बाबाकम्मर कइहाँपावा वही जंगलवा केरे बीच
‘बाबाकम्मर कइहाँपावावहीजंगलवा केरे बीच
सुइँयाऔर कटिलिया हेरा मोलहुँपुर गेन आई
तैहाँ से चलकै डुडवा नाँघेन पहुँचे बाबकदुवार
ओढे चादर बाबाहमारे सीन्नीन कै बौछार
पहिरे फूलन कै शेहरवावही’
अर्थात, बाबाकम्मर शाहलाई जंगलको बीचमा भेटें। सुर्जीगाउँ, लग्दहवामा खोजें फुटाहामा पनि। सुइँया अनि कटलियामा खोजें मोलहुँपुर पनि पुगें। त्यसपछि त्यहाँ केही संकेत पाए। त्यहाँबाट डुडुवा खोला तरेर पुगें बाबाको द्वार। चादरले ढाकेको मजारमा धेरै छरिएको मिठाइको प्रसाद। फूलको माला पनि पहिरिएका थिए।
हिन्दु र मुस्लिम धर्मालम्बीका साझा बाबा हुन्, कम्मर साह। दुवै धर्मावम्लबीले बाबालाई उत्तिकै मान्छन्, श्रद्धा गर्छन्। नेपालगन्ज जहाँ हिन्दु र मुस्लिम समुदायबीच बेलाबखत तनाव भइरहन्छ। त्यही सहरमा चार दशकअघि सैयद अली साँईले लेखेका थिए, अवधि भाषाको सामाजिक सद्भावको गीति काव्य, ‘पूर्वी कहरवा उर्फ दरद भरी दासतान’।
नेपालगन्ज सद्भावको सहर भनेर चिनिन्छ। तत्कालीन समयमा पनि हिन्दु र मुस्लिमबीच आपसी सद्भाव रहेको उनले गीतका माध्यमबाट व्यक्त गरेका छन्। जम्मा ८ पेजको गीति काव्यले सामाजिक सद्भाव कायम गर्न सघाउ पुर्याएको छ। गीति काव्यको मोल जम्मा ३५ पैसा छ।
गीति काव्यमा १० वटा गीत संग्रृहीत छन्। हिन्दुको कृष्णचरित्र, कृष्ण गोपिनी विरह र वेदनालाई समेटिएको छ। मुस्लिम समुदायको कर्बला गीत पनि छ। पति र पत्नीबीचको प्रेमगाथा र पारिवारिक परिवेश पनि छ। दुई वटा गीत त बढ्दो फेसन विकृतिका विषयमै छ। बजारमा फेसन यसरी बढिरहेको छ कि घरजग्गा बेचेर पनि महिलाले लुगा किनिरहेका छन्। पुरुषमा भने साइकल र बाजा (टेप बाजा हुनुपर्छ) को मोह बढेको उल्लेख छ। उनका गीतहरूले तत्कालीन समयको परिवेशलाई सम्बोधन गरेको छ। गीतमा निकै सरल भाषा छ। बोलीचालीकै शैलीमा जस्तो प्रस्तुत गरिएको छ। पुस्तक लेटर प्रेसमा छापिएको छ।
हिन्दु र मुस्लिम धर्मका पाठकलाई समेट्नका लागि उनले पुस्तकमा दुवै धर्मलाई समेटेका हुन्। खासगरी नोकरी गर्नेहरू यस्ता पुस्तकका पाठक हुन्थे। उनीहरूका लागि पुस्तक मनोरञ्जनको साधन बन्थे। तत्कालीन समयको अवधी साहित्यको रचना सिर्जना सूचना वा सन्देश प्रवाह गर्नेभन्दा पनि मनोरञ्जन प्रदान गर्नका लागि हुन्थ्यो।
अवधी सांस्कृतिक प्रतिष्ठान स्थापना गरेर अवधी भाषाकोे संरक्षणमा लागेयता मैले संकलन गरेको मौलिक कृतिमा यो नै सबैभन्दा पुरानो कृृति हो। यो कृति २०३४ सालमा प्रकाशित भएको हो। भारतमा भने अवधी भाषाका थुपै्र कृतिहरू भेटिन्छन्। त्यसबेलाका कृतिहरू कम पृष्ठका हुन्थे। धेरै पानाका हुँदा बेच्न समस्या हुन्थ्यो। पुस्तकमा हार्डकभर हुँदैनथे। गाताबिनाकै हुन्थे।
नवलपरासीदेखि कञ्चनपुरसम्मको क्षेत्र अवधी भाषी बाहुल्य क्षेत्र हो। त्यसको केन्द्र नेपालगन्ज (बाँके) हो। नेपालगन्जमा बोलिने भाषामा पहिले अवधी अनि दोस्रो नेपाली हो। नेपालीमा लेखिएका कृति धेरै छन्। तर, अवधीका कृति निकै कम छन्।
तेस्रो भाषाको रूपमा उर्दुमा लेखिन्छ, तर लेख्नेहरू अवधी भाषा नै बोल्छन्। थारू भाषी पनि छन्। नेपालगन्जमा नेपाली, अवधी, थारु, उर्दु चारवटै भाषामा साहित्य लेखिँदै र प्रकाशित हुँदै आएको छ। अवधी भाषाको प्रभावले गर्दा अवधी भाषामा मुस्लिम रीतिरिवाजलाई लिएर सैयदजस्ता साहित्यकारहरूले लोकगीतहरू लेखेका पाइन्छन्।
नेपालगन्ज अवधी लोक साहित्यको धनी सहर भए पनि प्रकाशित कृति भने निकै कम छन्। औंलामै गन्न सकिने छन्। घरघरमा पर्व, गीत, संस्कार गीत, कजरी, सोहर जीवितै छन्। त्यत्तिबेलाको साहित्य रचना दुःख, पीडा बिर्साउन र मन भुलाउन र मनोरञ्जन प्रदान गर्नका लागि हुन्थ्यो। सम्भवतः २०१५ सालमा नेपालगन्जमा पाटन प्रिन्टिङ प्रेस स्थापना भएपछि अन्य भाषामा जस्तै अवधी भाषामा साहित्यिक पुस्तक प्रकाशित भएको हुनुपर्छ। त्यत्तिबेलाका पुस्तकहरू हामीले फेला पार्न सकेका छैनौं। संकलन गर्ने प्रयास जारी छ। २०३६ सालको जनमत संग्रहताका बीपी कोइराला र राजा महेन्द्र (पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था) का विषयमा केही अवधी भाषाका लोक गीतहरू बाँकेका गाउँहरूमा गाइन्थ्यो तर त्यसको संकलन गरेर प्रकाशित भएको कतै रेकर्ड भेटिँदैन।
अवधी भाषामा बाँकेमा लेखिएको पहिलो पुस्तक कुन थियो ? कहिले प्रकाशित भएको थियो ? कहाँ मुद्रण गरिएको थियो। त्यसपछिका कुन कुन मितिमा कुन पुस्तक प्रकाशित भए भन्ने कुराको कुनै रेकर्ड भेटिँदैन। अवधी साहित्यका पुस्तकको कतै लेखाजोखा नै छैन। हामीले प्रतिष्ठान स्थापना गरेर भाषा, साहित्य र संस्कृति संरक्षणको प्रयास त गरेका छौं। प्रतिष्ठानका लागि राज्यबाट कुनै सहयोग मिलेको छैन। त्यसैले अनुसन्धान गर्ने र इतिहास लेख्ने काम गर्न सकेका छैनौं।
२०४७ सालको संविधानले देशमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएपछि मात्र अवधी भाषाको संरक्षण र संवद्र्धनका प्रयास अलि बढी भएका थिए। अहिले त लुम्बिनी प्रदेशले सरकारी कामकाजको दोस्रो भाषाको रूपमा मान्यता पनि दिएको छ।
यसबाहेक अवधी भाषाको विकासका लागि प्रदेश सरकारबाट कुनै सहयोग गरेको भन्नेबारे थाहा पाइएको छैन। अवधी भाषाको विकासका लागि जसरी हुनुपथ्र्यो त्यति भएन। अरू भाषालाई जस्तै अवधी भाषालाई प्राथमिकतामा राखिएन। बेवास्ता गरेको हामीलाई अनुभव भएको छ।
देशमा भाषा आयोग त छ। यो आयोगले सबै भाषाको क्षेत्रमा काम गर्न सकेको देखिएन। भाषाभाषी आयोग बनाएर त्यसमा अवधी विभाग बनाएर काम गर्नुपर्छ। त्यो विभागले सबैभन्दा पहिले त अवधी भाषाको साहित्यको अध्ययन गर्न जरुरी छ। अवधी भाषा, साहित्य र संस्कृतिका लागि संग्रहालय नै बनाउनुपर्ने देखिन्छ। यो कामका लागि राज्यकै मुख ताक्नुपर्ने अवस्था छ।
सैयदलाई मैले एउटा किसानको रूपमा चिनेको हुँ। सामाजिक विषयमा उनी गीत लेख्न सक्छन्। जे देख्यो, भोग्यो, र अनुभव गरे त्यसलाई गीत बनाउन सक्छन्। लेख्ने मात्र होइन मीठो गाउन सक्ने उनको अर्को खुबी हो। उमेरले झन्डै आठ दशकको आसपास रहेका उनी अहिले पनि अवधी, उर्दु र हिन्दी वा बहुभाषिक साहित्यिक कार्यक्रममा पुग्छन्, गाउँछन्। तत्कालीन समयमा अवधी भाषी पाठक निकैै कम थिए।
लेखकलाई पुस्तक लेख्न अनुदान दिन सकिन्छ अर्थात् अवधी भाषामा लेख्न प्रोत्साहित गर्नुपर्छ। अवधी भाषामा यसअघि प्रकाशित भएका सबै कृतिको अभिलेख गर्नुपर्छ। अभिलेखको नियमित अध्यावधिक गर्ने स्थायी संरचना नै बनाएर विभागले गर्नुपर्छ। अवधी पठन संस्कृतिको विकासको लागि पनि काम गर्न सक्छ। अवधी भाषाको साहित्य लेखनलाई बढावा दिन सक्ने हो भने यसको बजार अन्य भाषाका कृतिभन्दा
धेरै फराकिलो छ।
नेपालको कुल जनसंख्याभन्दा धेरै गुणा बढी अवधी पाठक भारतलगायत विश्वभर छन्। अवधी भाषाको माध्यमबाट पनि देशको पहिचानलाई उँचो बनाउन सकिन्छ। छिमेकी भारतका उत्तर प्रदेश र मध्य प्रदेशलगायतका राज्यमा अवधी भाषा बोल्नेको संख्या ठूलो छ। कृतिहरू त्यहाँ पनि बिक्री गरेर बजार विस्तार गर्न सकिने सम्भावना छ।
(अवधी सांस्कृतिक प्रतिष्ठान बाँकेका अध्यक्ष विष्णुलाल कुमालसँग अन्नपूर्णकर्मी शंकरप्रसाद खनालले गरेको कुराकानीमा आधारित)