चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक, इजरायलमा २७ सय वर्ष पुरानो निजी शौचालय फेला

चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक, इजरायलमा २७ सय वर्ष पुरानो निजी शौचालय फेला

चीन-ताइवानबीच सैन्य तनाव बढिरहेका बेला चीनले ताइवान नजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक भएको खबर आएको छ। बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो खबर विशेष रह्यो। त्यस्तै भारतमा छाडा चाैपायालाई जोगाउन खोज्दा भएको सवारी दुर्घटनामा दर्जनौँको मृत्यु भएको खबर पनि चर्चामा रह्यो। पढ्नुहोस्, बिहीबार घटेका विश्वका केही प्रमुख खबरहरू :

चीनले ताइवाननजिकै नयाँ लडाकु विमान तैनाथ गरेको तस्बिर सार्वजनिक
बेइजिङ  : चीनले ताइवाननजिकै नयाँ लडाकु विमान जे–१६ डी तैनाथ गरेको तस्बिर सार्वजनिक भएको छ। इलेक्ट्रोनिक युद्धको लागि ताइवानको पश्चिमी एयरवेसमा चीनले सो विमान तैनाथ गरेको स्याटेलाइट तस्बिर हालै सार्वजनिक भएको हो। 

सो तस्बिर चीनको पिपुल्स लिवरेसन आर्मीले सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। इलेक्ट्रोनिक युद्धको लागि चीनले तैनाथ गरेको नयाँ लडाकु विमानले ताइवान स्ट्रेट क्षेत्रमा द्वन्द्व र तनाव झनै बढाउने साउथ चाइना मर्निङ पोष्टमा बिहीबार प्रकाशित समाचारमा उल्लेख छ। 

यद्यपि, इलेक्ट्रोनिक युद्धको लागि डिजाइन गरिएका नयाँ लडाकु विमान कुन प्रयोजनको लागि सो क्षेत्रमा तैनाथ गरिएको हो भन्नेबारे कुनै सूचना बाहिर नआएको समाचारमा उल्लेख छ।

पछिल्लो समय चीनले लगातार तीन दिन ताइवानको वायु रक्षा क्षेत्रमा ठूलो संख्यामा युद्धक विमान पठाएको थियो। ताइवानको रक्षा मन्त्रालयले चीनको सो सैन्य गतिविधिको प्रतिक्रिया दिँदै दुई देशबिचको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको र आगामी ४ वर्षभित्रमा चीनले जुनसुकै समयमा ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ। 
०००

डब्ल्यूएचओले चीनमार्फत उत्तर कोरियामा कोभिड १९ सहायता पठाउँदै 
बेइजिङ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनमार्फत उत्तर कोरियामा कोभिड १९ सहायता पठाउने बताएको छ। डब्ल्यूएचओले चीनको सिमाना दलियान पोर्ट हुँदै उत्तर कोरियाको लागि सो सहायता पठाउन लागेको बताएको हो।  

डब्ल्यूएचओले पहिलो चरणमा कोभिड १९ सहायता पठाउन सुरु गरेको जानकारी दिएको छ। ‘सो सहायताअन्र्तगत कोभिड १९ को उपचारमा प्रयोग हुने औषधी र अन्य सामग्री पठाउन सुरु गरिएको छ’, डब्ल्यूएचओले साउथ चाइना मर्निङ पोष्टसँग भनेको छ।  

यसअघि उत्तर कोरियाले कोभ्याक्स कार्यक्रमअन्र्तग डब्ल्यूएचओले प्रदान गरेको कोभिडविरुद्धको खोप अस्वीकार गर्दै आएको थियो।

उत्तर कोरियाले गत वर्ष कोरोना महामारी सुरु भएदेखि अन्तर्राष्ट्रिय सीमानाकामा प्रतिबन्ध लगाएको छ। 

उत्तर कोरियामा हालसम्म करिब ४० हजार ७ सय मानिसमा कोरोना संक्रमण देखिएको र गत सेप्टेम्बर २३ देखि संक्रमण नदेखिएको डब्ल्यूएचओले जनाएको छ। 
०००

अफगानिस्तानमा जाडो अघि नै सहायता सामग्री पठाउन युएनको दौडधुप 
काबुल  : संकटग्रस्त अफगानिस्तानमा सहायता सामग्री पुर्‍याउन संयुक्त राष्ट्रसंघ युएन र यसका मानवीय साझेदारी संस्था दौडधुपमा छन्। जाडो अघि नै अफगान नागरिकको जीवन बचाउन सहायता र आपूर्ति सामग्री पुर्‍याउन युएनले दौडधुप गरिरहेको हो। 

युएनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर महिनामा करिब ३ करोड ८० लाख अफगान नागरिकको लागि सहायता स्वरुप खाद्य सामग्री वितरण गरेको बताएको छ। ‘यसबाहेक करिब २१ हजार बालबालिका र १० हजार महिलाले हालसम्म उपचार र चरम कुपोषणविरुद्ध गैर खाद्य सामग्री पाएका छन्। अब जाडोबाट बच्न उनीहरुको लागि न्यानो कपडा र ब्लांकेटजस्ता सामग्री जाडो अघि नै वितरण गर्ने कोसिस गरिरहेका छौ’, जारी विज्ञप्तिमा भनिएको छ। 

तालिबानले नयाँ सरकार गठन गरेपछि तुलनात्मक रुपमा अफगानिस्तानको सुरक्षा अवस्था स्थिर रहेको बताइएको छ। 

लामो द्वन्द्वपछिका कारण अफगानिस्तानमा लाखौँ मानिस नराम्रोसँग प्रभावित भएको युएनले जनाएको छ। युएनकाअनुसार सो द्वन्द्वले अफगानिस्तानमा बसाइँसराई, गम्भीर गरिबी, कोभिड महामारी, नाजुक स्वास्थ्य अवस्था, खडेरी र आर्थिक संकटले चरम रुप लिएको छ। 
०००

रुसमा कोरोना संक्रमण हालसम्मकै उच्च 
मस्को  : रुसमा कोरोना संक्रमण हालसम्मकै उच्च रहेको छ। बिहीबार एकैदिन २७ हजार ५५० नयाँ संक्रमित फेला परेसँगै संक्रमण दर यो वर्षकै (२०२१) उच्च रहेको हो। 

रुसले आफ्ना सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने प्रतिज्ञा गरिहरहेको बेला ठूलो संख्यामा नयाँ संक्रमित फेला परेको सरकारी अधिकारीहरुले जनाएका छन्। 

रुस सरकारका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९२४ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट मर्नेको संख्यासमेत यस वर्षकै उच्च रहेको बताइएको छ।
०००

कस्मिरमा विद्यालयभित्रै दुई शिक्षकको हत्या
श्रीनगर  : कस्मिरको श्रीनगरस्थित आक्रमणकारीहरुले विद्यालयमै प्रवेश गरेर दुई शिक्षकको हत्या गरेका छन्। नकाबधारी आक्रमणकारीहरुले बिहीबार बन्दुकमार्फत इदगाह उच्च माध्यामिक विद्यालयका शिक्षकको हत्या गरेका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले अन्दाधुन्ध गोली चलाउँदा दुई शिक्षकको मृत्यु भएको हो। दुई शिक्षकमध्ये एक विद्यालयका प्राध्यापक रहेको र अर्का विद्यालयकै शिक्षक रहेका छन्। नागरिकलाई लक्षित गरी गरिएको आक्रमणमा शिक्षकको मृत्यु भएको कस्मिर सरकारले जनाएको छ। 

सो घटनाले आक्रमणकारीहरुले आम नागरिकको हत्या गर्न थालेको भन्दै स्थानीय त्रसित बनेको बताइएको छ। कस्मिरको सुरक्षा बलले आक्रमणकारीको खोजी जारी राखेको बताएको छ। 
०००

भारतमा छाडा पशु चौपाया जोगाउँदा बस दुर्घटना,  १२ को मृत्यु 
लखनउ  : भारतको उत्तर प्रदेशमा छाडा पशु चौपाया जोगाउन खोज्दा बस दुर्घटना भएको छ। बिहीबार भएको सो दुर्घटनामा १२ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना गम्भीर घाइते भएका छन्।

दुर्घटना लखनउ सहरदेखि ४० किलोमिटर दुरीमा रहेको बाहबान्की जिल्लामा भएको हो। बसमा जम्मा ६० यात्रु रहेको प्रहरीले जनाएको छ।

बस चालकले छाडा पशु चौपायालाई जोगाउन खोज्दा बस आफ्नो ट्रयाक भन्दा बाहिर गएको र विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किदा दुर्घटना भएको लखनउ प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सडक दुर्घटनामा परी भारतमा हरेक वर्ष १ लाख १० हजार मानिसले ज्यान गुमाउने गरेका छन्। अधिकांश सडक दुर्घटना लापरबाही, अव्यवस्थित सडक र पुराना सवारी साधनका कारण हुने गरेका छन्।
०००  

फ्रान्सले राजदूत फिर्ता पठाउने 
पेरिस  : फ्रान्सले अष्ट्रेलियाका लागि फ्रान्सका राजदूतलाई फिर्ता पठाउने प्रतिज्ञा गरेको छ। ओकस सम्झौतापछि फिर्ता बोलाएका आफ्ना राजदूतलाई फ्रान्सले बिहीबार पुन : अस्ट्रेलिया पठाउने प्रतिज्ञा गरेको हो। 

प्रशान्त क्षेत्रमा पनडुब्बी खरिदसम्बन्धी गत महिना अमेरिका, बेलायत र अष्ट्रेलियाबीच त्रिपक्षीय ओकस सम्झौता भएको थियो। अमेरिकाले अष्ट्रेलियासँग परमाणु उर्जाबाट चल्ने पनडुब्बी खरिद गर्ने भएपछि फ्रान्स दुवै मुलुकसँग चिढिएको थियो भने दुवै मुलुकबाट आफ्ना राजदूत समेत फिर्ता बोलाएको थियो। 

फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट राजदूत फिर्ता बोलाएपछि तिनवटै मुलुकको कुटनैतिक सम्बन्ध चिसिएको थियो। तिनवटै मुलुकले पटकपटक वार्तामार्फत सो समस्या समाधानको कोसिस गर्दै आएका थिए। 

विभिन्न वार्तापछि फ्रान्सले आफ्ना राजदूत फिर्ता पठाउन गरेको निर्णयको आफूले स्वागत गरेको अष्ट्रेलियाले जनाएको छ। फ्रान्सको सो निर्णयले दुवै मुलुकको स्वार्थको रक्षा गर्ने अष्ट्रेलियाले जनाएको छ।
०००

जर्मन र डेनमार्कले सिरियाबाट महिला तथा बालबालिका गरे फिर्ता 
बर्लिन  : जर्मनी र डेनमार्कले सिरियाबाट आफ्नो देशका महिला र बालबालिकालाई फिर्ता ल्याएका छन्। आइएसआइएसका लडाकुले सिरियास्थित आफ्नो नियन्त्रणमा राखेका ११ महिला र ३७ बालबालिकालाई दुवै मुलुकले फिर्ता ल्याएका हुन्। 

उनीहरुलाई उत्तरपूर्वी सिरियास्थित कुर्दिस नियन्त्रित रोज जेलमा राखिएको थियो। 

आफ्नो मुलुकका ८ महिला र २३ बालबालिका बुधबार राति चार्टर विमानमार्फत स्वदेश फिर्ता भइसकेको जर्मन विदेश मन्त्रालय जनाएको छ। डेनमार्कले पनि बुधबार नै १४ बालबालिका र ३ महिला कुर्दिस नियन्त्रित जेलबाट फिर्ता ल्याएको जनाएको छ। 

फिर्ता ल्याइएका अधिकांश बालबालिका बिरामी परेको जर्मनको विदेश मन्त्रालयले जनाएको छ। 
०००

इजरायलमा २७ सय वर्ष पुरानो निजी शौचालय फेला
जेरुसेलम  : इजरायलमा करिब २७ सय वर्ष पुरानो निजी शौचालय फेला परेको छ। पुरातत्वविद्हरुले हालै निकै आरामदायी एवम् दुर्लभ मानिएको सो शौचालय फेला पारेका हुन्। 

प्राचीन सहर उत्खनन्को क्रममा सो शौचालय फेला परेको इजरायली एन्टिक्युटिज अथोरिटीले जनाएको छ। हालै फेला परेको सो शौचालय चुनाबाट बनेको नरम, चमत्कार रहेको र आरामदायी तरिकाले डिजाइन गरिएको अथोरिटीले बताएको छ। 

‘उक्त शौचालय सामान्यखालको छैन। २७ सय वर्षअघिको शौचालय धनी र उच्च घरानाका व्यक्तिले मात्र प्रयोग गर्न सक्ने हाम्रो अनुमान छ’, उत्खनन् टोलीका प्रमुख एवम् पुरातत्वविद् याकोभ विलिजले नेसनल न्यूजसँग भनेका छन्। 

विभिन्न प्रमाणको आधारमा सो शौचालय २७ सय वर्ष पुरानो भएको उनको भनाइ छ। 

संयोजन  : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.