दसैं सम्झाउने एउटा गीत

दसैं सम्झाउने एउटा गीत

कति गीतसंगीत यस्ता पनि हुन्छन्, जुन बज्दा, घन्किँदा वा गुञ्जिँदा चाडबाडआएजस्तो लाग्छ। त्यस्ता गीतसंगीतले कुनै विशेष प्रकारको संकेत दिन्छ। विशेष दिन, पर्व र चाडबाडको छनक दिन्छ। त्यस्तै गीतहरूमध्ये एउटा गीत हो चलचित्र मुग्लानको।

कोदो फूल्यो बारीमा लरी लै
धानको बाला झुल्यो खेतैमा

कति राम्री देखिन्छ्यौ बरीलै
जमरा र रातो टीकैमा।

नेपाली चाड दसैंको छनक दिने अनि त्यसको मुक्तकण्ठले वर्णन गर्ने गीतसंगीतहरूको भीडमा दसैं पर्वमा विशेष रूपले बज्ने यो गीतलाई १८ वर्षसम्म आइपुग्दा पनि अन्य गीतहरूले छायाँमा पार्न सकेका छैनन्। जब दसैं सुरु हुन्छ, यो गीत घन्कन थाल्छ। अझ भनौं, पछिल्लो समय त यो गीतले नै दसैंको संकेतको रूपमा आफूलाई उभ्याउन थालेको छ।

चलचित्र मुग्लानको यो सिर्जना गर्न संगीतकार सुरेश अधिकारी, म्युजिक ऐरेन्जर अमूल कार्की र निर्देशक स्वर्गीय शिव रेग्मीलाई हम्मेहम्मे नै परेको थियो। नेपाली संस्कृतिसँग जोडिएको गीत राम्रै बनाउनुपर्ने चुनौती एकातिर थियो भने अर्कोतिर सिनेमाको कथा र मर्म पनि मार्न नहुने। यस्ता चुनौतीबीच पनि यो गीत अन्ततः तयार मात्र भएन कि कालजयी गीतका रूपमा स्थापित भयो। यो गीत सिर्जनाको बारे संगीतकार सुरेश अधिकारी विगत यसरी सम्झन्छन् ‘निर्देशक शिव रेग्मी सरले चरी, चरी, चरी, चरी भन्ने शब्द ल्याउनु भएपछि मैले रहैरहै रहै थपेर ट्युन भर्दा झनै रोचक भयो। त्यसपछि अमूल कार्कीजीले एरेन्ज गर्नुभयो। एरेन्जसँगै गीतमा ज्यान भरिएपछि गीत रेकर्डका लागि म, निर्माता शेखर कोइराला र किशोर खनाल मुम्बईतिर लाग्यौं।

यो गीतको एरेन्ज नेपालमा गरिएको थियो भने रेकर्ड मुम्बईको सान स्टुडियोमा भएको थियो। गीत रेकर्ड गराएपछि मुम्बईमा गायक उदितनारायण झा र गायिका दीपानारायण झाले यो गीतको बारेमा १८ वर्ष अगाडि भनेको कुरा आज पनि संगीतकार सुरेश अधिकारीको कानमा  गुञ्जिरहेको छ। यसबारे थप्दै उनले भने ‘त्यतिबेला उदित र दीपाले जीवनमा नेपाली फिल्ममा धेरै गीत गाइयो, हाम्रो सांगीतिक यात्रामा अजर र अमर हुने गीतहरूमध्ये यो गीत पनि पर्दछ भनेर भन्नु भएको थियो। त्यतिबेला उहाँहरूले भन्नुभएको यो कुरा आज प्रमाणित भएको छ। यो गीत लगभग दुई पुस्ताले गाइसके र सुने पनि। अझै कति पुस्ताले गाउने हुन् हेर्दै जानु छ।’ यो मानेमा पनि अधिकारी आफूलाई भाग्यमानी ठान्छन्।

यो गीतको रचना लोकनाथ ढकालले गरेका हुन्। त्यतिबेला यो गीतका कारण चलचित्र मात्र चलेन कि अडियो क्यासेटको जमानामा डेढ लाखभन्दा बढी प्रति बिकेको थियो। यो गीत सुन्दा मात्र कर्णप्रिय छैन। यसको भिडियो पनि दमदार नै बनेको छ। गीतको मर्म नमर्नेगरी र वजनदार तरिकाले नृत्य निर्देशक वसन्त श्रेष्ठको उच्चतम कोरियोग्राफी यो गीतलाई उचाइमा पुर्‍याउने अर्को कडी हो। झरना थापा, विपना थापा, सुशील क्षेत्री, दिलीप  रायमाझी, रमित ढुंगाना, हिउँवाला गौतम र स्वर्गीय शाम्दे शेर्पालगायतका कलाकारहरूको सानदार अभिनयले गीतलाई झनै बेजोड बनाएको छ।

यो गीतले दसैं आएको संकेत मात्र गरेको छैन, मुग्लान छिरेको आफन्त दसैंमा घर फर्कंदा परिवारमा छाउने खुसी, रमाइलो र हर्षको बारेमा पनि खुलेर बखान गरेको छ। नेपाली चलचित्रका लागि धेरैले धेरै गीतसंगीतको सिर्जना गरेका छन्। धेरै गीतहरू अजर र अमर बनेका छन्। त्यता अजर र अमर गीतहरूमध्ये यो गीत पनि पर्छ भन्नुपर्दा अत्युक्ति नहोला।

साइतको घडी हातैमा बरी लै
ढाका टोपी ढल्क्यो शिरैमा
तिमीलाई नि सुहाउँछ बरी लै
जमरा र रातो टीकैमा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.