काबुलका ठूला होटलमा हमला हुने सक्ने अमेरिका र बेलायतको चेतावनी, पाकिस्तानमा बम विष्फोट हुँदा एक टिभी रिपोर्टरको मृत्यु

काबुलका ठूला होटलमा हमला हुने सक्ने अमेरिका र बेलायतको चेतावनी, पाकिस्तानमा बम विष्फोट हुँदा एक टिभी रिपोर्टरको मृत्यु

सोमबार चीन र भारतबीचकाे १३औं बैठक निष्कर्षविहीन भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुखताका साथ चर्चा भएको छ। त्यस्तै काबुलमा रहेका आरामदायी होटेलहरूमा ठूला हमला हुन सक्ने अमेरिका र बेलायतले बताएको कुरा पनि प्रमुख रह्यो। प्रस्तुत छ, सोमबार विश्वभर चर्चामा रहेका केही प्रमुख खबरहरू :


चीन–भारत बैठक निश्कर्षविहीन

बेइजिङ : चीन र भारतबीच सोमबार बसेको १३ औं पटकको सैन्य कमान्डरस्तरीय बैठक निश्कर्षविहीन भएको छ। विवादित सीमा सुल्झाउन बसेको १३ औं पटकको बैठक दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेपछि विना निश्कर्ष टुंगिएको हो। 

भारतीय सेनाले विवादित सीमा क्षेत्रको सम्बन्धमा कैयौँ रचनात्मक सुझाव दिएको तर चिनियाँ सेना त्यसमा सहमत नभएको भारतीय पक्षको भनाइ छ। यता आफूहरुले विवादित सीमा समस्या हल गर्न इमान्दारीताका साथ ठूलो प्रयास गरिरहे पनि भारतले ‘अनावश्यक’ र ‘अनुचित’ मागलाई जोड दिएको  चिनियाँ पक्षको भनाइ छ। सोही कारण सोमबार बसेको १३ औं पटकको बैठक निष्कर्षविहीन टुंगिएको बताइएको  छ। 

१३ औं पटकको बैठक चीन भारत सीमा क्षेत्र पूर्वी लद्दाखमा जारी गतिरोध अन्त्य गर्न र तनावग्रस्त क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्नमा केन्द्रित रहेको बताइएको छ। तर बैठकको टुंगो नलाग्दा दुई देशबीच द्वन्द्व झनै बढ्ने संकेत देखिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

यसअघि दुई देशबीचको सैन्य कमान्डरस्तरीय बैठक गत वर्ष मे महिनामा बसेको थियो।
००० 

उत्तर कोरियाले ‘जनताको जिवनस्तर सुधार्ने’ 
प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले जनताको जिवनस्तर सुधार्ने बाचा गरेका छन्। देश आर्थिक र खाद्य संकटबाट गुज्रिरहेको बेला उनले सो बाचा गरेका हुन्। 

किमले आइतबार सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाको ७६ औं स्थापना दिवसको अवसरमा पहिलो पटक सम्बोधन गर्दै जनताको जीवनस्तर सुधार्ने बाचा गरेको बताइएको छ। 

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) मा सोमबार प्रकाशित समाचारअनुसार परमाणु हतियार भएको उत्तर कोरियाले विगत एक दशकदेखि खाद्य संकटको सामना गरिरहेको छ। कोभिडपछिको लकडाउनका कारण पछिल्लो समय देशमा चरम आर्थिक संकट छाएको छ। जारी खाद्य र आर्थिक संकटका बिच नेता किमले सो बाचा गरेको केसीएनएले जनाएको छ। 

सन् २०११ मा आफ्ना पिताको मृत्युपछि उत्तर कोरियाको उत्तराधिकारी बनेका किमले सो पार्टीको स्थापना दिवसको अवसरमा पहिलो पटक सम्बोधन गरेको बताइएको छ। 

यस वर्षको सुरुवातमा उत्तर कोरियाले १० वर्षदेखि मुलुक खाद्य संकटको सामना गरिरहेको बताएको थियो। रुस र चीनबाट समेत खाद्य सामग्री आयात नहुँदा खाद्य संकटले चरम रुप लिएको बताइएको छ।
००० 

काबुलका होटलमा ठूलो हमला हुने अमेरिका र बेलायतको चेतावनी  
काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित होटलमा ठूलो हमला हुने आशंका जनाउँदै अमेरिका र बेलायतले चेतावनी दिएका छन्। काबुलको होटेलमा ठूलो हमला हुने चेतावनी दिँदै सोमबार दुवै मुलुकले आफ्ना नागरिकलाई होटेलबाट टाढा रहन आग्रह गरेका छन्। 

दुवै मुलुकले राजधानी काबुलमा रहेको सेरेना होटेलमा हमला हुने चेतावनी दिएका हुन्। सेरेना होटेल काबुलको सबैभन्दा आरामदायी होटेलको रुपमा चिनिन्छ।

सो क्षेत्रमा सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी विभागले भनेको छ, ‘सेरेना होटेलभित्र र नजिकै रहेका अमेरिकी नागरिक तत्काल त्यहाँबाट अन्यत्र सर्नुस्। त्यहाँ सुरक्षा खतरा रहेको छ। जुनसुकै समयमा हमला हुनसक्छ।’

यस्तै बेलायती विदेश विभाग कार्यालयले समेत आफ्ना नागरिकलाई तत्काल काबुल यात्रामा ननिस्कन आग्रह गरेको छ। विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘काबुलका आरामदायी होटेलमा सुरक्षा जोखिम बढेकोले सबै नागरिकहरु त्यस क्षेत्रबाट बाहिर जानुहोस्।’

सो क्षेत्रमा आइएस समूहले हमला गर्ने आशंका अमेरिका र बेलायतले गरेको छ।
०००

इराकमा अमेरिकाको सूचीमा रहेका आइएसका वरिष्ठ नेता पक्राउ
बगदाद : अमेरिकाले खतरनाक व्यक्तिको सूचीमा राखेका आइएसआइएल समूहका वरिष्ठ नेता इराकी सैन्य बलले पक्राउ गरेको सोमबार दाबी गरेको छ। आतंकवादी समूह भनिने आइएसआइएलका वरिष्ठ नेता सामी जासिमलाई इराकी बलले पक्राउ गरेको दाबी गरेको हो।  

उनलाई इराकी सैन्य बलले इराकबाहिर पक्राउ गरेको इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमीले बताएका छन्। ‘आइएसआइएसविरुद्ध इराकी बलले गरेको यो सबैभन्दा कठिन र महत्वपूर्ण अपरेसन हो’, उनले भनेका छन्।

सामीले अल कायदा र आइएसआइएसका पछिल्ला नेता अबु बकर अल बग्दादीको निर्देशनमा काम गर्ने गरेको बताइन्छ। अबु बकरलाई सन् २०१६ मा इराकमा अमेरिकी सेनाले मारेको थियो। सो समयमा उनीसँग काम गरेको आरोपमा अमेरिकाले सामीलाई पक्राउ गर्न लामो समयदेखि प्रयास गरिरहेको थियो भने उनलाई पक्राउ गर्न सफल हुनेलाई पुरस्कार दिने घोषणासमेत गरेको थियो।
००० 

इजरायलमा १५ सय वर्ष पुरानो ‘वाइन’ उत्पादन गर्ने कम्पनी भेटियो
जेरुसेलम : इजरायली पुरातत्वविद्हरुले करिब १५ सय वर्ष पुरानो वाइन उत्पादन गर्ने कम्पनी (वाइन मेकिङ कम्प्लेक्स) फेला पारेका छन्। उनीहरुले इजरायलको केन्द्रीय सहर याभ्नेमा सो कम्पनी फेला पारेका हुन्। 

पुरातत्वविद्हरुले बैजान्टियम युगको वाइन उत्पादन गर्ने कम्पनी फेला पारेको इजरायलको एन्टिक्विटीज अथोरिटीले सोमबार बताएको छ। ‘वाइन उत्पादनमा प्रयोग गरिएका सामग्री र अन्य भाडाकुडा, माटोबाट बनेका भाडाकुडा र हजारौँ अन्य सामग्रीहरु अनुसन्धानकर्ता र पुरातत्वविद्हरुले फेला पारेका छन्’, अथोरिटीले भनेको छ।   

तत्कालिन समयमा बर्सेनि २० लाख लिटरभन्दा बढी वाइन उत्पादन गर्ने क्षमता सो कम्पनीसँग रहेको बताइएको छ। पुरातत्वविद्को टोलीले सो क्षेत्रमा विगत दुई वर्षदेखि उत्खनन् थालेको बताइएको छ।
०००

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन विद्वानलाई 
स्कटहोम : अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन विद्वानलाई वितरण गरिएको छ। श्रम बजार र आप्रवासी कामदारबारे अध्ययन गर्ने तीन अध्यताहरुलाई संयुक्त रुपमा नोबेल पुरस्कार वितरण गरिएको हो। 

सो पुरस्कार पाउनेमा तीन अमेरिकी अर्थशास्त्रीहरु रहेका छन्। नोबेल पुरस्कार टिमले सो पुरस्कार क्यानडाका डेभिड कार्ड, इजरायली अमेरिकी नागरिक जोसुवा डी एग्रिस्ट र डच अमेरिकी नागरिक गुइडो डब्ल्यू इमब्रेन्सलाई दिने घोषणा गरेको छ।
००० 

पाकिस्तानमा बम विष्फोट : एक टिभी रिपोर्टरको मृत्यु
क्वेटा : पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा भएको बम विस्फोटमा परी एक स्थानीय टेलिभिजन रिपोर्टरको मृत्यु भएको छ। विष्फोटमा परी पाकिस्तानी टिभी रिपोर्टर ३५ वर्षीय शहिद जेरिको मृत्यु भएको हो। 

सोमबार प्रहरीले बताएअनुसार रिपोटिङको क्रममा यात्रामा रहेका रिपोर्टरको बलुचिस्तान प्रान्तमा भएको विष्फोटमा परी मृत्यु भएको हो। रिपोर्टर जेरिलाई लक्षित गरी सो आक्रमण गरिएको आशंका प्रहरीले गरेको छ। 

ब्लुच लिवरेसन आर्मीले विस्फोटको जिम्मा लिएपनि सो घटनाको अनुसन्धान अघि बढाइएको बताइएको छ। जेरि पाकिस्तानको क्षेत्रीय टेलिभिजन मेट्रो १ न्यूजमा कार्यरत रहेको बताइएको छ।
००० 

लेबनानको तेल कारखानामा भीषण आगलागी 
बेरुत : लेबनानको एक पेट्रोलियम पदार्थ तेल कारखानामा सोमबार भीषण आगलागी भएको छ। देशकै ठूलो जेहरानी तेल कारखानामा भीषण आगलागी भएको हो। 

लेबनानका उर्जा मन्त्री वालिद फयादका अनुसार आर्मीको इनधन ट्यांकीमा आगलागी भएको थियो। हाल सो आगलागी नियन्त्रणमा आएको छ। 

सो आगलागीले मानवीय क्षति भने नपुगेको बताइएको छ। आगलागी नियन्त्रणका लागि २५ भन्दा बढी अग्नि नियन्त्रक दमकल पठाइएको थियो। 

करिब १ दशकसम्म पुग्ने गरी भण्डारण गरिएको इन्धन आगलागीबाट नष्ट भएको अलजजिराले जनाएको छ।
००० 

अमेरिकाकी नौसेनाका परमाणु इन्जिनियरले पनडुब्बीको डिजाइन  बेच्न खोजेको आरोप 
वासिङटन : अमेरिकी नौसेनाका परमाणु इन्जिनियर जोनाथन टोयब्बे र उनकी पत्नी डायनामाथि पनडुब्बीको गोप्य डिजाइन बेच्न खोजेको आरोप लागेको छ। इन्जिनियर दम्पतीले परमाणु उर्जाबाट चल्ने अमेरिकी सैन्य पनडुब्बीको गोप्य डिजाइन बेच्न खोजेको आरोप लागेको हो। 

एफबीआई एजेन्टले ४२ वर्षीय ई. टोयब्बे दम्पती मिलेर पनडुब्बीको डिजाइन बेच्न खोजेको पत्ता लगाएको अमेरिकाको न्याय विभागले बताएको छ। 

विभागका अनुसार उनीहरुले गत वर्ष पनडुब्बीको भित्री र बाह्य डिजाइनको विवरण बेच्न सम्झौता गरेका थिए। अमेरिकी सरकारले उनीहरुमाथि अपराधिक गतिविधिमा संलग्न भएको कारबाही गर्ने छ। 

जोनाथन र डायनालाई अमेरिकी एफबीआईले शनिबार वेस्ट भर्जिनियामा पक्राउ गरेको थियो।

-संयोजन : अस्मिता खड्का 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.