शेर्पाहरूको इतिहास र वंशावली

शेर्पाहरूको इतिहास र वंशावली

गोन्पाहरूमा यो पुस्तकलाई पाठ्यपुस्तकको रूपमा पनि अध्यापन गराइन्छ । पुस्तकले शेर्पा समुदायको भाषा, धर्म, संस्कृति र संस्कार संरक्षणमा ठूलो टेवा पुगेको छ । 


इतिहास र वंशावली नै शेर्पा जातिको पुरानो कृति हो । सोलुखुम्बु सोलुदुधकुण्ड–२ टाक्टोर निवासी खेन्पो साङ्गे तेन्जिन शेर्पाले यो पुस्तक लेखेका हुन् । उनी शेर्पा जातिको पहिलो इतिहास लेखक तथा बौद्ध दर्शनविद् हुन् ।

यो पुस्तक ठ्याक्कै कहिले लेखेको हो भन्ने यकिन छैन । तर १९८३ देखि ८५ को बीचमा लेखिएको अनुमान छ । बूढापाकाका मौखिक उक्ति, धार्मिक अभिलेख, टीका टिप्पणीमा भएका सामग्री र लेखकले प्रत्यक्ष अनुभव गरेका सामग्रीहरूलाई संकलन गरेर शेर्पाहरूको इतिहास र वंशावली तयार पारिएको हो । 

सम्भोट लिपि र भोट भाषामा रहेको यो पुस्तकलाई शेर्पा समुदायमा धेरै महत्वका साथ लिइन्छ । पुस्तक दुई भागमा लेखिएको छ । पहिलो भागमा शेर्पाहरूका पुर्खा, धर्मगुरुहरूको जीवनी, शेर्पा गाउँमा रहेका गोन्पा (गुम्बा) हरूको इतिहास, जन्मदेखि मृत्युसम्मको संस्कार विधि, धार्मिक परम्परा आदि विषय समेटिएका छन् । दोस्रो भागमा शेर्पाको परिभाषा, शेर्पा गोत्र (थर) हरूको वर्णन, शेर्पाहरूको कुलदेवता, दैनिक आचरण, शेर्पाहरूको पेसा, धार्मिक सम्प्रदाय आदि विषयमा उल्लेख गरिएको छ । 

शेर्पाको विषयमा अध्ययन अनुसन्धान गर्दा विद्वानहरूले यो किताबलाई आधार मान्छन् । गोन्पाहरूमा यो पुस्तकलाई पाठ्यपुस्तकको रूपमा पनि अध्यापन गराइन्छ । पुस्तकले शेर्पा समुदायको भाषा, धर्म, संस्कृति र संस्कार संरक्षणमा ठूलो टेवा पुगेको छ । 

यो पुस्तक धेरै महत्वका साथ तिब्बतको प्रसिद्ध प्रकाशन मिरिक पेटुन खाङबाट पनि सन् २००५ मा प्रकाशन गरिएको थियो । खेन्पो ङवाङ वोशेर शेर्पाले सन् २००२ मा नेपाली र डा. ङिमा शेर्पाले सन् २०१३ मा अंग्रेजीमा समेत अनुवाद गरी प्रकाशन गरेका थिए । 

तिब्बतका महासिद्धि धर्मगुरु खुम्बु क्षेत्रमा आई ध्यान गर्नुभएको विषयमा उहाँले आफ्ना कृतिमा यसरी व्याख्या गर्नुभएको छ, ‘बुद्ध छ्यानचेनको जेठा साङ्वा दोर्जे, माहिला राल्पा दोर्जे र कान्छा खेनपा दोर्जे गरी तीन जना छोराहरू भए । यी बाबु छोराहरू पहिले खुम्बु क्षेत्रमा आउनु हुँदा त्यस दिशामा अरू मानिसहरू कोही नभएकाले त्यहाँ बस्नको लागि कुनै किसिमको बाधा व्यवधान थिएन ।’ बुद्ध छ्यानचेनका तीन छोराले खुम्बु क्षेत्रमा स्थापना गरेका विभिन्न गोन्पाहरूको अहिले पनि दर्शन गर्न पाइन्छ ।

पहिलो शेर्पा इतिहास लेखक तथा बौद्ध दर्शनविद् खेन्पो साङगे तेन्जिन शेर्पाले शेर्पाको धार्मिक इतिहास, शेर्पाको इतिहास सगरमाथाको प्रकाश, शब्दकोश, व्याकरण आदि कृतिहरू पनि रचेका छन् ।
सन् १९६९ मा केन्ट गोर्डनले शेर्पा भाषाको फोनमिक सारांश अध्ययन प्रतिवेदन तयार गरेको पाइन्छ । २०५३ असार १ गतेबाट शेर्पा भाषामा रेडियो नेपालबाट भाषाको समाचार प्रसारण हुन थालेको हो । 

सन् २००० देखि २००४ सम्म कोरियाली नागरिक साग योंग लीले शेर्पा–नेपाली–अंग्रेजी–तिब्बती शब्दकोशका लागि आवश्यक लिपिको अनुसन्धान गरेका थिए । उनले सोलुखुम्बु, रामेछाप र दोलखाका शेर्पाहरूले बोल्ने भाषाको विषयमा सर्वेक्षण गरेको पाइन्छ । सन् २००० मा दावा शेर्पाले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा शेर्पा समुदायको एक अध्ययन विषयमा शोधपत्र तयार गरेको पाइन्छ ।  सन् २००४ मा क्यारोल जेनेटीले नेपालमा बोल्ने भोट बर्मेली भाषाहरूमध्ये मनाङ्गी र शेर्पा भाषाको विषयमा अनुसन्धान गरेका थिए । सन् २००४ मा बार्बरा केलीले शेर्पा व्याकरण र शब्दकोशको विषयमा अनुसन्धान गरे । सन् २०६३ सालदेखि गोरखापत्रमा प्रत्येक महिना शेर्पा भाषा, धर्म र संस्कृतिसँग सम्बन्धित लेख र समाचार शेर्पा भाषामा प्रकाशन हुने गरेका छन् ।

सन् २००८ मा लोपोन ग्युर्मी छोडक शेर्पाको सम्पादनमा ५ सय ७९ पृष्ठको सम्भोट लिपिमा शेर्पा शब्दकोश तयार भएको थियो । शब्दकोषमा शेर्पा भाषाका क्रिया, पद र काल, धर्मगुरुहरूको जीवनी, प्राचीन शेर्पाहरूको इतिहास र सोलुखुम्बुका प्रसिद्ध हिमालहरूको परिचय समेटिएका थिए । वि.स. २०६५ देखि गोरखापत्रको नयाँ नेपाल पृष्ठमा शेर्पा भाषाको समाचार प्रकाशित हुन थालेको हो । सन् २०१० मा श्यार्वा लामा थुप्तेनले शेर्पा व्याकरणसम्बन्धी अनुसन्धान गरी शेर्पा व्याकरण नामक पुस्तक प्रकाशन गरेको पाइन्छ । वि.सं. २०६७ सालमा शेर्पा भाषाको काल र पक्षको बारेमा विस्तृत जानकारीमूलक अध्ययन गरेको पाइन्छ । वि.सं. २०७१ सालमा किशोर शेर्पाले शेर्पा भाषाको वैज्ञानिक अध्ययनको अप्रकाशित शोधपत्र तयार पारेका थिए । 

४ वर्ण ३६ जातको फूलबारीको एउटा फूल हो, शेर्पा जाति । ५९ जनजातिमा शेर्पा जाति परापूर्वकालदेखि नै उच्च हिमाली भूभागमा बसोबास गर्दै आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत (भोट) बाट नेपालको पूर्वी हिमालय भूभागमा बसोबास गर्ने भएकोले नै शेर्पा भनिएको हो । 

शरपा वा शरवा दुवै पर्यायवाची शब्द हुन । पछिल्लो कालमा देवनागरी र अंग्रेजी लिपिमा शरपा शब्द लेख्दा अपभ्रंश भई शरपा शब्द ‘श’ मा एकार थपेर श+ए+र+पा=शेर्पा लेख्न थालिएको हो  । 
हुन त शरपा भाषा सम्भोट लिपिबाहेक अन्य कुनै पनि लिपिमा शुद्ध उच्चारण हुने गरी लेख्न सकिँदैन । अहिले देवनागरी लिपिको सहयोगमा शेर्पा भाषाको अध्ययन अध्यापन गर्न थालिएको छ । तर यस प्रकारको अध्ययन अध्यापनले शेर्पा भाषाको उच्चारण दिनानुदिन खस्किँदै गएको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिँदा देवनागरीमा नै नाम लेख्नुपर्ने भएकाले प्रायः शेर्पाहरूको नाम गलत वा अशुद्ध लेखिएका छन् । 
शरखुम्बु अपभं्रश भई सोलुखुम्बु भनियो । काठमाडौंबाट पूर्वमा पर्ने भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने मूलवासीहरूलाई सुरुमा शरपा पूर्वेली भन्न थालियो । पछि विभिन्न कारणले शेर्पा जाति सोलुखुम्बुबाट उत्तर पश्चिम र दक्षिणतिर पनि बसाइ सर्दै गयो । 

आजभोलि ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला, गोर्खा आदि जिल्लाहरूमा शेर्पाहरूको संख्या बढ्दै गएको छ  । हाल नेपालका अधिकांश जिल्लामा शेर्पाहरूको बसोबास छ । भारतको दार्जिलिंग, सिक्किम, मणिपुर, आसाम र पश्चिम बंगालमा पनि शेर्पा जातिको बसोबास छ । तिब्बत, भूटान तथा युरोप र अमेरिका आदि देशहरूमा पनि शेर्पाहरू बसोबास गर्दै आएका छन् ।

शेर्पाहरूको आफ्नै विशिष्ट जातीय, भाषिक, धार्मिक र सांस्कृतिक पहिचान छ । उनीहरूले बौद्ध धर्म र त्यससँग सम्बन्धित सांस्कृतिक परम्परामा आधारित जीवनशैली अपनाउँदै आएका छन् । शेर्पाहरूको मूलथलो सोलुखुम्बु क्षेत्रमा सर्वप्रथम लामा साङ्वा दोर्जेले ञिङमा परम्पराको सुरुआत गर्नुभएको थियो । उहाँले खुम्बु क्षेत्रको पाङवोचेमा पाल्रिवोे नामक गोन्पा निर्माण गरी यस परम्पराको स्थापना गर्नु भएको पाइन्छ । उक्त गोन्पालाई स्थानीयवासीहरूले सबैभन्दा पुरानो गोन्पाको रूपमा लिने गर्दछन् । शेर्पा इतिहासहरूमा उल्लेख गरेअनुसार लामा साङ्वा दोर्जेका माहिला भाइ राल्वा दोर्जे र कान्छा भाइ खेन्पा दोर्जेले पनि क्रमशः थामे र रिमिज्युङ गाउँमा गोन्पाहरू स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचारप्रसार गर्नुभएको थियो । 

शेर्पाहरूले बौद्ध धर्म मान्छन् । उनीहरूले मान्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रवर्तन, सागा दावा, देवातरण महोत्सव (ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, शुक्ल पक्षको दशमी पूजा, (छेचु) र कृष्ण पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन व्रत) डुम्ची (डुव्क्षोद्) लोसार 
आदि रहेका छन् । 
(लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्या परिषद्का सदस्य आचार्य सार्की शेर्पासँग अन्नपूर्णकर्मी  सुनिता कार्कीले गरेको  कुराकानीमा आधारित ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.