प्रहरी हिरासतमा मृत्यु
टीकापुर : कैलालीको सुदूरपूर्वी इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्र सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ३ बेतानका ३५ वर्षका धनबहादुर रानामगर मृत अवस्थामा भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार उनी हिरासतभित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । शौचालयभित्र गएका रानामगर लामो समयसम्म बाहिर नआएपछि हिरासतमा रहेका अन्य व्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासतभित्र थप पाँचजना रहेका छन् ।
डीएसपी सापकोटाका अनुसार शौचालयको ढोका फोडेर हेर्दा रानामगर आफ्नो गन्जी (भित्रीबस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीले घटनाबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । उनी आफै घटनाको अनुसन्धानमा खटेका छन् ।
प्रहरीका अनुसार मृतक रानामगर भैंसी चोरेको आरोपमा आइतबार मात्रै पक्राउ परेका थिए। उनी जानकी गाउँपालिका दुर्गालीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।