तालिबानले आईएसविरुद्ध लड्न अमेरिकासँग सहकार्य नगर्ने, चीनसामु ताइवान 'नझुक्ने'

तालिबानले आईएसविरुद्ध लड्न अमेरिकासँग सहकार्य नगर्ने, चीनसामु ताइवान 'नझुक्ने'

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकी र तालिबानी अधिकारीले पहिलोपटक भेटवार्ता गरेका छन्। यो खबरले आइतबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखता पायो। त्यस्तै इराकमा पहिलोपटक सर्वसाधारण जनताले चुनावमा मतदान गरेको, रुसमा विमान दुर्घटनामा परी १५ जनाको मृत्यु भएको लगायतका खबर चर्चामा रहे। प्रस्तुत छ, विश्वका केही प्रमुख खबरहरू :

०००

तालिबानले आईएसविरुद्ध लड्न अमेरिकासँग सहकार्य नगर्ने

दोहा : तालिबानले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट (आईएस) समूहविरुद्धको लडाइमा अमेरिकासँग सहकार्य नगर्ने बताएको छ। तालिबानले अफगानिस्तान कब्जामा लिएपछिको अमेरिका र तालिबानबीचको पहिलो भेटमा आइएसविरुद्ध लड्न आफूले अमेरिकी सरकारसँग सहकार्य नगर्ने बताएको हो। 

अमेरिकाको अफगानिस्तान निकासीपछि अमेरिकी सरकारका प्रतिनिधि टम वेस्ट नेतृत्वको टोली र तालिबानका शीर्ष नेताबीच कतारको राजधानी दोहामा शनिबार राति पहिलो पटक प्रत्यक्ष भेट भएको थियो। सो भेटमा आइएसविरुद्ध लड्न सहकार्य नगर्ने बताउँदै तालिबानले आफ्नो सरकार कमजोर बनाउने खेल नखेल्न चेतावनी दिएको तालिबानका विदेश मन्त्री अमिर खान मुताकीले बताएका छन्। 

‘नयाँ अफगानिस्तान सरकार कमजोर एवम् अस्थिर नबनाउन र आइएसविरुद्ध लड्न सहकार्य नगर्नेबारे हामीले अमेरिकालाई स्पष्ट रुपमा भनिसकेका छौँ’, मुताकीले आइतबार समाचार एजेन्सी बख्तरसँग भनेका छन्, ‘अफगानिस्तानसँग राम्रो सम्बन्ध बनायो भने सबैको हित हुन्छ। हैन भने परिणाम नराम्रो हुन्छ।’ यद्यपि, अमेरिकाले अफगानिस्तानी नागरिकको लागि कोभिड १९ खोप उपलब्ध गराउनमा सहयोग गर्ने उनले बताएका छन्। 

अफगानिस्तानमा २० वर्षे अमेरिकी मिसन समाप्तीपछि तालिबान विरोधी आइएसले आतंकवादी गतिविधि बढाइरहेको बताइन्छ। आइएसविरुद्ध लड्न अमेरिकाले तालिबान सरकारलाई सहयोग गर्ने बताउँदै आएको थियो। 

तालिबानले आइतबार आइएस समूहका ८ सदस्यलाई पक्राउ गरेको बताएको छ।
०००

हामी चीनसामु झुक्ने छैनौँ : ताइवान 
ताइपेई : ताइवानकी राष्ट्रपति साई इङ वेनले ताइवान सरकार चीन सामु नझुक्ने बताएकी छन्। चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग जसरी पनि ‘शान्तिपूर्ण पुनर्मिलन’ गर्ने भनेको भोलिपल्ट वेनले ताइवान चीनसामु नझुक्ने बताएकी हुन्। 

आइतबार ताइवानको राष्ट्रिय दिवसको अवसरमा बोल्दै राष्ट्रपति वेनले चीनको दबाबमा आफूहरु बेइजिङसामु नझुक्ने र आफ्नो प्रजातान्त्रिक जीवनलाई निरन्तरता दिने बताएकी छन्। ‘ताइवान सरकारले हतारमा कुनै कदम चाल्ने छैन’, उनले भनेकी छन्, ‘तर चीनको दबाबमा ताइवानका जनता चीनसामु झुक्ने छन् भन्ने भ्रममा नपर्दा हुन्छ। हाम्रो प्रगति देखेर चीनले हामीमाथि दबाब दिँदै जानेछ। हामी हाम्रो देशको रक्षा गर्न पछि हट्ने छैनौँ। चीनले न हामीलाई स्वतन्त्र हुन दिन्छ न त हाम्रा सबै जनताको स्वायत्तताको सम्मान गर्छ।’

चीनले अक्टोबर पहिलो हप्तामा मात्र करिब १४९ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाएको थियो। चीनको सो गतिविधिले ताइवान मात्र नभई सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत झस्काएको थियो। 

शनिबार चिनियाँ राष्ट्रपति सीले ताइवानसँग जसरी पनि शान्तिपूर्ण पुनर्मिलन गर्ने बताएका थिए। 
०००

विदाइ भ्रमणमा रहेकी एन्जेला मर्केलले भनिन्, ‘इजरायलको सुरक्षा प्राथमिकतामा’
जेरुसेलम : आफ्नो विदाइ भ्रमणमा रहेकी जर्मनकी चान्स्लर एन्जेला मर्केलले इजरायली सुरक्षा प्राथमिकतामा रहने बताएकी छन्। विदाइ भ्रमणको अवसरमा आइतबार इजरायलको यहुदी राज्य पुगेकी मर्केलले इजरायली सुरक्षा जर्मन सरकारको प्राथमिकतामा रहने बताएकी हुन्। 

‘जर्मन र इजरायलबीच सम्बन्ध पुनर्सञ्चालन गर्न सम्भव छ’, मर्केलले भनेकी छन्, ‘इजरायलको सुरक्षाको विषय सधैँ प्राथमिकता रहनेछ। हरेक जर्मन सरकारले यस विषयलाई महत्वका साथ लिनेछ।’

करिब १६ वर्षसम्म जर्मनको सत्ता सम्हालेकी एन्जेला आफ्नो विदाइ भ्रमणको क्रममा इजरायल पुगेकी छन्। राजनीतिबाट अवकास लिनुअघि इजरायल पुगेकी मर्केलले चान्स्लरको रुपमा गरेको सो भ्रमणलाई आफ्नो आठौं र अन्तिम भ्रमण भनेकी छन्।

भ्रमणको क्रममा उनले इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटसँग भेटवार्ता गरेकी छन्। यद्यपि उनले इजरायलका विपक्षी नेतासँग भेट्ने कुनै योजना नबनाएको अरब न्यूजमा समाचार छ। 
०००

इराकका जनताले पहिलो पटक भोट खसाले
बग्दाद : इराकका जनताले आइतबार पहिलो पटक संसदीय चुनावमा भोट खसालेका छन्। भ्रष्टाचार र बेरोजगारीविरुद्ध सन् २०१९ को विशाल आन्दोलनपछि इराकका जनताले सो चुनावमा भोट खसालेका हुन्। 

इराकको निर्वाचन आयोगका अनुसार जारी चुनावमा करिब १६७ पार्टीबाट ३ हजार २ सय उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्। 

अधिकांश मतदाताहरुले सन् २००३ मा अमेरिकी नेतृत्वको लोकतान्त्रिक प्रणालीले आफूहरुको विश्वास गुमाएको भन्दै आफूहरुले त्यसको बहिष्कार गर्ने बताएका छन्। इस्लामिक बाहुल्यता रहेको इराकका जनताले नयाँ प्रणालीको लागि भोट खसालिरहेका हुन्। 

करिब दुई वर्षअघि सरकारविरुद्धको विशाल आन्दोलनपछि इराकको नयाँ कानुनअनुसार चुनाव गरिएको हो।
०००

रुसमा विमान दुर्घटना, १५ को मृत्यु 
मस्को : रुसको टेटारस्तान क्षेत्रमा विमान दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको सो सानो विमान दुर्घटनामा १५ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। 

प्यारासुट जम्पर बोकेको सो विमान स्थानीय फ्लाइङ कम्पनीको रहेको बताइएको छ। 

समाचार एजेन्सी आरआइएका अनुसार राजधानी मस्कोदेखि करिब १ हजार किलोमिटरको दूरीमा रहेको टेटारस्तानमा विमान दुर्घटना भएको थियो। विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो। दुर्घटनामा कम्तिमा १५ को मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्। 

घाइते सबैलाई उपचारका लागि पठाइएको बताइएको छ। 
०००

कस्मिरमा हिंसा भड्काएको आरोपमा ५ सय बढी पक्राउ
श्रीनगर : भारत सरकारको नियन्त्रणमा रहेको कस्मिरमा पछिल्लो समय हिंसा भड्काएको आरोपमा सरकारी फौजले ५ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। केही दिनअघि लक्षित समूहमाथि आतंकवादी हमला गरेको र लक्षित व्यक्तिलाई मारेको आरोपमा आइतबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखिएको अधिकारीले बताएका छन्। नियन्त्रणमा लिइएकामध्ये अधिकांश श्रीनगर सहरका बासिन्दा रहेको कस्मिर प्रहरीले जनाएको छ। 

यसै हप्ता कस्मिरको श्रीनगरमा भएको हिंसाको क्रममा ३ हिन्दू र एक शिखको हत्या गरिएको थियो। नागरिक समर्थक र भारत कस्मिरविरुद्ध भड्किएको सो हिंसाले उग्र रुप लिएको थियो। 
०००

चीनमा बाढीपछि १ लाख २० हजारको उद्धार 
बेइजिङ : चीनको सान्जी प्रान्तमा भीषण बाढीपछि कम्तिमा १ लाख २० हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। केही दिनअघिदेखि आएको निरन्तर बाढीपछि सो संख्यामा नागरिकको उद्धार गरिएको हो। 

प्रान्तीय सरकारले आइतबार जारी गरेको सूचनाअनुसार बाढीपछि करिब १० लाख ७६ स्थानीय प्रभावित बनेका छन् भने हालसम्म १ लाख २० हजारको उद्धार गरिएको छ। बाढीले १७ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। त्यस्तै १ लाख ९० हजार हेक्टर क्षेत्रफलको बाली नष्ट गरेको छ। 
०००

पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुलको निधन
इस्लामावाद : पाकिस्तानका परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन मुख्य भूमिका खेलेका उनको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो। 

फोक्सोका बिरामी उनको इस्लामाबादस्थित अस्पतालमा मृत्यु भएको रेडियो पाकिस्तानले जनाएको छ। 

डा. खानले पाकिस्तानलाई परमाणु राष्ट्र बनाउन विभिन्न कार्यक्रम चलाएका थिए। खानको नेतृत्वमा पाकिस्तानले सन् १९८२ मा परमाणु हतियार परीक्षण गरेको थियो। खान पाकिस्तानको परमाणु कार्यक्रमको पिता भनेर पनि चिनिन्छन्।
०००

उत्तर कोरियाले चार वर्षमा ४० हजार घर निर्माण गर्ने
सियोल : उत्तर कोरियाले राजधानी प्योङयाङ सहर नजिकै ठूलो क्षेत्रमा नयाँ अपार्टमेन्ट भवन निर्माण गर्ने योजना बनाएको छ। राजधानी नजिकै माङ्योन्डेस्थित करिब १० हजार स्क्वायर मिटर क्षेत्रफलमा ४ वर्षमा ४० हजार घर निर्माण गर्ने गरी सो योजना बनाएको हो।  

स्थानीय मिडिया योनहापमा आइतबार प्रकाशित समाचारअनुसार उत्तर कोरिया सरकारले सो क्षेत्रमा यस वर्षभित्र १० हजार घर निर्माण गर्ने र सन् २०२५ सम्ममा ४० हजार घर निर्माण गर्ने लक्ष्य बनाएको छ। सो लक्ष्य पुरा गर्न सरकारले निर्माण क्षेत्र खालि गराएको छ। 

स्थानीय अखबार रोडुङ सिनमुनका अनुसार उत्तर कोरियाले गत जनवरीमा पूर्वी प्योङयाङ इलाकामा ५० हजार अपार्टमेन्ट निर्माण गर्ने घोषणा गरेको थियो। सन् २०२५ सम्ममा सो संख्यामा अपार्टमेन्ट निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। 

माङ्योन्डे नेता किम जोङ उनका दिवंगत हजुरबुवा किम इल सुङको जन्मथलो भएको उत्तर कोरियाको दाबी छ। 

कोरोना महामारी र अन्तर्राष्ट्रिय सीमामा लगाएको प्रतिबन्धका कारण आर्थिक संकट झेलिरहेको उत्तर कोरियाले सो संख्यामा घर तथा अपार्टमेन्ट बनाउने महत्वकांक्षी लक्ष्य राखेको हो।

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.