालिएको फिल्मलाई रुसका सञ्चारमाध्यमले प्राथमिकता दिएका छन्। 

यस वर्षको सुरुवातमा हलिउड अभिनेता टम क्रुइजसहित नासा र स्पेस एक्सले हलिउड परियोजनाअन्र्तगत अन्तरिक्षमा फिल्म छायांकन गर्ने घोषणा गरेका थिए।
०००

वैश्विक तापमान वृद्धिले १४ प्रतिशत कोरल रिफ नष्ट
वैश्विक तापमान वृद्धि र जलवायु परिवर्तनका कारण सामुद्रिक पारिस्थितिक प्रणालीमा ठूलो असर पुगेको एक अध्ययनले देखाएको छ। ग्लोबल कोरल रिफ मोनिटरिङ नेटवर्क (जिसीएमएन)ले गरेको एक अध्ययनअनुसार वैश्विक तापक्रम वृद्धिका कारण १४ प्रतिशतभन्दा बढी समुद्रमुनि पाइने लेउ (कोरल रिफ) नष्ट भएको छ। 

विगत १० वर्षयता १४ प्रतिशत कोरल रिफ नष्ट भएको मंगलबार सार्वजनिक जिसीएमएनको सो अध्ययनले देखाएको हो। 

सो अध्ययनअनुसार दक्षिण एसिया र प्रायद्विप क्षेत्र, अरबियन प्रायद्विप र अष्ट्रेलियाको समुद्री किनारमा पाइने कोरल रिफ नष्ट भएका हुन्। कोरल रिफले समुद्रको ०.२ प्रतिशत मात्र ओगट्ने गर्छ। अध्ययनपछि समुद्रमा पाइने विभिन्न जिवहरु तिनै कोरलहरुमा आधारित हुने भएकोले कोरल रिफ नष्ट हुनु  खतराको घण्टी भएको चेतावनी वैज्ञानिकले दिएका छन्। 

सो अध्ययन जिसीएमएनका ३ सय वैज्ञानिकले ४० वर्ष समय लगाएर तयार पारेका हुन्। अध्ययन ७३ भन्दा बढी सामुद्रिक मुलुकमा आधारित छ। 
०००

भारतमा दूषित पानी पिउँदा ६ को मृत्यु 
कर्नाटक : भारतको कर्नाटकस्थित विजयानगर जिल्लामा दूषित पानी पिउँदा ६ जनाको ज्यान गएको छ भने २ सयभन्दा बढी मानिस बिरामी परेका छन्। विजयनगरस्थित माकरब्बि गाउँका ६ जनाको ज्यान गएको हो। 

इन्डिया टुडेमा मंगलबार प्रकाशित समाचारअनुसार दूषित पानी पिउँदा सो घटना भएको हो। विजयानगर जिल्ला प्रशासनले सो क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ भने बिरामी बोक्न दुईवटा एम्बुलेन्स सञ्चालन गरेको छ।

दूषित पानीको कारण बिरामी परेका मानिसमा झाडापखाला र लगातार बान्ताजस्ता लक्षण देखिएको बताइएको छ। सो घटनाको छानबिन तथा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले घटनास्थलमा एक टोली खटाएको बताइएको छ। 
०००

जुकरवर्गले मागे माफी 
क्यालिफोर्निया : फेसबुकका संस्थापक मार्क जुकरवर्गले माफी मागेका छन्। जुकरवर्गले सोमबार राति ६ घण्टासम्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सेवा बन्द भएकोमा प्रयोगकर्तासँग माफी मागेका हुन्।

सोमबार राति विश्वव्यापी रुपमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप गरी तिनवटै सामाजिक सञ्जालको सेवा अवरुद्ध भएको थियो। करिब ६ घण्टा सो सेवा अवरुद्ध हुँदा संसारका ३ खर्बभन्दा बढी प्रयोगकर्तामा असर पुगेको थियो। 

फेसबुकले प्राविधिक समस्या देखिएको भन्दै ६ घण्टापछि आफ्नो सेवा पुन: सञ्चालन गरेको थियो। 

संस्थापक जुकरवर्गले आन्तरिक समस्या समाधानको क्रममा सेवा अवरुद्ध भएकोमा माफी मागेको बीबीसीमा समाचार छ। 
०००

तालिबानले १३ जना हजारा जातिको हत्या गरेको आरोप
काबुल : एम्नेस्टी इन्टरनेसनलले तालिबानले अफगानिस्तान कब्जामा लिएपछि हजारा जातिका विभिन्न सदस्य मारेको आरोप लगाएको छ। मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै एम्नेस्टीले अफगानिस्तानको जातीय समूह हजाराका कम्तिमा १३ सदस्य मारेको आरोप तालिबानलाई लगाएको हो।  

एम्नेस्टी इन्टरनेसनलका अनुसार अगष्ट ३० देखि हालसम्म तालिबान लडाकुले खिदर जिल्लामा मात्र हजारा समूहका १३ सदस्य मारेको छ। त्यसबाहेक तालिबानले अफगान राष्ट्रिय सुरक्षा बलका ११ वटा पूर्व सदस्य मारेको छ। 

तलिबानले उनीहरुको निर्ममतापूर्वक हत्या गरेको सो रिपोर्टमा उल्लेख छ। तालिबानविरोधी आइएसआइएसले समेत हजारा जातिको हत्या गरेको अलजजिरामा समाचार छ। 

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.