महोत्तरीमा भूत मेला
जनकपुरधाम : भूत, पिचास, जादू, टुनाको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरूलाई निको पार्ने भूत मेला सुरु भएको छ। बडा दशैंमा महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको हो।
महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई शक्तिपिठमा परापूर्वकालदेखि बिजया दशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौं मानिस मेला हेर्न आउन थालेका छन्। प्रत्येक वर्ष फूलपातीदेखि बिजया दशमीसम्म चल्ने मेलामा भूतप्रेतबाट सताइएका पीडितहरू निको भएर जाने गरेको जनविश्वास रहेको मन्दिरका पुजारी कामेश्वर झाले बताए।
मन्दिरको सीमा क्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको हो भनेर लड्दै–पड्दै, रुँदै–हाँस्दै आफैं बक्न थालेर देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भएर आ–आफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताए। मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी रौतहट, सुनसरी, मोरङ, काठमाडौंदेखि सीमावर्ती भारतका सीतामढी, मधुवनी र पटनासम्मका मानिसहरू आउने गरेको पुजारी झाले जानकारी दिए।
सोनामाई शक्तिपिठमा धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४सैं घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरूको पीडा हरण गर्ने गरेको पुजारी झाले बताए।
मेलामा एकैदिन हजारौं बोकाको बलि चढाइने गरिन्छ। सोनामाई मन्दिरमा तीन सय ६५ दिन नै बोकाको बलि दिइन्छ। सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीका किरणदेवी महतोले आफ्नो दुःखनिवारण भएपछि भाकल गरेको बोका बलि बढाउन आएको बताइन् । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत नलाग्ने विश्वास जनमानसमा छ।