भारतीय वायु सेनाले देखायो आफ्नो तागत, तालिबान बने आफैले भत्काएको बुद्ध मूर्तीको गार्ड

भारतीय वायु सेनाले देखायो आफ्नो तागत, तालिबान बने आफैले भत्काएको बुद्ध मूर्तीको गार्ड

शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा भयो। पुरस्कार रुसी र फिलिपिनी पत्रकारले पाएका छन्। यो खबर अन्तर्राष्ट्रय सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशन भयो। त्यस्तै तालिबानले आफैंले भत्काएको बुद्ध मूर्तीको सुरक्षा गर्न थालेको समाचार पनि विशेष रह्यो भने जापानी प्रधानमन्त्रीले भारतका समकक्षी नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चीनफिङलाई टेलिफोन गरेको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख बन्यो। आज दिनभर चर्चामा रहेका केही विश्व समाचार संक्षेपमा पढ्नुहोस् :

०००

नवनियुक्त जापानी प्रधानमन्त्रीले चीन र भारतसँग गरे फोनवार्ता

टोकियो : जापानका नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले एकैदिन भारत र चीनसँग फोनवार्ता गरेका छन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार एकैदिन फोनवार्ता गरेका हुन्। 

किशिदाले प्रधानमन्त्रीको सपथ लिएपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको र दुवै नेताबिच अन्तर्राष्ट्रिय समुदायको अगाडि दुई पक्षीय सम्बन्ध सन्तुलन राख्नुपर्नेबारे छलफल भएको क्योडो न्यूजमा समाचार छ। 

यस्तै शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीसँग भएको फोनवार्तामा किशिदाले प्रशान्त क्षेत्रमा शान्ति कायम गर्न प्रस्ताव राखेका छन्। साथै फोनवार्तामा दुवै देशको विशेष कुटनीति र वैश्विक साझेदारको रुपमा सम्बन्ध अघि बढाउने बारे छलफल भएको हिन्दुस्तान टाइम्समा समाचार छ। 
०००

भारतीय वायु सेनाले देखायो आफ्नो ताकत
नयाँ दिल्ली
: भारतले आफ्नो ८९ औं वायु सेना दिवस मनाएको छ। गाजियावादस्थित हिन्डोन एयरफोर्स स्टेशनमा भारतीय वायु सेनाले आफ्नो स्थापनाको ८९ औं एयरफोर्स दिवस मनाएको हो। 

सो अवसरमा भारतीय वायु सेनाको विमानले शुक्रबार बिहान आकाशमा आफ्नो ताकत देखाएको छ। हिन्डन एयरफोर्स स्टेशनको ग्राउन्डमा वायु सैनिकले परेड गरेका थिए भने आकाशमा राफेल, तेजस र सुखोईको उडाइएको भारतीय सञ्चारमाध्यममा खबर छ। 

हिन्डन एयरबेसको ६ हजार ५ सय फिटको उचाईबाट स्काइ डाइभिङको लागि चर्चित आकाशगंगा टिमले उडान भरेको थियो। 

सो अवसरमा भारतले सन् १९७१ को युद्धमा बंगलादेश निर्माणमा योगदान पुर्‍याएका सेनानी नायकहरुलाई सम्मान गरेको थियो।
०००

तालिबान बने आफैले भत्काएको बुद्ध मूर्तीको गार्ड 
बमियान
: तालिबान लडाकुले अफगानिस्तानको बमियान प्रान्तमा दुई प्राचीन बुद्धको मूर्तीको सुरक्षा गरिरहेका छन्। बमियानस्थित तालिबान स्वयम्ले भत्काएको बुद्धको मूर्तीको सुरक्षामा उनीहरु आफै खटिएका हुन्।

सो प्रान्तस्थित प्राचीन बुद्धको मूर्ती १५ सय वर्षअघि स्थापना गरिएको बताइन्छ। तर सन् २००१ मा तत्कालिन तालिबान शासनकालमा सो मूर्ती तालिबानले तोड्न निर्देशन दिएको थियो। 

‘दुईटा बुद्धका मूर्तीहरु सन् २००१ मा तालिबानले भत्काएको थियो। सो स्थानमा आफ्नो धर्मको झण्डा फहराएको थियो। अहिले त्यही मूर्तीको सुरक्षामा तालिबान लडाकु खटिएका छन्’, अफगानिस्तानका नयाँ प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले एएफपीसँग भनेका छन्। 

प्रधानमन्त्री स्वयम् एक आर्किटेक्ट भएकोले उनले सो मूर्तीको संरक्षण गर्न हाल तालिबान लडाकुलाई खटाएको हुन सक्ने विश्वास विश्लेषकहरुले गरेका छन्।

सो मूर्ती १७ औं शताब्दीमा मुगल शासकको पालामा बनेको हुन सक्ने बताइन्छ। युनेस्कोले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने बताएको थियो। विभिन्न कारण युनेस्कोको सो प्रयास असफल बनेको थियो।
००० 

पत्रकारितातर्फको नोबेल पुरस्कार मारिया र दिमित्रीलाई 
ओस्लो
: अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारितातर्फको नोबेल पुरस्कार शुक्रबार घोषणा भएको छ। 

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुराटोवले पाएका छन्। अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि उनीहरुले गरेको प्रयासको सम्मान स्वरुप उनीहरुले सो पुरस्कार पाएका हुन्। 

रेसा एक हाई प्रोफाइल पत्रकार एवम् डिजिटल मिडिया कम्पनी र्‍याप्लरका सीईओ हुन्। दिमित्री रुसको एक स्वतन्त्र अखबारका प्रधान सम्पादक हुन्। 

अभिव्यक्ति स्वतन्त्रताको लागि दुवैले रुस र फिलिपिन्समा गरेको साहसिक कार्यको लागि उनीहरुलाई सम्मान स्वरुप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले बताएको छ।
००० 

अन्तर्राष्ट्रिय सम्मेलनमा तालिबानलाई रुसको निम्तो 
मस्को
: अफगानिस्तान मुद्दामा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा रुसले तालिबानलाई निम्तो गर्ने भएको छ। आगामी अक्टोवर २० मा रुसको राजधानी मस्कोमा आयोजित अफगानिस्तान सम्मेलनमा रुसले तालिबानलाई निम्तो गर्ने भएको हो। 

रुसले आयोजना गरेको सो सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनले तालिबानका विशेष प्रतिनिधि नेतालाई निम्तो दिने रुसी समाचार एजेन्सीका प्रतिनिधि जामिर काब्लोभले जानकारी दिएका छन्। यही अक्टोवर १२ मा हुन लागेको जी २० सम्मेलनमा अफगानिस्तानमा मानवीय सहायताबारे छलफल गरिने र मस्कोको सम्मेलनमा सोहीअनुसार वार्ता अघि बढाइने बताइएको छ। 
०००

रुसमा रक्सी सेवनबाट १४ को मृत्यु 
मस्को
: रुसमा मादकपदार्थ रक्सी सेवनबाट १४ को मृत्यु भएको छ भने ८ जना बिरामी परेका छन्। रुसको ओरेनवर्गमा मिसावट रक्सी सेवन गर्दा शुक्रबार एकैपटक १४ को मृत्यु भएको हो। 

बिरामीको उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको बताइएको छ। 

सो घटनाबारे अनुसन्धान भइरहेको सरकारका गर्भनर डेनिस पास्लरले टेलिग्रामलाई जानकारी दिएका छन्। ‘रक्सी वितरक कम्पनीमाथि अनुसन्धान अघि बढाइरहेका छौँ’, पास्लरले भनेका छन्, ‘रक्सीमा मिसावट भएको र मापदण्ड नपुगेको रक्सी सेवनबाट ८ विरामी र १४ मृतकसहित एकैपटक २२ जना पीडित बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
०००

टोकियोमा १० वर्षपछि शक्तिशाली भूकम्प, दर्जनौँ घाइते 
टोकियो
: जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्प गएको छ। बिहीबार मध्यराती गएको ५.९ म्याग्निच्युडको सो भूकम्पको धक्का १० वर्षयताकै शक्तिशाली रहेको बताइएको छ। 

भूकम्पका कारण ४३ मानिस गम्भीर घाइते भएका छन्। शुक्रबार आएको भूकम्पको पराकम्पका कारण टोकियोमा रेल सेवा अवरुद्ध बनेको छ। बुधबार रातिदेखि १६ वटा रेल लाइन स्थगित गरिएको छ भने ३ लाख ६८ मानिसहरु प्रभावित बनेको पूर्वी जापान रेलवेले जानकारी दिएको छ।
०००

मोरोक्कोमा राजाले गरे सात महिलासहितको नयाँ सरकार गठन 
राबत
: मोरोक्कोका राजा मोहम्मद पाँचौले नयाँ सरकारको गठन गरेका छन्। उनले सात महिला मन्त्रीसहितको नयाँ सरकार गठन गरेका हुन्। 

राजाले सात महिलासहित २४ मन्त्रीको नयाँ सरकार गठन गरेको क्याबिनेटका प्रधानमन्त्री अजिज आखानोचले बताएका छन्। 

सात महिला मन्त्रीले अर्थ, पर्यटन, विदेश र आन्तरिक मामिला जस्ता महत्वपूर्ण मन्त्रालयमा नियुक्त गरिने बताइएको छ। 

मोरोक्कोका धनाढ्य व्यक्तिमा गनिएका आखानोच गत महिना मोरोक्कोको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए।
००० 

दक्षिण सुडानमा बाढीका कारण ६ लाख बढी विस्थापित
दक्षिण सुडानमा बाढीका कारण ६ लाखभन्दा बढी मानिस विस्थापित बनेका छन्। गत मे महिनादेखि अक्टोबरसम्म दक्षिण सुडानमा मात्र ६ लाख २३ हजार मानिस विस्थापित बनेका हुन्। 

संयुक्त राष्ट्रले बिहिबार एक रिपोर्ट सार्वजनिक गर्दै देशका जम्मा १० प्रान्तमध्ये ८ वटा प्रान्त बाढीका कारण नराम्रोसँग प्रभावित बनेको जनाएको छ।  

संघका अनुसार दक्षिण सुडानमा यस वर्ष भारी वर्षा र बाढीका कारण विद्यालय, स्वास्थ्य र आवासजस्ता प्राथमिक सेवा प्रभावित बनेका छन्। बाढीपछि विस्थापित बनेका त्यहाँका मानिस कम प्रभावित क्षेत्रमा सरेका छन्। 

प्रभावित क्षेत्रमा तत्काल आकस्मिक सहयोगको खाँचो रहेको संघले जनाएको छ।  

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.