सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट पाथिभराको दर्शन
धरान : सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट प्रदेश १ को धार्मिक तथा पर्यटकीय सहर धरानदेखि ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गर्न सकिने भएको छ। वडा दशैं तथा शुभ दिपावली २०७८ को अवसरमा धरान होलिडेज प्रा.ली र सिम्रिक एयरलाइन्सको संयुक्त आयोजनामा बिहीबारदेखि आन्तरिक तथा वाहिय पर्यटकहरुलाई लक्षित गरी सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट तिर्थ यात्रा गराउन लागिएको हो।
पाथिभरा को मन्दिरसम्म तिर्थयात्रा गराउने यात्रुहरुका लागि धरान होलिडेज प्रा.लीको व्यवस्थापनमा बुधबार बेलुका सिम्रिक एयरलाइन्सको हेलिकप्टर धरान पुगेको छ। धरान १६ स्थित रंगाशालादेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म हवाई सेवा सञ्चालन हुने भएको छ। प्रदेश १ को पर्यटन प्रर्वद्धनलाई थप टेवा पुर्याउने उद्देश्यले हेलिकोप्टरबाट धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण प्याकेज ल्याएको धरान होलिडेजका प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए। उनले पाथिभरा दर्शन गर्नेहरुका लागि प्रति व्यक्ति ३२ हजार रुपैयाँको शुल्क निर्धारण गरिएको बताएका छन्।
दशैं तिहारमा आउने आन्तरिक तथा वाहिय पर्यटकलाई लक्षित गरी आयोजना गरिएको हवाई सेवा प्रदेश १ का बिरामी सर्वसाधारणका लागि समेत हवाई एम्बुलेन्सका रुपमा समेत सर्वसाधारणलाई सेवा उपलब्ध गराइने धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले बताए। धरान होलिडेजले २०७६ देखि यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले वर्षेनी हवाई सेवामार्फत पूर्वका पाथिभरा, हलेसी मन्दिरको दर्शन गराउनुका साथै रमणीय हिमाली श्रृखलाहरुको दृश्य अवलोकन गराउँदै आएको छ।
पाथिभरा मन्दिरको दर्शनका लागि क्याप्टेन राजेन्द्र दुवालसहितको प्राविधिक टोली तयारीका साथ धरान आएको सिम्रिक एयरलाइन्सका अप्रेसन म्यानेजर रमेशमान बज्राचार्यले बताए। उनले दशैं तिहारभरी हवाई सेवा प्रदान गर्ने सिम्रिक एयरलाइन्सको हेलिकाेप्टरको आन्तरिक व्यवस्थापनका लागि इन्जिनियर रोहित कपाली नेतृत्वको प्राविधिक टोली समेत धरान आईसकेको बताए। अप्रेशन म्यानेजर कर्माचार्यले मौसमले साथ दिएको खण्डमा दैनिक ७ देखि १० वटा फ्लाईट धरान-पाथिभरा उडान भर्ने जानकारी दिए।
धरान-पाथिभरा हवाई सेवा सञ्चालन हुने भएपछी पाथिभरा मन्दिर दर्शन गर्न जाने तिर्थालुहरुले हप्ता दिनसम्मको टिकट बुकिङ गरिसकेको धरान होलिडेजका म्यानेजर कविन श्रेष्ठले बताए। धरानका पर्यटन व्यवसायी बासुदेब बरालले दशैं तिहार लक्षित गरी धरान पाथिभरा सिम्रिक एयरलाइन्सबाट हवाई सेवा सञ्चालनले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा थप टेवा पुगेको बताए।