चीन र अमेरिकी राष्ट्रपतिबीच आकस्मिक छलफल
वासिङटन : ताइबानबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच आकस्मिक छलफल भएको छ। चीनले श्रृंखलाबद्ध रुपमा ताइबानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएपछि आफुहरुबीच आकस्मिक छलफल भएको बाइडेनले बताएका छन्।
‘ताइबानमाथि चीनले गरेको पछिल्लो श्रृंखलाबद्ध गतिविधिबारे मैले राष्ट्रपति सिसँग आकस्मिक छलफल गरिसकेको छु’ मंगलबार ह्वाइट हाउसस्थित रिपोर्टरहरुसँग बाइडेनले भने,‘ताइबान सम्झौताको पालना गर्नेमा हामी सहमत छौं। साथै मलाई लाग्छ, चीनले आफ्नो सम्झौता पालना गर्नुबाहेक अन्य विकल्प छैन।’
चीनले शुक्रबारदेखि श्रृंखलाबद्ध रुपमा ताइबानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएको छ। सोमबार मात्र आफ्नो वायु रक्षा क्षेत्रमा ५६ युद्धक विमान पठाएको ताइबानको दावी छ। ताइबान नजिकै सैन्य अभ्यासको लागि आफुले सो विमान पठाएको र हालसम्मकै रेकर्ड तोडेको चीनको भनाई छ।
स्वायत्त राज्य ताइबानले पछिल्लो समय चीन र आफुबीच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिएको छ। बुधबार ताइबानका रक्षा मन्त्री सिउ कुओ चेङले प्रतिक्रिया दिँदै भने, ‘चीनको पछिल्लो सैन्य गतिविधिले तनाव दिएको छ। सो तनावका कारण हामीबीचको सम्बन्ध पछिल्लो समय ४० वर्षयताकै खराब भएको छ। चीनले यहि गति कायम राख्ने हो भने सन् २०२५ सम्ममा ताइबानको टापु पुर्ण रुपमा आक्रमण गर्न सक्छ।’