गुरुङको अलिखित ग्रन्थ ‘प्ये’

गुरुङको अलिखित ग्रन्थ ‘प्ये’

प्ये मौखिक ग्रन्थ हो । हराउँछ कि भनेर अचेल कसैकसैले देवनागरी लिपिमा लेखेर राखेको छ, तर त्यो हामीले पढ्न पाएका छैनौं । 


गुरुङ जातिको कर्मकाण्ड गर्ने आफ्नै लामा, पुरोहित हुन्छन् । पोच्यु र घ्याब्रीहरू हुन्छन् । उनीहरूले मन्त्र पढ्छन् र न्वारन हुन्छ । उनीहरूले पुराना मन्त्रोच्चारण गर्छन् र आफ्नै विधिअनुसार विवाह गराउँछन् । मृत्यु संस्कारमा अर्घौं गर्ने चलन हुन्छ । कसैको मृत्यु भएपछि कहिले अर्घाैं गर्ने कुन तिथिमितिमा भनेर हेर्ने गुरुङ जातिका आफ्नै ज्योतिषी छन् । पोच्यु घ्याब्रीहरूले प्रयोग गर्ने गुरुङ ग्रन्थलाई ‘प्ये’ भनिन्छ । प्ये भनेको पुरानो कथा हो । जसरी हिन्दुहरूका पुराना कथा पुराण हुन्, त्यस्तै प्ये पनि गुरुङहरूको पुराण हो । 

गुरुङका झाँक्रीलाई पोच्यु भनिन्छ । घ्याब्री भनेको पनि झाँक्री नै हो । तर यी झाँक्रीहरूका आ–आफ्नै कर्म छन् । पितृकार्य वा अरूअरू । तर प्येका कथाहरू कतै पनि लिखित रूपमा ग्रन्थ बनाएर राखेको भेटिएको छैन । प्ये मौखिक ग्रन्थ हो । हराउँछ कि भनेर अचेल कसैकसैले देवनागरी लिपिमा लेखेर राखेको छ, तर त्यो हामीले पढ्न पाएका छैनौं । 

गुरुङ पुराण अर्थात् प्येमा के छ त ? ९ घाम ९ जूनको कथा छ । पहिला ९ वटा घाम र ९ वटा जून थिए रे, पछि एक÷एकवटा भएका रे । सिकार खेल्ने कुरा, खोरिया फाँड्ने कुरा पुराना कथामा  छन् । घाँसको झुसमा आगो उत्पन्न भएको भन्ने कुरा पनि पुराना कथामा सुन्न पाइन्छ । ‘ठूला ढुंगा आपसमा जुधेर आगो बल्यो र झुस घाँसमा सल्क्यो’ भनेर विज्ञानले भन्छ, हाम्रो कथाले पनि त्यही संकेत गरेको हुनुपर्छ । 

पुराना अरू ग्रन्थचाहिँ ज्योतिषशास्त्र र वंशावली हुन् । मेरा बाजे चन्द्रसिंह गुरुङले लेखेको ज्योतिषीय जानकारीमूलक सामग्री मसँग छ । म २००४ सालमा जन्मिएँ । बाजे भने १९९० सालमै बितिसक्नुभएको थियो । बाजेको अनुहार मैले देख्न पाउने कुरै भएन । बाजेले मड्याएको नेपाली कागजमा हाडे उनियोको कलमले लेखेको सामग्री भने मेरा जेठाबा हर्कजंग गुरुङसँग थियो । पछि त्यो उहाँले मलाई दिनुभयो । भाषा गुरुङ छ तर लिपि देवनागरी । बाजे ६०÷६५ वर्ष बाँच्नुभयो होला, भन्दाखेरि सय वर्षभन्दा अघि लेखेको हुनुपर्छ उहाँले । हिन्दी, नेपाली र भोटे भाषा पनि त्यसमा छ्यासमिस छ । गुरुङ भाषाको लिपि खेमा हो । चलनचल्तीमा हराएको छ । नयाँ पुस्ताले यसको खोजी र अभ्यास गर्दैछन् । 

गुरुङ जातिमा वर्षभन्दा पनि वर्गका आधारमा उमेर गणना गर्ने परम्परा र संस्कृति छ । यो वर्ष गाई वर्ग हो । ती ज्योतिषीय सामग्रीमा कुन वर्गको मान्छे कस्तो हुन्छ ? त्यसका लक्षण कस्ता हुन्छन्, भाग्य र भविष्य कस्तो हुन्छ भन्नेबारे लेखिएको हुन्छ । नक्षत्र र लग्नका कुरा पनि त्यहाँ छन् । 

अहिलेसम्मकै सबैभन्दा पुरानो सामग्री विसं १८५२ को भेटेको छु । त्यो चामु गुरुङले लेखेका हुन् । चामु मभन्दा आठ पुस्ता अघिका पुर्खा हुन् । उनले लेखेकोमा मिति पनि उल्लेख छ र मुकाम याङ्जाकोट भनेको छ । केही मन्त्रहरू हिन्दीमा पनि छ । तत्कालीन लमजुङ राज्यमा पर्ने याङ्जाकोट अहिले भने कास्कीको मादी गाउँपालिकाको सदरमुकाम हो । म पनि याङ्जाकोटकै हुँ । चामु गुरुङले लेखेको सामग्रीमा बौलाएको मानिसलाई सद्दे बनाउने मन्त्र, असिना तर्काउने र महामारी रोग साम्य पार्ने मन्त्रहरू छन् । कमाराकमारी भागेर नजाउन् भनेर अनुकूलमा राख्ने मन्त्र पनि छ । 

गुरुङ जातिका वंशावलीका पुस्तक अर्का महत्वपूर्ण सामग्री हुन् । गुरुङ जातिको आदिम थलो लमजुङ र कास्कीको सिमानामा पर्ने क्व्होलासोथर हो । प्रशासनिक हिसाबमा कास्कीमा पर्छ । तर, भोगचलन भने लमजुङतिरकाले नै गर्छन् । लमजुङको एउटा गाउँपालिकाको नाम त्यही आदिम थलोबाट राखिएको छ, क्व्होलासोथर । क्व्होलासोथरमै गुरुङ भाषा, संस्कृति, परम्परा र सभ्यताको विकास भएको हो । यो ठाउँलाई विश्व सम्पदा सूचीमा राख्न कास्की र लमजुङ दुवैतिरका जनप्रतिनिधि र नेता एवं गण्डकी प्रदेशले चासो देखाएका छन् । 

क्व्होलासोथरमा ग्याल्बु रुजु नामका राजा थिए भन्ने वंशावलीका किताबमा भेटिन्छन् । त्यस्तो किताब मेरो गाउँ याङ्जाकोटका लालबहादुर गुरुङको घरमा छ । त्यस्तो वंशावलीका लेखक रघुवीर लामा (गुरुङ) हुन् । पारसिंह गुरुङका घरमा अरू ऐतिहासिक घटना लेखिएको किताब भेटेको छु । नेपालको इतिहासमा नभेटिने दुर्लभ घटनाबारे लेखिएको छ । त्यसमध्ये पोखरा ३२ मा पर्ने राजाको चौताराको कथा रोचक छ । गणतन्त्र आएपछि उक्त राजाको चौतारा भन्ने ठाउँको नाउँ जनताको चौतारा भन्ने राखिएको थियो । स्थानीयको बुझाइमा राजा महेन्द्र काठमाडौंबाट पोखरा आउँदा मूलबाटोको उक्त ठाउँमा विश्राम लिएको हुँदा राजाको चौतारा नाम रहेको भन्ने थियो । उक्त ठाउँका नाउँ राजाको चौतारा हुनुको कारण भने गुरुङहरूका घरमा भेटिएका ऐतिहासिक सामग्रीबाट पत्तो लाग्छ । 

कास्कीका राजा शिव शाहका पालामा १२ जना राजाहरूबीच सन्धि भएको ठाउँ भएकाले राजाको चौतारा नाम रहेको हो । उनकै भनाइमा लमजुङ राज्यले हमला गरी पोखराको विजयपुरसम्म साँध पु¥याएकोमा पछि १२ जना राजाहरूबीच अब लडाइँ नगर्ने र आआफ्ना सीमामा बस्ने सन्धि कास्कीको मालमुल (उक्त चौतारा भएको ठाउँ)मा भएको भन्ने गुरुङ पुर्खाले लेखेका वंशावलीमा छ । यसबारेको कहानी यरजंग गुरुङको घरमा भेटिएका पुराना कागजातमा पढेको हुँ । गण्डकीमा त्यतिबेला १२ राज्य थिए । तिनमा खान र शाह राजाहरू थिए । भीरकोट, गह्रौं, ढोरलगायतमा खान राजा र नुवाकोट (स्याङ्जा), कास्की, सातौं, लमजुङ र गोरखामा शाह राजाहरू थिए । रिसिङ, घिरिङ र तनहुँमा चाहिँ सेन राजा थिए । ती राजाहरूको सन्धिको स्मारकका रूपमा राजाको चौतारा भएको हो । १८औं शताब्दीका यी कुरा गुरुङहरूले लेखे पनि नेपालीमा छ । 

गुरुङ पुर्खाको वंशावलीका किताबहरूमा शाह राजाहरूको वंशावली पनि छ । नेपाली इतिहासका पुस्तकहरूमा कास्कीका राजा कुलमण्डन शाहका ७ भाइ छोरा भन्ने उल्लेख भए पनि सबैको नाम भेटिन्न । तर यरजंगको घरमा भेटिएको वंशावली पुस्तकमा भने कुलमण्डनका छोराहरूको नाम (जसको नाम अरू इतिहासमा भेटिन्न) पनि रहेको छ । मनहर शाही, भोवर शाही, गेब्रे शाही र जलाल शाही गरी ४ छोराहरूको नाम वंशावली पुस्तकमा छ । पुस्तकमा जगती खानका पालामा कहाँकहाँ कसकसले बिर्ता पाएको थियो भन्ने पनि उल्लेख छ । घले राजाहरू र शाह राजाहरूबीचको युद्ध तथा सन्धि पनि गुरुङ जातिका ऐतिहासिक दस्तावेजका खुराक हुन् । कास्कीमा घले राजालाई शाह राजाले हराएपछि गुरुङ समुदायसँग सम्झौता गरी आगोढलो गुरुङलाई र पानीढलो बाहुनलाई दिएको हो । पानी लगाउने धानखेत बाहुनको भयो, आगो लगाएर खोरिया फाँड्ने मकै लाउने, कोदो रोप्ने खोरिया गुरुङको । 
(अन्नपूर्णकर्मी केशवशरण लामिछानेसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.