मासुदेखि पेयसम्म आयात
काठमाडौं : सामान्यतयाः चाडपर्वमा उपभोग्य खाद्य सामग्रीदेखि पेय पदार्थ र विलासीताका वस्तुहरू बढी खपत हुने गरेको छ। जसले आयात बढ्ने गरेको छ। केही कम्पनीहरूले ल्याउने छुटदेखि उपहारका योजनाले पनि दसैं तथा तिहारमा बढी खपत हुने गरेको छ। यद्यपि यसबेला उपभोक्ताबाट सबैखालका वस्तुहरूको आवश्यकताअनुसार माग आउने गरेको छ।
गत आर्थिक वर्षको तुलनामा ४५.७० प्रतिशतले आयात बढेको छ। व्यापार प्रवद्र्धन निकासी केन्द्र (टीईपीसी)का अनुसार आर्थिक वर्ष २०७८/०७९ को भदौ मसान्तसम्म ६३ अर्ब ४३ करोड ८१ लाख १५ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आवको सोही अवधिमा यस्तो वस्तु ४३ अर्ब ५४ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको आयात भएको थियो। यसअन्तर्गत दसैं लक्षित गरेर रक्सी, वाइन, वियर जस्ता पेय पदार्थदेखि अन्य सफ्ट ड्रिंग्सहरू, खाद्य तेल, दाल, ताजा तरकारी, फलफूल, खाद्यान्न, मसला, कपडा, जुत्तालगायतका सामग्री छन्।
भएदेखि वाणिज्य बैंकहरूमा आयातित वस्तुका लागि प्रतितपत्र (एलसी)को बढी माग आएको बैंकरहरू बताउँछन्। पछिल्लो समय आयातित वस्तुमै कर्जाको मागसमेत अधिक हुन थालेको छ।
व्यापार प्रवद्र्धन निकासी केन्द्रको तथ्यांकअनुसार सोयाबीन, सनफ्लावर र तोरीको तेल जस्ता खाद्य तेलहरू १८ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ। गत आर्थिक वर्षको ७ अर्ब ७५ करोड ७ लाख रुपैयाँ बराबरको भित्रिएको थियो। यसपटक ११ अर्ब १६ करोड रुपैयाँ बढी आयात भएको छ। दसैंलाई नै लक्षित गरेर भदौसम्ममा १० करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको खसीबोकाहरू नेपालमा आयात गरिएको केन्द्रले बताएको छ।
यस्तै, खाद्यन्नको आयात भने गत आवको भन्दा कम छ। चालू आवमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको आयात भएको छ। गत आर्थिक वर्ष १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको खाद्य आयात भएको थियो।
यसैगरी, दसैं लक्षित गरेर २ अर्ब ८९ करोड बराबरको कपडा र १ अर्ब १५ करोड बराबरको जुत्ता आयात भएको छ। यस्तै, कस्मेटिक वस्तुहरू २ अर्ब ९ करोड ३० लाख रुपैंयाको आयात भएको छ। दसैंका लागि २ अर्ब २४ करोडका मसला र २ अर्ब ३५ करोड बराबरको चिनी आयात भएको केन्द्रले जानकारी दिएको छ।
चाडपर्व नजिकिएकाले पनि अल्कोहलजन्य वस्तुको माग बढ्ने गर्छ। यसैले पनि चालू आवको भदौमा यस्ता वस्तुको आयात ३५ करोड २८ लाख ४० हजार रुपैयाँ बराबरको भएको छ। गत वर्षको सोही समय भने १९ करोडको रक्सी आयात भएको थियो। यद्यपि मदिरा व्यवसायीकाअनुसार चाडपर्वका लागि आवश्यक पर्ने रक्सी साउनबाटै आयात हुन्छ।
विशेष गरेर दसैंका बेला माछामासुको बढी प्रयोग हुने भएकाले मदिराको खपत बढी हुन्छ। व्यवसायीकाअनुसार नेपालमा १४ देशहरूबाट वियर आयात हुन्छ भने अन्य प्रकारका मदिरा ३६ वटा देशहरूबाट आयात हुने गरेका छन्। बजारमा बढी चल्ने मदिराजन्य पेय पदार्थमा ह्विस्की, भोड्का, जीन, रम, बियर, वाइन लगायत रहेको व्यवसायीहरू बताउँछन्।