तामाङको पुर्ख्यौली रीतिथिति
कुन कुन थरकाले कुन कुन थरकासँग विवाह गर्न हुने र नहुने, विवाहको विधिविधान र तौरतरिकाको जानकार पनि ताम्बा नै हुन्। तामाङ समाजमा ताम्बाका साथै गान्बा, बोन्बो, लामा, चोहो र लाबोनजस्ता प्रमुख नायकहरू हुन्छन्। यिनै ६ जना नायकबाट तामाङ समाज चलायमान भइरहेको हुन्छ।
तामाङ साहित्यमा सर्वाधिक चर्चित र प्रमाणित कृति हो, ‘ताम्बा काइतेन व्हाई रिमठिम’ सन् १९५६ देखि प्रकाशन प्रारम्भ भएको तामाङ साहित्य भण्डारमा तीन सयको हाराहारीमा कृति थपिएका छन् । यीमध्ये सन्तवीर लामा पाख्रिन (१९५४–२०२७) द्वारा लिखित तथा सन् १९५७ मा प्रकाशित ‘ताम्बा काइतेन व्हाई रिमठिम अथवा तामाङ वंशावली ह्रमा’ तामाङ वाङ्मयको इतिहासमा सर्वाधिक संस्करण प्रकाशित कृति हो । रत्न पुस्तक भण्डार, काठमाडौंबाट मात्र यो कृतिको २६औं संस्करण प्रकाशित भइसकेको छ भने नेपाल र दार्जिलिङका विभिन्न व्यक्ति तथा संघसंस्थाले गरी ११औं भन्दा धेरै संस्करण छापिसकेका छन् । पाठ्यपुस्तकको सन्दर्भ सूचीमा नभएको कृति यति धेरै संस्करण छापिनु चानचुने कुरो होइन । प्रस्तुत कृति संस्करण मात्र धेरै होइन सर्वाधिक चर्चित पुस्तक पनि हो र तामाङ पहिचानलाई झल्काउन सक्ने आधिकारिक ग्रन्थ पनि हो ।
उनी पछिका डेभिड होल्मवर्ग, क्याथरिन एस मार्च, ब्रिजिट स्टेमानलगायतका सबैजसो तामाङ अध्येता र अनुसन्धाताहरूले यस पुस्तकको उल्लेख्य वा उद्धरण गरेका छन् । डोरबहादुर विष्ट, जनकलाल शर्मा आदि शीर्ष नेपाली विद्वानहरूले पनि यस पुस्तकको चर्चा गरेका छन् । वास्तवमा देशी–विदेशी विद्वानहरूका लागि नेपालका जातजातिबारे जान्ने प्रमुख स्रोत डोरबहादुर विष्टको ‘पिपुल अफ नेपाल’ भएजस्तै तामाङ समुदायबारे जान्ने प्रमुख आधार ग्रन्थ श्री पाख्रिनको प्रस्तुत पुस्तक नै हो । डा. हर्क गुरुङले यस कृतिलाई नेपालका आदिवासी समुदायको पहिलो झुल्के घाम हो भनेका छन् । यस कृतिभन्दा अगाडि नेपालमा कुनै आदिवासी जनजातिद्वारा कुनै कृति प्रकाशित भएको इतिहास पाइँदैन । यसबाट यस कृतिको ऐतिहासिकता र महत्व दुवै स्थापित हुन्छ ।
समीक्ष्य कृति ‘ताम्बा काइतेन व्हाई रिमठिम: तामाङका पुर्ख्यौली रीतिथिति र गीत’ मा तामाङ लोकवार्ता प्रतिविम्बित छ । भूमिकासहित १०९ पेजको यस पुस्तकमा तामाङ लोक परम्पराका ताम्बाका गीतहरू छन् । पुस्तकमा तामाङ थर र थर उत्पत्तिको चर्चा, लोकजीवन, लोकज्ञान र लोकविश्वास पद्धतिहरू छन् । प्रत्येक गीत र पाठको भावार्थ नेपालीमा दिएको हुनाले सामान्य पाठकलाई पनि यो पुस्तक बोधगम्य छ । पुस्तकको अन्तमा शब्दार्थ दिइएको छ । इतिहासकार सूर्यविक्रम ज्ञवालीको लामो सारगर्भित भूमिका लेखेका छन् ।
‘ताम्बा’ तामाङ समाजको एउटा जिउँदो परम्परागत संस्था हो । ताम्बालाई तामाङ समाजको प्रवक्ताको रूपमा हेरिन्छ साथै तामाङ इतिहासकारका रूपमा पनि हेरिन्छ । ताम्बाको अहम् भूमिका मूलतः तामाङ विवाहमा प्रदर्शित हुन्छ । उनलाई तामाङ जातिको वंश र वंशावली थाहा हुन्छ । वंशको उत्पत्ति र इतिहासका उनी ज्ञाता मानिन्छन् । कुन कुन थरकाले कुन कुन थरकासँग विवाह गर्न हुने र नहुने, विवाहको विधिविधान र तौरतरिकाको जानकार पनि ताम्बा नै हुन् ।
यहाँ प्रस्ट पार्नु कुरा के हो भने तामाङ समाज बहुल सामाजिक नायक पद्धतिबाट चलेको हुन्छ । तामाङ समाजमा ताम्बाका साथै गान्बा, बोन्बो, लामा, चोहो र लाबोनजस्ता प्रमुख नायकहरू हुन्छन् । यिनै ६ जना नायकबाट तामाङ समाज चलायमान भइरहेको हुन्छ । ताम्बाले विवाह सम्पन्न गरे जस्तै ‘लामा’ले विशेषगरी बौद्धधर्मको विधिबाट मृत्यु संस्कार सम्पन्न गर्दछन् । ‘बोन्बो’ स्वास्थ्यविज्ञ र स्वास्थ्यसेवी हुन् र औषधीय वनस्पतिका ज्ञाता पनि । ‘लाबोन’ले कुलपूजा सम्पन्न गर्दछ । घरपरिवारभित्र हुने कुनै पनि कार्यको प्रारम्भ कुल पूजाबाट हुन्छ । शान्ति र सुव्यवस्था कायम राख्न ‘चोहो’को अहम् भूमिका रहेको हुन्छ ।
साहित्यमा जुन भूमिका समालोचकको हुन्छ तामाङ समाजमा पनि त्यस्तै भूमिका ‘गान्बा’को हुन्छ । समालोचकले कुनै सिर्जना गर्दैन, त्यस्तै गान्बाले पनि समाजमा कुनै भूमिका निर्वाह गर्दैन तर उनले सामाजिक नायकहरूको दह्रो समालोचना गरेर समाजलाई निर्देशन गरिरहेको हुन्छ । यस्तै सानातिना भूमिका ज्वाइँचेला र छोरीचेलीहरूको पनि हुन्छ । तामाङ समाज यिनै बहुलनायक पद्धतिमा चलेको छ । यिनै नायकमध्येका चर्चित नायक हुन्– ‘ताम्बा’ । र यस कृतिमा ‘ताम्बाको काइतेन’ अर्थात् ताम्बा शास्त्रको विविध पक्षको सन्दर्भ उठान गरिएको छ । तामाङ समाजमा रहेका ‘जिक्तेन तामछ्योइ’ (विश्व विषयक ग्रन्थ), रुइछेन च्योप्के (अठाह महान् थर), ताम्बा काइतेन (ताम्बा शास्त्र), ह्रमा (विवाहका गीत) जस्ता हस्तलिखित ग्रन्थहरू संकलन गर्ने क्रममा लेखक आफ्नो पुर्ख्यौली भूमि रामेछापको तिल्पुङमा पनि पुगेर ताम्बाबारे खोजबिन गरेको चर्चा भूमिकामा उल्लेख छ । उनले प्राप्त सामग्रीहरूको स्रोत उल्लेख गरेका छन् ।
प्रस्तुत पुस्तक चर्चामा आइरहनुको धेरै पक्ष हुन सक्छन् । लेखकले आफ्नो कृतिमा चार÷पाँचवटा सैद्धान्तिक आधारहरूको उठान गरेका छन्:
पहिलो, तामाङहरू नेपालकै रैथाने जाति हुन् । उनीहरू तिब्बतबाट आएका होइनन् । कुनै कथन, मिथ वा घटना र परिघटनाले तामाङहरू तिब्बतबाट आएका हुन् भन्ने पुष्टि गर्दैन । उनको यस दाबीले इतिहासकारहरूलाई बहसको लागि एउटा रैथाने सिद्धान्त दिएको छ ।
दोस्रो, तामाङ र गुरुङ एउटै वंशका हुन् । भाषा, संस्कृति र धर्म एक समान छन् । दुवैवीच वैवाहिक सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने उनको यस तर्कलाई ऐतिहासिक भाषा विज्ञानले पुष्टि गरिसकेको पनि छ ।
तेस्रो हो– लोकवार्ता । सयौं वर्षदेखि तथाकथित विद्वानहरूको दृष्टिमा पर्न नसकेको लोकवार्ता अहिले विश्वभरि लोकप्रिय विधा बन्दै छ । नेपालका आदिवासीहरूको लोकवार्तामाथि प्रकाश पार्ने यो पहिलो ग्रन्थ हो । मैले माथि डा. गुरुङको भनाइ राखिसकेको छु ।
चौथो सिद्धान्त हो– तामाङ लोकदर्शनको । ताम्बाशास्त्रमा लोकदर्शनलाई व्याख्या गरिएको त छैन तर यसको छिपछिपे स्वरूपको उठान गरिएको छ । लेखकको यस उठानबाट तामाङ समाजमा ताम्बा दर्शनको खोजबिन गर्ने बाटो खोलिदिएको छ ।
र पाँचौं हो, तामाङ समाजका मौलिक परम्परागत संस्था हो– ताम्बा । यस पुस्तकको सफलताले उनको कथनको पुष्टि हुन्छ । अर्को कृति ‘सेबुसेमु व्हाई रिमठिम’ मा पनि उनले तामाङ विवाहमा ताम्बाको भूमिकालाई सविस्तार उठान गरेका छन् । यसरी हेर्दा सन्तवीर लामाद्वारा उठान गरिएको सैद्धान्तिक अवधारणाहरूलाई पछिल्ला पुस्ताका लेखकहरूले बेवास्ता गर्न सकेका छैनन् । पहिचान खोज्ने क्रममा यिनै अवधारणा र विषयवस्तुको उठान गर्नुपर्ने हुन्छ । तामाङ वाङ्मयको भण्डारणमा तामाङ मौलिक ग्रन्थको रूपमा यस कृतिको उपस्थिति निकै जबर्जस्त पनि छ । लेखकको बारेमा पनि केही आधारभूत जानकारी राख्न आवश्यक छ । सन्तवीर लामा पाख्रिन इलाम, फिक्कलका हुन् । आफ्ना समयमा उनी एकजना कुशल प्रशासक थिए । नेपालका २००७ सालमा प्रजातन्त्र स्थापनापछि २०१५ सालमा उनी इलाम (झापासहित) को बडाहाकिम भएका थिए । नेपालमा चिया खेतीको प्रारम्भ उनैले गरेका हुन् भन्ने छ । दार्जिलिङमा उनलाई ‘खर्साङे माइला’ भनेर चिनिन्थे ।
समालोचकले कुनै सिर्जना गर्दैन, त्यस्तै गान्बाले पनि समाजमा कुनै भूमिका निर्वाह गर्दैन तर उनले सामाजिक नायकहरूको दह्रो समालोचना गरेर समाजलाई निर्देशन गरिरहेको हुन्छ। यस्तै सानातिना भूमिका ज्वाइँचेला र छोरीचेलीहरूको पनि हुन्छ।
उनको घर दार्जिलिङको तीनसुकियामा पनि रहेको थियो र काठमाडौंको ज्ञानेश्वरमा पनि रहेको छ । उनी समाज सुधारक र समाजसेवी पनि थिए । तामाङ जातिको पहिलो संस्था तामाङ सेवा समिति (२०१३) को स्थापना गर्नमा उनको सक्रियता रह्यो र गठनपछि उनी सो संस्थाको संरक्षक रहे । समीक्ष्य पुस्तक सोहीताका प्रकाशित भएको हो ।
लेखकको राजनीतिक परिचय पनि दह्रो छ । राणा विरोधी गतिविधि गरेबापत उनी राणा सरकारको नजरमा पर्यो । उनलाई पक्राउ गर्न वारेन्ट जारी गरेकोमा राणा सरकारलाई चुनौती दिँदै उनले आफ्नो चौडा छातीको नांगो फोटो खिचेर राणा दरबारमा पठाएको भन्ने कथन छ । छातीको नांगो फोटोले संकेत गरेको कुरा के हो भने उसलाई समात्ने क्षमता राणा शासकसँग छैन भन्ने हो । उनको त्यो फोटो यस लेखका लेखकसँग पनि छ । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि राष्ट्रसेवा गरेबापत राजा महेन्द्रबाट उनले कर्णेलको उपाधि प्राप्त गरेका थिए । त्यस्तै सैनिक उपाधि राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायतले पाइसकेको हामी सबैलाई थाहा नै छ ।
सन्तवीर लामाले यस कृतिका अतिरिक्त ‘सेबुसेमु व्हाई रिमठिम’ (२०१६), ‘इलाम दर्पण’ (२०१८) र ‘नाइबा साङ्गे’ (२०२२) जस्ता कृतिहरू प्रकाशित गरे । ‘सेबुसेमुमा व्हाई रिमठिम’मा तामाङ विवाह पद्धतिको विधिविधान छ भने ‘नाङबा साङ्गे’मा बौद्धधर्म सम्बन्धी जानकारी छ । यी दुवै ग्रन्थ पनि धेरै पटक पुनःमुद्रण भएका छन् । उनी बडाहाकिम रहदा उनले गरेका विकास कार्यहरूकोविवरण ‘इलाम दर्पण’मा छ । उठान गरेको विषयवस्तुमा केन्द्रित भएर लेख्नु उनको लेख्य विशेषता हो । उनी जे लेख्छन् पाठकलाई प्रष्ट पार्दछन् ।
तामाङ भाषा (सन् १८४६)र संस्कृतिबारे (सन् १८४७) मा एचबी एज्सनले अध्ययन अनुसन्धान प्रारम्भ गरेका थिए । यसपछिका अवधिमा विशेष गरी बेलायती लेखकहरूले तामाङबारे प्रशस्त प्रकाश पारेता पनि सन् १९५५ सम्म कुनै कृति प्रकाशित हुन सकेको थिएन । सर्वप्रथम बुद्धिमान मोक्तान (सन् १९५६) को कृति ‘जिक्तेन तामछ्योई अथवा तामाङ वंशावली ह्रमा’ले तामाङ प्रकाशनको खाता खोलेको हो रतामाङ वाङ्मयमा समीक्ष्य कृति दोस्रो रोलक्रममा रहेको छ ।
हालसम्ममा तामाङ पहिचानलाई उठाउने खालका तीन सयको हाराहारीमा तामाङ ग्रन्थ प्रकाशित भएता पनि यस समीक्ष्य ग्रन्थलाई उछिन्ने खालका कुनै कृति देखिएको छैन । यस कृतिको माग अझै बढ्दो क्रममा नै छ । यसको लोकप्रियताका कारण धेरै होलान् । तर मेरो विचारमा समाजका मौलिक विषयवस्तुको उठान हुनु, विद्वताविहीन सरलप्रस्तुति गर्नु, पाठको नेपालीमा सार खुलाउनु, रत्न पुस्तक भण्डार जस्तो प्रकाशक पाउनु, सानो आकारको पुस्तक हुनु र पाठकको सामान्य पकेटको पक्षमा उभिनु नै लोकप्रियताको मूख्य आधार हो भन्ने लाग्छ । हालसम्मका पछिल्ला लेखकहरूले न सन्तवीर लामा पाख्रिनको लेखन शैलीलाई पछ्याउन सकेका छन् न उनको कृतिको प्रकाशन संस्करणलाई नै !