रीहीछ्योट अर्थात् कर्मकाण्ड
जन्मदेखि मृत्युसम्मका हरेक कार्जेमा पुरेत अर्थात् भाञ्जाको भूमिका सबैभन्दा बढी हुन्छ। मगर समुदायमा पुरेत गुरु छनोट पनि रोचक नै छ। चेलीबेटीमध्ये जेठी दिदीको जेठो सन्तानले मात्रै त्यो घरको पुरेत हुन पाउँछ।
७३ जिल्लामा मगर समुदायको बसोबास छ । तर, आफ्नै कर्मकाण्ड थिएन । इतिहास अध्ययन गर्ने क्रममा आफ्नो भाषा, संस्कृतिबारे चासो बढ्यो । २०३६ सालदेखि मगर संघमा आबद्ध थिएँ । संघका साथीहरूको समेत अनुरोधपछि यसबारे पुस्तक लेखन सुरु गरेँ । ‘मगर कर्मकाण्ड’ (मगर रीहीछ्योट) अर्थात् ‘मगर समुदायको वेद’ प्रकाशन गरें । यही पुस्तकका आधारमा मगर समुदायमा कर्मकाण्ड विधिवत् सुरु भयो ।
पुस्तक लेखनको सिलसिलामा ७० भन्दा बढी जिल्ला घुमेको थिएँ । भूगोलअनुसार मगर समुदाय बौद्ध र हिन्दु धर्मसँग प्रभावित थिए । २०५० सालमा पहिलो संस्करण प्रकाशित भएको पुस्तकको २०५३ सालमा दोस्रो र २०७५ सालमा तेस्रो संस्करण प्रकाशित छ । पुस्तकमा मगर समुदायले जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्डबारे उल्लेख छ ।
मगर शब्दको ‘वापा’ अर्थात ‘पुरेतगुरु’ । जसलाई ‘भुषाल’ पनि भनिन्छ । मगर जातिमा भाञ्जा नै पुरेत हुन्छन् । भाञ्जा अधिकार प्राप्त पुरेत हुन् । जन्मदेखि मृत्युसम्मका हरेक कार्जेमा पुरेत अर्थात् भाञ्जाको भूमिका सबैभन्दा बढी हुन्छ ।
मगर समुदायमा पुरेत गुरु छनोट पनि रोचक नै छ । चेलीबेटीमध्ये जेठी दिदीको जेठो सन्तानले मात्रै त्यो घरको पुरेत हुन पाउँछ । अरूले पाउँदैनन् । भाञ्जाले कर्मकाण्ड नजाने पनि मामा घरमा हुने हरेक कार्जेमा अनिवार्य उपस्थित हुनु पर्छ ।
पुस्तक प्रकाशनपछि जन्मदेखि मृत्युसम्म मगरका आफ्नै कार्जे संस्कार हुन थाले । एकरूपता कायम हुँदै गयो । आज सोही पुस्तकमा रहेको विधिअनुसार मगरहरू कर्मकाण्ड गर्छन् । मगर समुदायमा तीन किसिमका भाषा छन् । पहिलो हो ‘डुट’ भाषा । पूर्वतर्फ स्याङ्जा, पोखरा, पाल्पा, तनहुँ, कञ्चनपुर हुँदै भारतको सिक्किम, दार्जिलिङ बसोबास गर्ने मगरले यो भाषा बोल्दछन् । यसलाई १२ मगराती भाषा पनि भनिन्छ । अर्थात् १२ मगर समुदायले बोल्ने भाषा ।
अर्को ‘खाम’ भाषा । यसलाई खामपाङ पनि भनिन्छ । यो दाङ र रुकम क्षेत्रका मगरले बढी मात्रामा बोल्छन् । यस भाषाबारे रोचक कुरा छ । कुनै समय नेपालका तामा, फलाम खानीमा काम गर्ने मगरहरू धेरै थियो । कारणवश उनीहरूको भाषामा प्रतिवन्ध लगाइयो । त्यसपछि खामपाङ भाषाको विकास भयो । यो भाषा १८ मगरातले बोल्छन् ।
तेस्रो ‘काईकेई’ भाषा हो । यो रोल्पाका मगरले मात्रै बोल्छन् । त्यहाँ २०–२५ घर गमर समुदाय छन् । उनीहरूको जनसंख्या पाँच सयभन्दा बढी छैन । यो भाषा बोल्ने समुदायको कल्चर तिब्वतियन कल्चरसँग मिल्दोजुल्दो छ ।
‘डुट’ भाषा बोल्ने १२ मगरातीहरूले मगर रीहीछ्योटलाई मानेका छन् ।
जन्म
महिलाले गर्भवती हुँदादेखि नै चोखोनितो हुनुपर्छ । कार्जेमा उनीहरू सहभागी हुन पाउँदैनन् । बच्चाको न्वारान अन्य जातिको जस्तै हुन्छ । तर, बिजोर अंकका ३, ५, ७, ९ र ११ दिनमा । न्वारानकै दिन नाम जुराइन्छ । नाम जन्मिएको बच्चाको फुपूले जुराइदिने प्रचलन छ । मगर भाषामा फुपूलाई ‘ढायाक्मा’ भनिन्छ ।
दोस्रो कार्जे हो, छेवर तथा गुन्यूचोली । छोराको छेवर गरिन्छ । छोरीको गुन्यूचोली । छेवरमा मामाको उपस्थिति अनिवार्य हुन्छ । गुन्यूचोलीमा माइजूको उपस्थिति हुन्छ ।
विवाह
विवाहमा सबैभन्दा ठूलो भूमिका मामाको हुन्छ । मगर समुदाय मातृसत्तात्मक छ । घरव्यवहारको काममा बुवाको भन्दा पनि आमाको बढी महŒव हुन्छ । हरेक घरायसी कुरामा आमाले सबैभन्दा पहिले मामालाई सोध्ने चलन छ । त्यसैले मामाको भूमिका झन् बढी हुन्छ । त्यही भएर मगर समुदायमा मामाको छोरी विवाह गर्ने चलन चलेको हो । तर, अहिले यो चलन हट्दै गइरहेको छ । मगरमा सासूससुरा हुँदैनन् । बहिनीको छोराछोरीलाई मामाको छोराले सुरुमै भेना भन्नुपर्छ । त्यही कल्चरले मगर समुदायमा साली भेनाको कथा बढी हुन्छ ।
बेहुलीले ससुरालाई ‘निवा’ र सासूलाई ‘निनी’ भन्दछन् । सासू–ससुरा नहुने भएकाले विवाह चलेको हो । बेहुलाले बेहुलीको बुवाआमालाई सासू–ससुराको सट्टा मामा—माइजू भन्नुपर्छ ।
फुपूको छोराले मामाको छोरी विवाह गर्न मिले पनि फुपूको छोरी मामाको छोराले बिहे गर्न मिल्दैन यो संस्कारमा । मगरले मावलीवाट ल्याउने हो । बेहुलीले श्रीमान्को घर होइन । फुपूको घर आए सरह मान्नु पर्छ । बेहुलाले पनि ससुराली होइन मामाको घर आएको मान्नु पर्छ ।
मृत्युकर्म
हाम्रो समुदायमा मृत शरीरलाई गाड्ने र पोल्ने दुवै गरिन्छ । खासमा गाड्ने चलन हो । मृत शरीरलाई डाँडामा लगेर पोलेर गाडिन्छ । तर पछिल्लो समय खोलामा लगेर पोल्नेसमेत चलन सुरु भएको छ ।
मृत्यु भएको घरमा जुठो बार्ने चलन छ । छिटो चोखिँदा तीन दिनमा कार्जे सक्ने चलन छ । कसैले पाँच दिनमा पनि सक्छन् । सबैतिर समान रूपमा सात दिनमा चोखिने अभ्यास हुन थालेको छ । कर्मकाण्डमा भने १० दिनपछि चोखिनु भनिएको छ । मृत शरीरको अन्त्येष्टिपछि घरमा फर्किएर चोख्याउने गरिन्छ । यो कार्यमा नुहाउने, कपाल काट्ने, नसिलाएको चोखो कपडा लगाउनु पर्छ । मृतकको आत्मालाई सम्झेर बत्ती बाल्ने
चलन पनि छ ।
मरेको दिन बेलुका घरको नाङ्लोमा खरानी राखेर आँगनमा डोकोले छोप्ने चलन छ । बीचमा एक लोटा पानी राखिन्छ । खरानीमा भोलिपल्ट बिहान जे आकृति देखिन्छ मरेको मान्छेले त्यही जुनी लिएको छ भन्ने विश्वास छ । नुन पिण्ड दिएपछि मात्रै खान मिल्छ । पिण्ड बार्न थालेको दोस्रो दिनदेखि दिने गरिएको छ । मगर समुदायमा पिन्ड दिने तरिका अलि फरक छ । एक मुठ्ठी फुको चामलको छेउमा मर्चा, सिद्रा राखेर पिण्डलाई त्यहीँ मन्त्र पढेर दिइन्छ । पहिलो पिण्ड मरेको स्थानमा, त्यसपछि नजिकको धारा, कुवामा गएर दिइन्छ । यो कार्जेमा भाञ्जाको भूमिका धेरै हुन्छ । सबै काम भाञ्जाले नै गर्छन् ।
(अन्नपूर्णकर्मी हरिबहादुर लम्जेलसँगको कुराकानीमा आधारित)