ऊर्जाको अर्को रूप नवरात्र

ऊर्जाको अर्को रूप नवरात्र

यस वर्ष विजया दशमी असोज महिनाको अन्तिममा सकिनेगरी सुरु भएको छ। असोज २१ गते घटस्थापना अर्थात् विधिपूर्वक राखिएको जमरा २९ गते दही, अक्षता र अबिरको रातो टीकासँगै लगाइन्छ। यस वर्ष षष्टी तिथि घटेकाले घटस्थापनाको नवौं दिनमा विजया दशमी मनाउँछौं। ऋतु र मौसमको हिसाबले अत्यन्त उचित समयमा यसवर्षको दसैं परेको छ।

विशेषगरी नेपालीहरूको महान् चाडका रूपमा मनाइने यो बडा दसैं मानव जीवनलाई प्रकृतिसँग एकाकार गर्न सिकाउने पर्व हो। दसैं सुरु हुनु अगाडि सोह्र श्राद्ध अर्थात् पितृपक्ष पर्छ। यो १६ दिने पितृपक्षमा हामी हाम्रा ज्ञात अज्ञात पुर्खालाई सम्झन्छौं र नयाँ पुस्ताका लागि आशीर्वाद दिएर ठाउँ खाली गरिदिन प्रार्थना गर्छौँ। पितृपक्षको १६ दिन हामीले खाने खाना, लगाउने पोसाक र प्रयोग गर्ने रंग शान्त प्रकृतिको हुन्छ। शान्तभावले हामी हाम्रा पिता, पुर्खालाई पितृको रूपमा सम्झन्छौं र शुक्लपक्ष अर्थात् पूर्णिमाको उज्यालोमा पितृलाई सन्तुष्ट बनाएर बिदा गर्छौं।

घटस्थापनापछि प्रोटिनयुक्त पोषिलो खाना, रंगीबिरंगी पोसाक रातो रंगको प्रयोग आदिले हाम्रो दिनचर्या पनि फरक हुन्छ।

त्यसपछि कृष्णपक्ष अर्थात् औंसीको अँध्यारोमा ९ दिन शक्ति साधनाबाट नयाँ सृष्टि एवं उमंगको बीजारोपण गर्छौँ। दसौं दिनमा हर्षोल्लासपूर्वक विजयोत्सव मनाउँछौं। यो सृष्टि सञ्चालन नियमको प्रतीकका रूपमा जमरालाई लिइन्छ। जमरा अँध्यारोमै राखिन्छ। सप्तसती चण्डीपाठसँगै विधिपूर्वक पूजा गरिन्छ। नौ दिनमा पहेँलो रंगको जमरा भर्खर जन्मेको स्वस्थ बच्चाजस्तै मनमोहक देखिन्छ। त्यही जमरा लगाएर खुसी र उमंगका साथ आयु, आरोग्य एवं सुख, समृद्धिको कामना गर्दैएकअर्कामा शुभकामना आदानप्रदान गर्छौं। घटस्थापनापछि प्रोटिनयुक्त पोषिलो खाना, रंगीबिरंगी पोसाक रातो रंगको प्रयोग आदिले हाम्रो दिनचर्या पनि फरक हुन्छ। सृष्टिका लागि गरिने यो शक्ति साधना छिमेकी मुलुक भारत र बंगलादेशमा दुर्गा पूजाको नामले प्रख्यात छ। हामी यसलाई नवरात्री भन्छौं। नवरात्रीमा क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, शारदादेवी, हंशवाहिनी, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौंरी र सिद्धिधातृनामका नौवटा देवीको पूजा हुन्छ। यी नौ दिन देवीको साथमा केही समय बिताउने जो कोहीलाई पनि राम्रो हुन्छ। यी दिनहरू ईश्वरको स्त्री प्रकृतिमा समर्पित छ। नवरात्रीको पहिलो तीन दिन दुर्गा, लक्ष्मी र सरस्वतीको स्त्री प्रकृतिको तीन आयामिकरूप मानिन्छ।

अस्तित्वको तीन मूलभूत गुणः तमस्, रजस एवं सत्त्वका प्रतीक पनि मानिन्छ।

तमस् भन्नाले निष्क्रियता– धर्ती। रजस् भन्नाले सक्रियता, सूर्य र सत्त्व भन्नाले एकातर्फ सिमाना तोड्नु, विलिन हुनु, एवं एक हुनु हो। यी तीन खगोलीय वस्तु जसमा हाम्रो शरीरको रचना अत्यन्त गहिरोसँग जोडिएको छ। जसले शक्ति, अमरता एवं तागतको इच्छा गर्दछ, उसले स्त्री प्रकृतिस्वरूप कालीमाता एवं धर्तीमाताको पूजा गर्दछ।

जसले धन, दौलत, सुखी जीवन एवं भौतिक दुनियाँको अनेकौं उपहारको आकांक्षा राख्छ, उसले स्त्री प्रकृतिस्वरूप लक्ष्मी एवं सूर्यको पूजा गर्छ। जसले शरीरको अमरता प्राप्तिका लागि नभई ज्ञानमार्गद्वारा नश्वर शरीरको सीमाबाट पर जाने इच्छा राख्छ, उसले स्त्री प्रकृतिस्वरूप सरस्वती एवं चन्द्रमाको पूजा गर्छ। यी तीनै देवी नवरात्रको पहिलो तीन दिन एक एक गरी आउँछिन् भन्ने शास्त्रीय मान्यता छ। किनकि आखिर हामी धर्तीबाट नै निस्कन्छौं र एक सक्रिय जीवन जिउने प्रयास गर्छौ। धर्तीबाट निस्कनुलाई तमस् र जिउनु अथवा बाँच्ने प्रयास गर्नुलाई रजस् भनिन्छ। तेस्रो हाम्रो जीवनको बाटोमा आउन पनि सक्छ, नआउन पनि सक्छ। उसलाई आफ्नो हृदयमा ल्याउन प्रयास गर्नुपर्छ।

तमस्ः पृथ्वी प्रकृति हुन्। नवरात्रीको पहिलो दिन तमस् अर्थात् पृथ्वीले जन्म दिन्छिन्। गर्भ अवस्था हामी आमाको कोखमा बिताउँछौँ। त्यो समय तमस् हो। गर्भावस्था लगभग शीत निद्रा जस्तै हो। अर्थात् विकास भइरहेको हुन्छ। तमस् पृथ्वीको र हाम्रो जन्मको प्रकृति हो। जसरी हामी आमाको कोखबाट बाहिर आउँछौं र सक्रिय हुन थाल्छौं। त्यहीबाट रजस् सुरु हुन्छ। यदी हामी प्रयाप्त मात्रामा सचेत वा भाग्यशाली छौं भने बाल्यकालमै हामीलाई सत्व गुणले छुन्छ। नत्र रजस्को गुण यस्तो छ कि जवसम्म सबै राम्रो हुन्छ, जीवन आरामले चल्छ। जव अलिकति नराम्रो दिन सुरु हुन्छ, रजस् पूरै नराम्रो भएर जीवनभर चल्छ। 

त्यसैले नवरात्रको यी नौ दिनमा जीवनका हरेक पल उत्सवको रूपमा मनाउनु सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ। हामी धर्तीमा छौं। यसैपनि हामी प्रकृतिको एक हिस्सा हौं। कुनै पनि विपत्मा विचलित नहुनलाई धर्तीसँग एकाकार भएर बाँच्न सिक्नुपर्छ। त्यसैले धर्तीलाई माता ( आमा ) भनिन्छ। जीवनका हरेक पलहरू बुझ्ने नजिकको विश्वासपात्र आमा हुन्। आमा अन्यायको विरुद्ध लड्छिन्। सन्तानका लागि मर्छिन्।

धर्तीमाताको जब इच्छा हुन्छ हामी निस्कन्छौं। जव धर्तीमाताले हामीलाई आफैंमा समाहित गर्न चाहन्छिन् तव हामी विलिन हुन्छौं। यसको मतलव जीवन पूरै जालमा फस्छ। यो पूरै हाम्रो जीवनमा भइरहेको छ। यो पूरै ब्रम्हाण्डको साथमा यही प्रक्रिया चलिरहेको छ। यो चक्रलाई तोडेर पर जाने क्षमता नवरात्री साधनामा छ। हामीलाई देवीको यी तिनै स्वरूपको जरुरी छ। पहिलो दुई दुर्गा र लक्ष्मीको स्वरूप हाम्रो अस्तित्व, पोषण, सफल जीवन एवं खुसीका लागि जरुरी छ। नवरात्र यिनैबाट सुरु हुन्छ। हरेक महिना औंसीपछिको तीनदिन यस्तै हुन्छ। औंसी निष्क्रियताको अवस्था हो। जसमा जीवन निर्माणका पाँच तत्त्व आफैंभित्र एक तरहको एकीकरणबाट गुज्रिरहेको हुन्छ। औंसीपछिको पहिलो दिन हल्का निष्क्रिय हुन्छ र फेरि सक्रिय हुन्छ। त्यसपछि पर जान लायक अवस्था आउँछ। चन्द्रमा प्रकट हुन्छ। वर्षभरि आउने १२ वटा औंसीमध्ये असोजको औंसी अधिक शक्तिशाली हुन्छ।

गृहस्थीका लागि यो समयको साधना अत्यन्त महत्त्वपूर्ण मानिन्छ। जसमा अलिकति ज्ञान, समय र श्रद्धा छ,। उहाँहरूले यो नौ दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिएर साधना गरी थोरै समय भएपनि देवीका साथ बिताउनुभयो भने साधक स्वयंलाई आयु, आरोग्य, एवं सुख र शान्ति प्राप्तिको अनुभव हुन्छ। देवी साधनाले जीवन र जगत्लाई जान्ने थोरै भएपनि ज्ञान प्राप्त हुन्छ। शक्तिबिनाको सक्रियता सम्भव छैन। आफूभित्र रहेको अथाह शक्तिलाई रिचार्ज गर्ने यो सुनौलो अवसरको फाइदा लिई जीवन धन्य बनाऔं। जीवनका हरेक मोडमा तटस्थ भएर हेर्नु नै जीवनको रहस्य हो। यही शक्ति हामी सबैलाई प्राप्त होस्।

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.