मोतिपुर घटनामा रुपन्देही प्रशासनले भन्यो, 'आत्मरक्षामा गोली चलाउनुपर्यो'
भैरहवा : रुपन्देहीको मोतिपुरमा भएको घटनामा सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउनु परेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जिम्मा स्थानीय प्रशासनको भएको र सोही क्रममा मोतिपुरमा घटना भएको बताएका छन्।
आइतबार मोतिपुरमा जग्गा कब्जा गर्न पुगेका नागरिक र प्रहरी बीच झडप हुँदा गोली लागेर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ३ जनाको सनाखत भएको र एक जना सनाखत हुन बाँकी छ। मृत्यु हुने मध्ये पश्चिम नवलपरासी अरुणखोलाका युजल कुमाल, रुपन्देही शुद्धोधन गापा ५ का विरेन्द्र कुर्मी, कपिलवस्तु वाणगंगा १० का रमेश परियारको सनाखत भएको प्रजिअ तिवारीले बताए।
त्यस्तै झडपमा ३३ जना नेपाल प्रहरी, २१ जना सशस्त्र प्रहरी र १८ जना प्रर्दशनकारी गरी कुल ७२ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेहरुको भैरहवा र बुटवलका अस्पतालमा उपचार भइरहेको प्रशासनले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी तिवारीले सुरक्षाकर्मीले संयमता अपनाउँदा समेत उत्तेजित प्रर्दशनकारीले सुरक्षाकर्मी उपर ढुंगामुढाले निरन्तर आक्रमण गर्दै पेट्रोलबम समेत प्रहार गर्न थालेपछि अन्तिम अवस्थामा आत्मरक्षाका लागि गोली चलाउनु परेको दावी गरे।
‘सुरक्षाकर्मीले गोली चलाउनु अघि संयमता अपनाउन आग्रह गरेको, लाठी चार्ज, अश्रुग्याँस प्रहार गरेको हो’, उनले भने, ‘तर, प्रर्दशनकारीले ढुंगामुढाले आक्रमण गर्दै उत्तेजित भएर पेट्रोलबम प्रहार गर्न थालेपछि अन्तिम अवस्थामा गोली चलाउनु परेको हो।’
उनले संयमता अपनाउन र अफवाहको पछि नलाग्न सर्वसाधरणलाई आग्रह गरेका छन्।
घटनाका विषयमा छलफलका लागि प्रशासनले आइतबार र सोमबार सर्वदलीय बैठक आह्वान गरेको थियो। बैठकले समस्या समाधानको लागि कार्यदल गठनको सिफारिस गर्ने निर्णय गरेको छ। मृतक परिवारलाई राहतको लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रजिअ तिवारीले बताए।
असोज २५ गते जग्गा प्राप्तिका लागि टोकन पाइने भनी नाम मात्रको बनाइएको एउटा समितिले अफवाह फैलाएपछि असोज २४ गते (घटना भएको दिन) रुपन्देहीका साथै विभिन्न जिल्लाबाट सर्वसाधरण मोतिपुर पुगेका थिए।