यो मन त मेरो नेपाली हो
पोखरा : एलेक्स नौ वर्ष अघि नेपाल आएका हुन्। बेलायतबाट घुमफिर गर्दै आइपुगेका उनलाई नेपाल यति मन पर्यो कि यतै बस्न थाले। यहाँका संस्कृति मन पर्यो, मान्छे पनि मन पर्यो, उनलाई। अझ पोखराको मोहनीमा त उनी भुतुक्कै भए। गीतसंगीत उनको रुचिको विषय हो। संगीतका लागि यहाँका वातावरण प्रेरक ठानेका एलेक्स आफूलाई नेपाली भन्न रुचाउँछन्। ‘मेरो नाम एलेक्सबहादुर नेपाली हो’, उनी भन्छन्।
गितार बजाउनु, धुन भर्नु र गुन्गुनाउनु एलेक्सको दिनचर्या नै हो। उनले नेपाली गीत पनि रचेका छन् साथै गाएका पनि छन्। अब उनको धोको छ, एल्बम निकाल्ने। एल्बमको अन्तिम तयारी गरिरहँदा एलेक्सले गायन रियालिटी सो ‘नेपाल आइडल’को अडिसन सुरु भएको थाहा पाए। त्यसपछि गत बिहीबार पोखरा लेकसाइडको हेरिटेज होटलमा अडिसनका लागि गितार बोकेर त्यहाँ पुगे। दौरासुरुवाल र ढाकाटोपीमा सजिएका उनी पालो पर्खिरहँदा अन्नपूर्ण पोस्ट्सँग भेट भयो। नेपाल आइडलको प्रतियोगीका रुपमा अगाडि बढ्नेभन्दा पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नु उनको उद्देश्य हो। ‘जर्जहरूले के भन्नुहुन्छ खै ?’, उनले अंग्रेजी लवजमै भने।
‘नेपाल आइडल सिजन–४’ का लागि गत बिहीबार पोखरामा अडिसन थियो। त्यहाँ एलेक्सभन्दा अगाडिको पालोमा थिइन्, वर्षा श्रेष्ठ। जो भारतदेखि यही अडिसनका लागि आइपुगेकी हुन्। उनको घर त नवलपरासी हो। तर, भारतको पटनामा बसेर पढ्छिन्। आफ्नै गुरुको साथ लागेर उनी पोखरा आइपुगेकी हुन्।
वर्षालाई सानैदेखि गीतसंगीतमा रुचि छ। आमाले उनको रुचिमा हौसला थपिन्। संगीत नै पढ्ने धोको पूरा गर्न पटनाको क्याम्पसमा भर्ना गरिदिइन्। जहाँ अहिले उनी स्नातक तह पहिलो वर्षमा अध्ययन गर्दैछिन्। संगीत नै उनको मुख्य विषय हो। शास्त्रीय संगीतको अध्ययन गरिरहेकी उनी सुगम संगीतमा रुचि राख्छिन्। नेपाल आइडलको अडिसनमा कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु, मेरै बाटो, खुट्टा तान्दै गर...’ गाउने उनले बताइन्।
हेटौंडाकी शान्ति प्रसाईं अडिसनको पालो कुर्नेहरूकै माझमा थिइन्। आफै भने गाउन आएकी रहेनछिन्। उनले साथमा ल्याएकी थिइन्, छोरी। छोरीको गायन धोको पूरा गर्न हेटौंडादेखि पोखरा आएको उनले बताइन्। नेपाल आइडलको अडिसन यसअघि नेपालगन्जमा भएको थियो। अब काठमाडौंमा खुला अडिसन हुने नेपाल आइडल प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए। एपीवान टेलिभिजनकै कार्यक्रम हो, नेपाल आइडल।
नेपाल आइडल अडिसनका लागि टेलिभिजनले डिजिटल माध्यमबाट फर्म खुला गरेको थियो। पाँच हजार जनाले फर्म भरेको जानकारी पौडेलले दिए। देशका प्रमुख सहरहरूका अडिसनबाट ७०/८० जनाका दरले छनोट गर्ने योजना छ। पौडेलले मंसिरमा नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुने जानकारी पनि दिए। नेपाल आइडल सिजन–४ को निर्णायमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान छन्।