‘राजा र राणाले मुन्दुम मासेर थुतुरी वेद नाम राखिदिए’

‘राजा र राणाले मुन्दुम मासेर थुतुरी वेद नाम राखिदिए’

मुन्दुमवेत्ता सन्तकुमार इशारा राई ८७ वर्षका भए। इलाम आमचोकमा जन्मिए। झापाको कमल गाउँपालिका–४ मा बसोबास गर्छन्। उनी संकलक रहेको ‘दोवाङदुम शाम्कालिङ: किरात राई मुन्दुम धर्म, कर्मकाण्ड, विधि संग्रह’ किरात राई यायोक्खाले २०५५ सालमा प्रकाशन गरेको थियो। जुन दुई भाषामा छ। जसको आवरण टेकवीर मुखियाले बनाएका हुन्। त्यसमा लैनसिंह बाङदेललाई विशेष सल्लाहकार भनिएको छ।

यायोक्खाले किताब मस्यौदाकै क्रममा मुन्दुमविद्को भेला आयोजना गरेको थियो। त्यस बेला सहमतिपत्रमा माङपा (बिजुवा) र अन्य पर्यवेक्षकले हस्ताक्षर गरेका थिए। उनका अन्य कृतिमा ‘राई भाषा संग्रह’ २०४६ र ‘राई भाषा वर्णमाला’ छन्। यस्तै, उनकै अगुवाइमा ‘किरात राई बान्तवा दाँवा इशारा वंशावली’ २०६९ मा प्रकाशन भएको देखिन्छ। प्रस्तुत छ, किरात राई जातिको मुन्दुममा केन्द्रित रही सचित राईले मुन्दुमवेत्ता राईसँग उनकै निवासमा गरेको कुराकानीको सम्पादित अंश:  

दोवाङदुम शाम्कालिङ कस्तो किताब हो ?

दोवाङदुम भनेको मुन्दुम। शाम्कालिङ भनेको शास्त्र हो। त्यस हिसाबले यो किताब मुन्दुमशास्त्र हो। यसमा सृष्टिको कुरा छ। किरातको जन्मदेखि मृत्यु संस्कार समेटिएको छ। कुलपितृ बुझाउने कुराहरू पनि छन्। धर्मकर्मका कुरा पनि छन्। 
अध्याय १ मा सृष्टिको उत्पत्तिसम्बन्धी, २ मा देव पूजाआराधनासम्बन्धी, ३ मा कर्मकाण्ड विधि, ४ मा विवाह कर्मकाण्ड, ५ मा विविध रीतिरिवाज र ६ मा मृत्यु संस्कार विधि छन्।  

यो कृृतिको प्रकाशक किरात राई यायोक्खा रहेछ। यायोक्खासम्म कसरी पुग्नुभयो ? 

हाम्रो मुन्दुम, शास्त्र के छ भनेर यायोक्खाले नै लेख्न लगाएको हो। मलाई यो लेखिसक्न तीन वर्ष समय लाग्यो।  किताब नछापी नै १६ जिल्लाका माङपा (बिजुवा) राखेर दोवाङदुम शाम्कालिङबारे डा. केआर खम्बूले यसबारे सोध्नु भएको थियो। उहाँहरूले समर्थन गर्छौं भनेर हस्ताक्षर गर्नुभएको छ। भोग नदिने कुरामा उहाँहरूलाई अप्ठेरो लागेको होला। किताब प्रकाशन भएपछि ललितपुरमा विमोचन गरियो। भाषाविद्हरूले यस्तो पनि रहेछ भनेर बोल्नुभयो।  

तपाईंले कृति प्रकाशनपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
आफ्नो जातिको भाषा, धर्म, संस्कार, संस्कृतिको उत्थान गर्न पहिलादेखि मन लागेको थियो। अरूले राईहरूको शास्त्र दोवाङदुम शाम्कालिङ हो भनेर स्वीकार गर्नु भएपछि सन्तुष्टै लाग्यो। सबैले मानेकै छन्।

पुरस्कारहरू पाएँ। राम्रै लाग्यो।मुन्दुम संकलन गर्ने सोच कसरी आयो ? 
मेरा बुवाआमा मुन्दुम जान्ने हुनुहुन्थ्यो। मैले खोज अनुसन्धानको काम २०१५ सालमा सुरु गरें। माझ किरात गएँ। सिक्किम, दार्जिलिङ पुगें। माङपा (बिजुवा), भाषाविद, जान्नेमान्नेहरूलाई भेटें। मैले झन्डै ३० वर्ष खोज गरें। त्यति बेला राजनीतिले गर्दा सहज रूपमा किताब निकाल्न पाउने अवस्था थिएन।  

नारदमुनि थुलुङ (जो २००८ सालमा मन्त्री भएका थिए। २०१० सालमा राणापछिका पहिलो रक्षामन्त्रीसमेत बने)सँग २०४६ सालतिर झापामै भेट भयो। मैले किताब निकाल्न लागेको छु, मन्तव्य लेखिदिनु हुन्छ कि भनेर आग्रह गरें। तर, उहाँले अहिले यस्तो निकाल्दा सरकारले हामीलाई मास्छ भनेर सल्लाह दिनुभयो। राम्रो मान्छे धेरै मासिसक्यो भन्नुभयो। यस्तो गरिहाल्नु हुँदैन, भर्सक जोगिनुस् भन्नुभयो। अरू पनि कतिपयले नलेख्नुहोस् भन्नुभयो। 

मैले डर छैन भनें। मलाई राजा भएको ठाउँमा लैजानु होस् म यही कुरा गर्छु भनें। सरकारको विरोधका लागि होइन, मैले भाषाको उत्थानका लागि काम गरेको हुँ भन्छु भन्ने कुरा राखें। यो भनेको मातृभाषा हो। जीवजन्तुदेखि सबैको भाषा छ। हाम्रो मातृभाषा बोल्दा सरकारको विरोध हुन्छ भने मर्नु पनि तयार छु भनें। 

मुन्दुम संकलन गर्दा असहज परिस्थिति भोग्नुपर्‍यो कि परेन ?
मैले अरू शास्त्रहरूको पनि साथ लिएँ। लामा, पण्डितहरूसँग कुरा बुझें। मानव भनेको सृष्टि त एउटै हो। तापनि, जातीय कुरा बेग्लाबेग्लै भएकाले मैले खोजी गरें। बुवाआमा मुन्दुम धेरै जान्ने हुनुहुन्थ्यो। त्यही भएर खासै असहज भएन। कर्मकाण्डबारे फाल्गुनन्दले बुझाउनु भएको थियो। मलाई भाषाको समस्या थियो। भाषा संकलन गरेपछि कुनै पनि वेदको व्याख्या गर्न पनि अप्ठेरो भएन। 

थुतुरी वेद भन्ने सुनिन्छ, यो भनेको के रहेछ ?
पुस्तक नभएपछि मुखले मात्रै भन्ने भयो। मुखलाई थुतुनो भन्छ। त्यसबाटै थुतुरी भनेको हो। पृथ्वीनारायण शाहका पालादेखि तीनपटक (जंगबहादुर र चन्द्रशमशेरसम्म) हाम्रो वेद, विधान त के एउटा अक्षरसम्म राख्न दिएनन्। राईको इतिहास मासियो। मुन्दुम मासियो। त्यसपछि उनीहरूले नै थुतुरी वेद भनेर नाम राखिदिएका हुन्। 

राजा र राणाले किरातको इतिहास मासेको कुरा कसरी थाहा पाउनुभयो ?   
किरातीहरू नजान्ने थिएनन्। पहिला रणबहादुर शाहले शास्त्र, विधिविधान त के अक्षरसम्म खोसेर लगे। त्यसपछि बाँकी रहेका अक्षर आफ्ना दूतलाई दिएर पठाउन भने। नभए खोलामा बगाउनू, नत्र अग्निमा जलाउनू भने। त्यति पनि नभए ६ फिट जग्गा खनेर गाडिसक्नू भने। त्यसपछि पनि घरमा भेटियो भने तिमीहरूलाई सिधै मारिनेछ भने। पछि जंगबहादुरले त्यस्तै गरे। चन्द्रशमशेरले त्यस्तै गरे। त्यति गर्दा सबै लेख सके। त्यति बेला राईहरूले हामी मरे पनि प्रेतले थाहा पाउला भनेर चिहानमा लासमुनि पनि ढुंगामा लेखेर राखे। पहराका शिलामा लेखी छाडे। यो कथा रहँदै–रहँदै गएर हामीले सुन्न पनि पायौं। टिप्पणीहरू हेर्‍यौं। तब हामीलाई थाहा भयो। 

माझ किरातबाट लिम्बुवानमा आएका कतिपय राईहरूले जोगाए। माझकिरातमा छैन, यता कहींकहीं थियो। उनीहरूले लिम्बुवानमा त्यति साह्रो खोजेनन्। दार्जिलिङतिर खोज्ने कुरा भएन। त्यही बेला हाम्रो संस्कार, संस्कृति मासियो। पहिला चुलामा सुँगुर, कुखुरा चढाउने चलन थिएन। पछि विकृति भित्रियो। किरातीहरूले प्राणी मारेर पितृलाई दिँदैनथे, धुपबातीमार्फत पूजाआजा गर्थे।  

मुन्दुम त मौखिक परम्परामा सीमित थियो। लेखनको परम्परा बसेको छ। तपाईं यसप्रति के भन्नुहुन्छ ? 
म त २०१५ सालदेखि किरातीका उत्थानका लागि हिँडेको व्यक्ति हुँ। गर्न बाँकी काम धेरै छन्। जान्नेबुझ्नेहरू अझै अग्रसर हुनुपर्छ। मुन्दुम भनेको संस्कार र संस्कृति हो। योबिना हामी अनिलो हुन्छौं। मुन्दुम लेखिनु राम्रो हो। 

राई जातिभित्र त २६ भाषा बोलिन्छ भनिन्छ। मुन्दुम त भाषागत (थरगत) फरक छ कि एउटै हो ? 
मूल भाषा बान्तवा हो। पृथ्वीनारायण शाहले राज्य लिएपछि राईहरू मिटिङ बसे। हाम्रो कुरा उसले (पृथ्वीनारायण) धेरै जान्यो, अब उसले नबुझ्ने गरी एउटा–एउटा पाल्सी भाषा बनाऔं भनेर सल्लाह गरेछन्। पाल्सी बोल्दाबोल्दै अर्को भाषा भइगएछ। भौगोलिक हिसाबले भाषाको विकास हुँदै गएछ। चाम्लिङ र बान्तवा अलिक–अलिक मात्रै फरक छ। 

भाषाअनुसार मुन्दुम फरक–फरक छ। पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि आफू–आफू भएको हो। त्यसअघि किरातीको वेद, विधान एकै थियो। हाम्रो मूल चिनारी भनेको तीन चुला (सुप्तलुङ) छ। जुनै राई भए पनि सुप्तुलुङ चाहिँ मानेकै हुन्छ।  वेद मासिएपछि बिजुवाहरूले मुन्दुम गर्थे। त्यति बेलाका बिजुवा राम्रै थिए। अहिले विकृति छ। उनीहरूमा संसारी मुन्दुम छ। मृतात्मालाई बाटो लगाउँदा कसैले साहोन (किपट)मा पुर्‍याउँछन्। कसैले कुलमा पुर्‍याउँछन्। कुलमा लैजानु त राम्रै हो। ढुंगा–मुढामा पुर्‍याउने कुरा बेकारको कुरा हो। सेहें हानेर बाटो लगाउँदैनन्। यो पनि विकृति हो। बाटो लगाउनु भनेको मुक्ति दिलाउनु हो। मुन्दुमले यी कुरा समेट्नुपर्छ। मुन्दुम पुर्‍याउनुपर्छ।   

राई जातिभित्रका संस्कार, संस्कृति यथावत् नै छन् कि लोप हुँदै छन् ? 
लेखे पनि त्यसअनुसार काम भइसकेको छैन। महत्वपूर्ण कुराहरू थाहा छैन। संस्कार गर्दा प्राणीको भोग नदिनु भन्दा कतिपयले किरात धर्म नमानेको भन्ने गरेको पाइन्छ। कुलधर्म चुला नछोड्नु ठीक हो। धर्म मनपरी छ। 

संस्कार, संस्कृतिको जगेर्ना कसरी गर्न सकिन्छ ? 
विज्ञहरू भेला हुनुपर्छ। राय मिलाउनुपर्छ। गाउँघरमा मिटिङ राख्दै प्रचार गर्नुपर्छ। भाषण गर्ने होइन। भाषा एउटा बनाउनुपर्छ। यो सम्भव छ। म त धर्मको आस्थामा बसेको व्यक्ति हुँ। सबैको भाषा संकलन गरौं। भाषा एकै भयो भने राजनीति जाग्छ। राजनीतिमा जन, धन र ज्ञान चाहिन्छ।   

तपाईंले वेदको पनि कुरा उठाउनुभयो। वेद र मुन्दुम त फरक होइनन् र ? 
हिन्दूका चार वेद छन्। मुन्दुममा ती सबै कुरा छन्। वेद भन्दा नबुझ्नेहरूले विरोध गर्छन्। 

तपाईंले आफ्नो अध्ययनलाई कसरी अघि बढाउनुभयो ? 
म बुवाबाटै साक्षर भएँ। २०१० सालतिर फुएतप्पामा प्राइभेट स्कुल थियो (धर्मशाला)। त्यहाँ १७ दिन पढें। सरले हिसाब सिकाउनुभयो। पुस्तक थिएन। बाहुनहरू वेद पढ्थे। कसैले कथा। कसैले राजाहरूको इतिहास पढ्थे। खुसी–खुसी थियो। 

बुवाले नै लेखापढी सिकाउनुभयो। यति हो पढेको। इलाममा २०११–१२ सालतिर अड्डामा बसें। त्यति बेला लेखापढी गर्थें। स्वअध्ययन गरें। धर्मकर्ममा लागें। कर्मकाण्ड सिकें। साधु भएँ। बुवा नै साधु। किरात धर्ममा लाग्नुभएको थियो। मैले ज्योतिष पनि सिकें। गुरु काम गरें। गुरु पद पाएँ। मेरो शब्दी गुरु फाल्गुनन्द हुनुहुन्थ्यो। बद्रीनन्द गुरुबाट योगधारण गरें। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.