ताइवानमा सेना तैनाथ नगर्न अमेरिकालाई चीनको चेतावनी, एक महिनाअघि विष्फोट भएको स्पेनको ज्वालामुखी अझै रोकिएन

ताइवानमा सेना तैनाथ नगर्न अमेरिकालाई चीनको चेतावनी, एक महिनाअघि विष्फोट भएको स्पेनको ज्वालामुखी अझै रोकिएन

अमेरिकाले ताइवानमा आफ्ना सेना परिचालन गरेको सञ्चारमाध्यममा समाचार आएपछि चीनले अमेरिकालाई कडा रूपमा स्पष्टीकरण माग गरेको छ। चीनले समाचारबारे स्पष्ट पार्न अमेरिकालाई गरेको सो माग अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यममा प्रमुखताका साथ शनिबार प्रकाशित भए। त्यस्तै एक महिनाअघि स्पेनमा विष्फोट भएको ज्वालामुखी अझै नरोकिएको खबर पनि चर्चामा रह्यो। प्रस्तुत छ, आजका केही प्रमुख विश्व समाचारहरू  :

०००

ताइवानमा सेना तैनाथ नगर्न अमेरिकालाई चीनको चेतावनी 

ताइवान  : चीनले ताइवानमा अमेरिकी सेना तैनाथ गरेको समाचारबारे स्पष्टीकरण मागेको छ। सेना तैनाथीको स्पष्टीकरण माग्दै ताइवानमा तैनाथ गरिएको आफ्नो सेना तत्काल हटाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ। 

स्वशासित ताइवानको टापुमा अमेरिकाले आफ्ना सेना एक वर्षसम्मको लागि तैनाथ गरेको समाचारको स्पष्टीकरण माग गर्दै चीनले अमेरिकालाई चेतावनी दिएको वासिङटन पोष्टमा समाचार छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले ताइवानमा आफ्नो बल तैनाथ गर्नुअघि अमेरिकाले ‘उच्च संवेदनशीलता’ अपनाउनुपर्ने बताएका छन्। ‘ताइवान उच्च संवेदनशील क्षेत्र हो भन्ने विषय अमेरिकाले पहिचान गर्नुपर्छ र ताइवानसँग सैन्य सम्बन्ध अघि बढाउन रोक्नुपर्छ’, अमेरिकालाई चेतावनी दिँदै वासिङटन पोष्टसँग उनले भनेका छन्, ‘यदि अमेरिकाले टेरेन भने चीनले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न आवश्यक पर्ने सबै कदम उठाउनेछ।’

करिब २ करोड ४० लाख जनसंख्या भएको ताइवानलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफू स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ।

बिहीबार विशेष अपरेसन टोलीसहित दर्जनौ अमेरिकी सैनिक एक वर्षको लागि ताइवानमा तैनाथ गरिएको समाचार केही दिनअघि वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो। 
०००

मस्जिद हमलापछि अमेरिकाले तालिबानलाई भन्यो– ‘प्रत्यक्ष भेटौँ’
वासिङटन  : अमेरिका र तालिबानले पहिलोपटक यसै हप्ता प्रत्यक्ष भेट्ने योजना बनाएका छन्। शुक्रबार राति काबुलस्थित मस्जिदमा भएको आत्मघाती हमलापछि अमेरिकी प्रतिनिधि र वरिष्ठ तालिबान नेताले प्रत्यक्ष भेट्ने योजना बनाएका हुन्। 

अफगानिस्तानबाट सेना र अन्य नागरिक निकासीपछि देशभित्र रहेको उग्रवादी समूहबारे छलफल गर्न यसै हप्ता भेट्ने योजना बनाएको दुवै पक्षका आधिकारीले जानकारी दिएका छन्। 

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी सेनाको उपस्थिति समाप्तीपछिको पहिलो भेट शान्ति सम्झौताको लागि हुने शनिबार तालिबान प्रवक्ता सुहेल शहिनले बताएका छन्। ‘सन् २०२० मा अमेरिकासँग तालिबानले गरेको शान्ति सम्झौताबारे समेत पुन : छलफल गर्न हामीले भेट्ने योजना बनाएका छौँ’, प्रवक्ता शहिनले भनेका छन्। 

करिब दुई महिनाअघि अमेरिकाले अफगानिस्तानबाट २० वर्ष लामो सैन्य उपस्थिति अन्त्य र अन्य नागरिक निकासीपछि दुई पक्षबिच यसै हप्ता हुन लागेको प्रत्यक्ष भेट पहिलो पटक हुनेछ। 

तालिबानसँगको शान्ति सम्झौतासँगै अफगानिस्तानमा रहेको उग्र आतंकवादीबारे समेत छलफल गरिने अमेरिकी पक्षले जनाएको छ। ‘तालिबानले नयाँ सत्ता गठन गरेपछि अफगानिस्तानमा इस्लामिक स्टेट समूहले उग्र रुप लिइरहेको छ। सो समूहले अल्पसंख्यक, जातीय र सैन्य समूहलाई लक्षित गरी आक्रमण गरिरहेको छ। यसबारेसमेत गम्भीर छलफल गर्नुपर्नेछ’, अमेरिकी पक्षले भनेको छ।

शुक्रबार राति आइएसआइएसले गरेको आत्मघाती बम हमलामा कम्तिमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए। आइएसआइएस समूहको मुहम्मद अल उइगुरी समूहले सो हमलाको जिम्मा लिएको थियो।
०००

भारत र चीनले आइतबार १३औँ पटक सैन्य वार्ता गर्ने 
नयाँ दिल्ली  : चीन र भारतले आइतबार १३औं पटक उच्च स्तरीय सैन्य वार्ता गर्ने भएका छन्। विवादित सीमा सम्बन्धमा छलफल गर्न दुवै पक्षले  १३औं पटक सैन्य वार्ता गर्ने भएका हुन्। 

सो वार्ता आइतबार बिहान १०  : ३० बजे (स्थानीय समय) बस्ने स्रोतले जनाएको छ। 

पछिल्लो समय चीन सरकारले चिनियाँ सीमामा सैन्य उपस्थिति बढाएको र त्यसको असर भारतमा परेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। 

चीन र भारतबिच पछिल्लो पटक सन् २०२० मा कुटनैतिक छलफल भएको थियो। दुई पक्षबिचको सो छलफल सीमा क्षेत्र गलवानको झडपपछि भएको थियो।
०००

ईरानका पहिलो राष्ट्रपतिको निधन 
तेहरान  : इस्लामिक क्रान्तिपछि बनेका ईरानका पहिलो राष्ट्रपतिको निधन भएको छ। राष्ट्रपति अबोल हसन बनिसदरको शनिबार ८८ वर्षको उमेरमा निधन भएको हो।

फोक्सोका बिरामी रहेका उनको उपचारको क्रममा पेरिसमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बनिसदर ईरानमा राजतन्त्रविरुद्ध भएको सन् १९७९ को इरानियन रिभोलुसन भनेर समेत चिनिने इस्लामिक क्रान्तिपछिका पहिलो राष्ट्रपति हुन्। 

सन् १९३३ मा इरानको हमादानमा जन्मिएका उनी सन् १९८१ मा पहिलो पटक इरानको राष्ट्रपतीय पदमा नियुक्त भएका थिए। 
०००

स्पेनको ज्वालामुखी अझै रोकिएन 
ला पाल्मा  : स्पेनको ला पाल्मा टापुमा गत महिना विस्फोट भएको ज्वालामुखीको लाभा अझै रोकिएको छैन। करिब १ महिनाअघि विस्फोट भएको ज्वालामुखीको लाभा नरोकिएको रोयटर्सले जनाएको छ। 

रोयटर्सका अनुसार सेप्टेम्बर १९ मा विस्फोट भएको ज्वालामुखीबाट निस्केको लाभा अझै रोकिएको छैन। लाभा नरोकिदा शनिबार बिहानसम्म कलेन्जोन दे ला गाता गाउँसम्म फैलिएको छ। 

लाभाले नदीजस्तो रुप लिएर चारैतिर फैलिएको र लाभापछि आइतबार मात्र ३७ वटा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जनाएका छन्। 

कुम्बेरा भियजन नामक सो ज्वालामुखी सेप्टेम्बर १९ मा विस्फोट भएको थियो। जसका कारण हालसम्म ८ सयभन्दा बढी भवनहरु न्ष्ट भएका छन् भने प्रभावित क्षेत्रबाट ६ हजारभन्दा बढीको उद्धार गरिएको छ। 
०००

कंगोमा डुङ्गा पल्टिदा ५० को मृत्यु ७० भन्दा बढी बेपत्ता 
मोंगाला  : डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा डुङ्गा पल्टिदा ५० को मृत्यु भएको छ भने ७० भन्दा बढी बेपत्ता भएका छन्। उत्तर पश्चिमी प्रान्त मोंगालामा अवस्थित कंगो नदीमा सो दुर्घटना भएको हो। 

दुर्घटना बिहिबार रातीदेखि शुक्रबारको बिचमा भएको बताइएको छ। 

मोंगाला गर्भनरका प्रवक्ता नेस्टर म्यागवाडोका अनुसार हालसम्म ५१ वटा शव फेला पारिएको छ भने ७० भन्दा बढी मानिस बेपत्ता छन्। सो दुर्घटनामा परी ३९ मानिसको सुरक्षित उद्धार गरिएको छ। 

डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार हुँदा सो दुर्घटना भएको बताइएको छ। 

यसअघि फेब्रुअरी महिनामा कंगोमा डुङ्गा पल्टिदा ६० को मृत्यु भएको थियो।  
०००

८१ हजार रोहिङ्ग्यालाई टापुमा पठाउने बंगलादेशको योजना
ढाका  : बंगलादेशले करिब ८१ हजार शरणार्थी रोहिङ्ग्या समूहलाई टापु क्षेत्रमा पठाउने योजना बनाएको छ। संयुक्त राष्ट्रसंघसँग सम्झौता पक्का भएपछि बंगलादेशले सो संख्यामा रोहिङ्ग्या शरणार्थीलाई दुर्गम बे बंगालको टापुमा पठाउने योजना बनाएको हो। 

बंगलादेश शरणार्थी आयोगका शाह रिज्वान हायातले बताएअनुसार १० हजारभन्दा बढी रोहिङ्ग्या समूहले बंगलादेशको शरणार्थी सिविर छोडेर अन्यत्रै सरेका छन्। म्यानमारबाट आएका करिब १९ हजार मुस्लिम शरणार्थी बंगलादेशको भीडभाड शिविर छोडिसकेका छन्। 

‘हामीले करिब ८१ हजारदेखि १ लाख शरणार्थीलाई बे बंगालस्थित भाशन चार शिविरमा सार्ने योजना बनाएका छौँ। यसबारे संयुक्त राष्ट्रसंघसँगको सम्झौता पुरा भएमा हामीले फेब्रुअरीको अन्त्यसम्ममा आफ्नो योजना पुरा गर्ने लक्ष्य राखेका छौँ’, कमिसनर रिज्वानले भनेका छन्। 
०००

अफगानिस्तान बारे छलफलको लागि अमेरिकी अधिकारी पाकिस्तानमा 
इस्लामावाद  : अफगानिस्तानबारे छलफलको लागि अमेरिकी अधिकारी पाकिस्तान पुगेकी छन्। अफगानिस्तान मुद्धाबारे छलफल गर्न अमेरिकाका राज्य उप सचिव वेन्डि शेरम्यान पाकिस्तानको इस्लामावाद पुगेकी हुन्। 

वेन्डिले पाकिस्तानी विदेश मन्त्री शाह मेहमुद कुरेसीसँग भेटवार्ता गरेको बताइएको छ। पाकिस्तानी नेतृत्वसँग भएको सो भेटमा उनले तालिबान आफ्नो प्रतिबद्धतामा जवाफदेही हुनुपर्ने विषय औल्याएकी छन्। 

उनले तालिबान आफ्नो प्रतिबद्धतामा जिम्मेवार रहन पाकिस्तानले साथ दिनुपर्ने बताउँदै प्रतिबद्धता सबैको लागि हितकारी हुने बताएकी छन्। 

सो भेटले अफगानिस्तानको अवस्थामा परिवर्तन हुने र दुवै मुलुक अफगानिस्तानमा केन्द्रित हुने विश्वास राखिएको डन न्यूजमा समाचार छ। 

संयोजन  : अस्मिता खड्का 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.